राजवंशीका कथा केलाउँदा



‘लक्ष्मण राजवंशीका स्वादिला कथाहरू’ ४२ वटा कथाको संगालो हो। मूलतः नेपाल भाषा, अंग्रेजी र नेपाली गरी तीनवटै भाषामा आफ्नो कलम चलाउने स्रष्टाका रूपमा कथाकार लक्ष्मण राजवंशीलाई लिन सकिन्छ। यसमा कथाकारको समाजलाई बुझ्ने तथा निरीक्षण गर्ने सिर्जनात्मक दृष्टि निकै सूक्ष्म र सघन छ। राजवंशीका कथामा नेपालीपनका कथाको आस्वाद गर्न पाइन्छ।

आफ्ना कथामा उनले थाहा पाउनै पर्ने तर थाहा नपाएका अनेक कुरा र घटनाहरू हिउँ र आगोझैं छोइने बनाएर प्रस्तुत गरेका छन्।
उनका कथामा प्रयुक्त नेपालीपनको भाषाशैलीले पाठकलाई मोहित पार्ने खालको सरल र सहज छ। मोहक र प्रभावकारी शैली, आख्यान र चरित्र पनि जीवन्त छन्। खाँटी नेपाली भाषाको प्रयोग गर्नु राजवंशीको अर्को विशेषता हो।

‘आमा पर्खिरहेकी होलिन्’ शीर्षकको कथामा उनले गजबको नेपाली झर्रा शब्दहरूको प्रयोग संवादका रूपमा प्रयोग गरेको पाइन्छ। जस्तैः ‘मर्न नसकेको तिरे मोरो’, तेरो हातमा किरा परोस्’, ‘जा जा, तेरो उही गोल्फे पोडेसित,’ (पृष्ठ ४२) र ‘चोर्ने सुर छ कि के हो साला,’ पुलिसले तिरेलाई थर्काउँछ।

अलि पर पुगेपछि दुई हात दुईतिर कट्टुमा छिराई पुलिसलाई देखाउँछ– ‘यी खा, चोर मोरो।’ (पृष्ठ ४३)नेपालको राजदरबाका गतिविधि र दरबारिया रहस्यसँग अपरिचित पाठकलाई ‘अनिश्चित भविष्य’ शीर्षकको कथाले बेग्लै संसारमा पुगेको अनूभूति दिलाउँछ। कथाकारले पूर्वराजा ज्ञानेन्द्रलाई केन्द्रमा राखेर नेपाली राजदरबारभित्रका आन्तरिक द्वन्द्व, डरलाग्दा षड्यन्त्र र दरबारिया पात्रको मनका जटिल गाँठाहरू फुकाउने प्रयत्न गरेका छन्।

‘गोली टाउकोमा, घाउ मुटुमा’ कथामा राजनीतिलाई विषयवस्तु बनाइएको छ। सत्य घटनामा आधारित यो कथा जिउँदा शहीदका रूपमा लिइने मुकेश कायस्थहरूसँग सम्बन्धित छ। कथाकारले जिउँदा शहीद मुकेश कायस्थ र उनकी त्यागी महान् आमाको जीवनस्थिति र मनस्थितिको आख्यानीकरण गरेका छन्।

मुकेशको तुलना महाभारतका भीष्मसँग र हलाहल बिष पिउने शिवसँग तुलना गरेका छन्। मुकेशकी आमाको उदात्तीकरणले पाठकको मनमा आमाहरूप्रति श्रद्धा उत्पन्न गराउँछ।

नारी महिमाको उदात्तीकरण गर्ने कथामध्ये ‘आहालमा तैरिरहेको लास’ एक हो। यद्यपि यस कथामा राजनीतिक सन्दर्भलाई प्रस्तुत गरिएको छ, जसमा शुक्रराज शास्त्रीजस्ता क्रान्तिकारीको उदात्तीकरण पाइन्छ तापनि कथाको केन्द्रीय चरित्र नारी नै रहेको छ। नेपालमा पछिल्लो समयमा वृद्धवृद्धाको एक्लोपनको समस्या भयावहरूपमा देखिएको छ।

कथाकारले यस्ता समस्यालाई सम्बोधन गर्दै ‘लासको सनाखत’ कथा लेखेका छन्। यस कथामा वृद्धावस्थामा एक्लो हुनुपर्दाको पीडानुभूति मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। बुढेसकाल लाग्यो, जीवनसँगिनी मरिन्, छोरो बिदेसियो, वृद्ध नितान्त एक्लो भयो। मान्छे एक्लो भएपछि उसको मनोदशा बिथोलिँदै जान्छ र उसले अनौठा र अस्वाभाविक गतिविधि गर्न थाल्छ।

यस्तै र यही यथार्थको चित्रण गरेको छ लासको सनाखत शीर्षक कथाले। बालमनोविज्ञान र शैक्षिक विषयलाई सम्बोधन गर्ने कथा ‘निसास्सिएको बालक’ हो भने लोभले अन्धो भएको मानिसको तुच्छ मनोवृत्ति र लोभी प्रवृत्तिको उद्घाटन गर्छ ‘जलसमाधि’ ले।

सरल, सहज, छरितो र बोलचालको भाषाको उपयोग गर्नु कथाकारको भाषिक विशेषता देखिन्छ। छोटा–छोटा वाक्यको प्रयोग गर्नु र क्रियाविहीन पदावलीमा अभिव्यक्ति दिनु पनि कथामा देखिने भाषिक विशेषता हुन्। पात्र चयनमा पनि कथाकार राजवंशीको मौलिकता देखिन्छ।

आफ्नै वरिपरिबाट आफूले चिनेजानेका व्यक्तिबाट आवश्यक चरित्र लिई तिनमा आफ्नो कल्पना मिसाएर कथाको नायक–नायिकाको चरित्र तयार पारेका छन् राजवंशीले। राजवंशीका अधिकांश पात्रहरू वास्तविक हुन् भन्ने अनुमान गर्न सकिन्छ।

अमेरिकालाई युद्धपिपासु राष्ट्रका रूपमा चित्रण गर्दै साम्राज्यवादका विरुद्ध आवाज उठाइएको कथा ‘गुलाम मालिक बनेपछि’, स्वैरकल्पनाको उपयोग गरी तयार पारिएको कथा ‘जंगबहादुरको तरबार’, यौवनको उन्मादले बहकिएकी युवती र त्यस्ता युवतीका अभिभावकमा पर्ने चिन्ता र छटपटीको रोचक विश्लेषण गर्ने कथा ‘गुम्सिएको यौवन’ को बैग्लै विशेषता रहेको छ।

त्यस्तै इतिहासमा शासकवर्गले गरेका डरलाग्दा अत्याचार र व्यभिचारका कहालीलाग्दा यथार्थलाई संकेत गर्दै पत्रात्मक शैलीमा लेखिएको ‘मैले छक्याएँ’, गरिबी र अपमानले सताइएको जीवनको उद्घाटन गर्ने कथा ‘काटिएको चङ्गा’, दमित यौनको अनौठो उफान प्रस्तुत गर्ने ‘जनैको गाँठो’ को स्वादै बेग्लै पाउन सकिन्छ।

कथाको भाषाशैली सरल भए पनि कहींकतै वाक्य गठन मिलेका जस्ता देखिँदैनन्। शुद्धाशुद्धीका हिसाबले कथालाई नियाल्दा चामलमा बियाँ भेटिन्छ। कथामा वर्णविन्यासगत त्रुटिहरू पनि भेटिन्छन् भने कतै–कतै वैचारिक विरोधाभाष देख्न पाइन्छ। अन्त्यमा कथा पठनीय, संग्रह गर्न योग्य छ। अहिलेका युवापुस्तालाई शिक्षा पनि दिन्छ।

प्रतिक्रिया दिनुहोस्