सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १४ घाइते



न्युज अफ नेपाल, सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १४ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जन्ती लिएर जाँदै गरेको ना १ च १८६० नम्बरको रोयल कात्तिके यातायातको जिप सिदुरगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी गम्भीर घाइते भएका हुन् । घाईतेहरूको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाउने तयारी भएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा र दुलहीको भने अवस्था सामान्य रहेको बम्जनले जानकारी दिए। दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोट र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना के कारणले भएको भन्ने एकिन नभएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्