हेटौंडा छिर्न थाल्यो जंगली हात्ती



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको मनहरीका ३ वटा वडामा जंगली हात्तीले आतंक मच्चाएको छ । हेटौंडा बजारबाट करिब १४ किमी पश्चिम क्षेत्रको जंगलमा केही दिनयता हात्तीले आतंक मच्चाएको हो ।
केही दिनदेखि उक्त क्षेत्रमा राष्ट्रिय निकुञ्ज र बन कार्यालयबाट डार्टिङ गर्ने जनशक्तिसहित टोली परिचालन गरिएको छ । मानव सुरक्षाका लागि डार्टिङ टोलीले बिहीबार दिउँसो प्रहार गरे पनि त्यो सफल हुन नसकेको उक्त क्षेत्रमा पुग्नुभएका बनका सुबेदार यादबीन्द्र पौडेलले बताउनुभयो ।
त्यहाँबाट भागेको हात्ती हाल मनहरी–हेटौंडाको सिमानामा पर्ने खोलानजिक रहेको पौडेलले जनाउनुभयो । डार्टिङका लागि शुक्रबार निकुञ्जबाट अर्को टोली पनि आउने बताइएको छ ।
मनहरी गाउँपालिका–२, ३ र ४ का मानवबस्तीका जंगलछेऊ आएर जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पु¥याइरहेकोले स्थानीयलाई सचेत रहन मध्यवर्ती समितिले आग्रह गरेको छ । वडाबासीलाई मध्यवर्ती क्षेत्रका जंगलमा बिनाअनुमति प्रवेश नगर्न मध्यवर्ती उपभोक्ता समितिले अनुरोध गरेको हो ।
बस्तीछेऊ आइपुगेको हात्तीलाई सम्बन्धित बासस्थानमा फर्काउन पहल भइरहेकोले हात्तीलाई जिस्क्याउने, भीड गर्ने, तर्साउने नगर्न स्थानीयलाई समितिले अनुरोध गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीले आतंक मच्चाउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा रातभर अनिँदो बस्न बाध्य छन् । मनहरी गाउँपालिका–२ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय घरपरिवार जंगली हात्तीका कारण आक्रान्त बनेका छन् ।
एक बृद्धालाई आक्रमण गरी मार्नुका साथै अर्जुन रुम्बा र नारायण रुम्बाको घर बुधबार राति जंगली हात्तीले भत्काएपछि गाउँलेहरु आक्रान्त बनेको मनहरी–२ का अध्यक्ष आनन्द घलानले बताउनुभयो ।
राति सक्रिय रहने जंगली हात्ती दिनभर जंगल क्षेत्रमा लुक्ने गरेको भन्दै वडाध्यक्ष घलानले निकुञ्ज प्रशासनलाई जानकारी गराउँदासमेत नियन्त्रणमा ल्याउन नसकिएको बर्तानुभयो । दिउँसो निकुञ्जका सुरक्षाकर्मी आउने गरे पनि राति गाउँलेहरुले आगो बालेर हात्ती धपाउने गरेको उहाँले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट बच्न उपभोक्ता सचेत हुनुपर्ने पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यबस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङ बताउनुहुन्छ । बन्यजन्तुलाई कहीं कसैले रोक्न नसक्ने हुनाले हात्ती हिँड्ने बाटो संरक्षण र मानिसले हात्तीलाई लखेट्ने किसिमका गतिविधि बन्द हुनुपर्ने उहाँको विचार छ ।
हात्तीको वासस्थान संरक्षण गर्नुपर्ने भन्दै उहाँले मानिसले अलिकतिमात्र विवेक पु¥याए हात्तीबाट मानिसको ज्यान जाने क्रम ७० प्रतिशतसम्म रोकिन सक्ने दाबी गर्नुभयो ।
चार दिनअघि मनहरी गाउँपालिका–३ मा एक बृद्धालाई जंगलमा आक्रमण गरी मारेपछि जंगली हात्ती वडा–२ तर्फ लागेको स्थानीयले बताएका छन् । हात्तीको आक्रमणबाट सोमबार विहान करिब १०ः३० बजे मनहरी गापा–३, मेलडाँडा बस्ने वर्ष ८० की मैया थापाको ज्यान गएको हो ।
घाँस काट्न घरबाट करिब ३ किमी पश्चिमतर्फ रहेको पर्सा बन्यजन्तु आरक्ष जंगलमा जानुभएकी उहाँलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही वर्षयता जंगली हात्तीको संख्या बढ्दै गएपछि तिनलाई कसरी व्यबस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ । बन्यजन्तुको वासस्थान र तिनले ओहोरदोहोर गर्ने क्षेत्रमा मान्छेको अतिक्रमण भएपछि हात्तीले मानिसलाई आक्रमण गरी मार्ने, राति बस्तीमा पसेर अन्नबाली खाइदिने र घर भत्काइदिने गरेका छन् । विगतमा हुलका हुल जंगली हात्ती मनहरी क्षेत्रमा आउने गर्थे ।
छावासहित जंगली हात्ती रातको समयमा आहारा खोज्दै मानवबस्ती पस्ने गरेका छन् । नजिकका सामुदायिक बन घना हुँदै गएर अन्नबाली पनि उनीहरुले मन पराउने प्रकारका छन् । त्यही कारण उक्त क्षेत्रमा हात्तीको संख्या बढेको स्थानीयले बताएका छन् ।
सरकारले हात्तीले मन नपराउने वैकल्पिक बाली लगाउने, सर्वसाधारणमा चेतना जगाउने तथा क्षतिपूर्ति भराइदिने लगायत काम गर्ने गरेको छ । हात्ती र मान्छेबीच द्वन्द्व बढेसँगै मनहरी क्षेत्रमा हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्