जनता राजमा जनतै राजा : साहित्यकार तथा पूर्वमुख्यमन्त्री चामलिङलाई सम्मान



यदुप्रसाद भट्ट

[email protected]

देशका निम्ति युद्धभूमिमा मर्नेहरू शहीद बन्छन्
प्रिय मानिन्छन्, मृत्युपछि पनि सधैं सम्मानित रहन्छन्
देशका निम्ति मर्नेहरू अमर रहन्छन्
युद्धभूमिमा विजय हासिल गर्नेहरू वीर हुन्छन्।
युद्धभूमिमा लड्ने मर्ने सेना मात्र कहाँ वीर हुन्छन् र
जीवन संघर्षमा लड्ने र जिउने सबै महावीर हुन्छन्।

आफ्नो सत्रवर्षे जीवनकालमा रचना गरेको माथिको कवितांश साहित्यकार तथा सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङको हो। राजनीति तथा भूगोलले जहाँको भए पनि म नेपाली हुँ भन्दै प्रवासमा बसेर नेपाली जातिको सम्मान बढाउन नसके पनि नघटाएको सन्दर्भ उल्लेख गरेका चामलिङलाई एक भव्य कार्यक्रम गरी सम्मान गरिएको छ।

सिक्किममा ६ फिटको पूर्णकदको भानुभक्तको शालिक बनाएर नेपाली भाषा, साहित्यप्रतिको लगाव देखाउने साहित्यकार पनि हुन् चामलिङ।

उनले प्रत्येक ग्राम पञ्चायतमा एक–एकवटा पुस्तकालय बनाएको र धेरैजसो पुस्तक नेपाली भाषा साहित्यको राखेको बताएर नेपाली भाषा साहित्यप्रतिको आफ्नो झुकाव रहेको प्रस्ट्याए।

नेपाली साहित्यमा बीपीको जस्तै उचाइ भएका बहुआयामिक व्यक्तित्व हुन् चामलिङ। राजनीति र साहित्यले सिक्किमका नेपालीभाषीबीच परिचित छन्। निरन्तर पाँचपटकसम्म मुख्यमन्त्रीको कार्यभार सम्हालेका चामलिङ एउटा निर्वाचन क्षेत्रबाट आठपटक निरन्तर विधायक पनि भए।

उनमा साहित्य र राजनीतिको संगम छ।निरन्तर बग्छन् दुवै क्षेत्रमा र सफल पनि भएका छन्। आफूले नसोचेको कुरा राजनीति भएको उनको भनाइ छ। बाहिर सिमसिम पानी परिरहेको थियो, प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा चामलिङलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम थियो। जाडोले चिसिएको मौसममा चामलिङको आगमनले रापिलो बन्दै गयो।

हलमा खचाखच थिए साहित्यप्रेमी। औपचारिकरूपमा कार्यक्रम शुरू भयो। प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगत्प्रसाद उपाध्यायले स्वागत गर्नुभयो, अनि दुई शब्द राख्ने पालो आयो साहित्यकार तथा पूर्वमुख्यमन्त्री पवन चामलिङको।

शुरूमा राजनीतिक कुराबाट आफ्ना भनाइ राखेका चामलिङले आफूलाई साहित्यकार, गीतकार त भन्नुभयो तर म आफूलाई केही पनि मान्दिनँ भन्दै आफू केवल नेपाली भएको प्रस्ट्याउनुभयो। जिन्दगीको यात्रामा अघि बढ्दा नसोचेको कुरा भएको र २५ वर्ष मुख्यमन्त्री बनेको बताए।

‘जनता राजमा जताततै राजा’ भन्ने थेगो चामलिङकै थियो। प्रजातन्त्रमा जनताले राजासरहको मान–सम्मान प्रतिष्ठा सबै पाउँछन् भन्ने मान्यता थियो उनको। नेपाली भाषा र साहित्यमा काठमाडौंमा विश्व साहित्य सम्मेलन गर्न सुझाव दिएका चामलिङले सिक्किममा स्नातक तहसम्म नेपाली भाषा अनिवार्य गरिएको बताउन भ्याएका थिए।

नेपालीको बानीलाई गँगटे प्रवृत्तिसँग जोडेर खुट्टा नतान्न तथा सक्दो सहयोग गर्न आग्रह गरे। आपसमा झगडा गरेर आफूलाई नहराउन आग्रह गर्दै उनले नेपाली दाजुभाइलाई आफू प्रवासमा भए पनि तपाईंहरूको साथमा छु, एउटै लक्ष्य र उद्देश्य छ भनेर नेपालीपन देखाए।

नेपाली भाषा र साहित्यको उर्वरभूमि मानिन्छ सिक्किम। तन, धन सिक्किममा भए पनि मन नेपाली, भाषा नेपाली भएकाले आफू पनि नेपाली भएको उनको भनाइ थियो।

कार्यक्रममा विश्व साहित्य सम्मेलन काठमाडौंमा गर्न आग्रह गरेका चामलिङको सराहना गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली मूलका भारतीयले देखाएको राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक सबैको प्रशंसा गरे। उनले भारतीय नेपालीले आफ्ना पहिचानलाई उजिल्याउन गरेको प्रयत्नको मुक्तकण्ठले प्रशंसा गरे।

अहिले युग पहिचान खोज्ने, गौरव खोज्ने र त्यसलाई उजिल्याउने युग भएको उनको भनाइ थियो। हाम्रा योगदान छायामा परेका छन् भन्दै उनले प्रज्ञा प्रतिष्ठानले गौरव खोज्ने अभियान सञ्चालन गर्ने बताए। त्यसका लागि सातवटै प्रदेशबाट गौरव गाथा तयार गर्ने उप्रेतीको भनाइ थियो।

उप्रेतीले संसारभरिको नेपालीमा नेपाली भाषा साहित्यको चिन्तन भएकाले भुटानी, गैरआवासीय नेपाली, सिक्किमका नेपाली सबैलाई एक ठाउँमा भेला पारेर छलफल गर्ने तथा दुई/तीन वर्षमा केही न केही गर्ने प्रतिबद्धता व्यक्त गरे।त्यसै गरी उपकुलपति जगमान गुरुङले साहित्यकार तथा पूर्वमुख्यमन्त्री चामलिङलाई आदर्श पुरुष मान्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्