मिडियामा बेथिति सञ्चार गृह स्वनियमकारी

सूचना प्रविधि विधेयक विधायन समितिमा



नेपाल समाचारपत्र, काठमाडौं।

समाचार प्रकाशन र प्रसारण गर्ने सञ्चार गृहले स्वनियमनकारी भूमिका खेल्नुपर्ने सांसदहरूले बताएका छन्।नेपाल मिडिया काउन्सिल विधेयकमाथि छलफलमा भाग लिएका सांसदहरूले यस्तो धारणा राखेका हुन्।

राष्ट्रिय सभामा पेस भई हाल यो विधेयक विधायन समितिमा दफाबार छलफलमा रहेको छ। छलफलमा भागलिनुभएका सांसदहरू रामनारायण बिडारी, राधेश्याम अधिकारी, वृषेशचन्द्र लाललगायतले आ–आफ्नो धारणा राख्नुभएको छ। सांसद बिडारीले सञ्चार गृह स्वतन्त्र, स्वायत्त, स्वनियमनकारी संस्थाका रूपमा रहनुपर्ने धारणा राख्नुभयो।

स्वनियमको सिद्धान्तमा आधारित रहेर सञ्चार गृहले मनन गर्नुपर्ने बताउँदै उहाँले सञ्चार गृहको संरक्षण गर्न काउन्सिलले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। आफ्नै लागि नियम बनाएर आफैलाई नियमन गर्दा सञ्चार गृहका विरुद्ध काउन्सिलमा पर्ने उजुरीको भार घट्ने उहाँको तर्क छ।

छलफलका क्रममा सञ्चार गृहमा स्वतन्त्र विज्ञहरूको टोली बनाएर स्वनियमको बाटो समेटी आमसञ्चारमा हुने बेथिति कम हुने विश्वास लिएको उहाँले बताउनुभयो। सांसद प्रमिला कुमारीले समेत पत्रकारितामार्फत हुने बेथितिलाई रोक्न सञ्चार गृहमा स्वतन्त्र र स्वनियम हुनुपर्ने बताउनुभयो।

त्यस्तै सांसद विमला पौड्यालले पत्रकारितामा बेथिति बढेको औंल्याउँदै पत्रकारको गुणस्तर मापन गरी तोकिएको परीक्षा लिनुपर्ने धारणा राख्नुभयो।

अर्का सांसद वृषेश चन्द्र लालले विधेयकको दफा ५ को खण्ड (ज) मा उल्लेख भएको ‘आमसञ्चार माध्यमबाट प्रसारित तथा प्रकाशित आचार संहिता विपरीतका सामग्रीको सम्बन्धमा छानबिन र कारबाही गर्ने’, भन्ने बुँदाले सञ्चार गृहको स्वतन्त्रता गुम्ने धारणा राख्नुभयो।

उहाँले उक्त बुँदाको सट्टा ‘आचार संहिताको पालना भए–नभएको अनुगमन गर्ने’ भनेर थप्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै अर्का सांसद राधेश्याम अधिकारीले पत्रकारिता पेसालाई मर्यादित बनाउन काउन्सिलले नियमनका साथै सहजकर्ताको भूमिका बढी खेल्नुपर्ने धारणा राख्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्