एकैदिन रोकियो २ बालविवाह



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको बकैया गाउँपालिका वडा–५ र ७ मा बुधबार एकैदिन २ वटा बालविवाह रोकिएका छन् ।
बालहेल्पलाइन १०९८ को पहलमा वडा कार्यालय र हात्तीसँुडे प्रहरीचौकीको सहयोगमा विवाह रोकिएका हुन् । वडा–७ मा बालक १७ वर्ष एवम् बालिका १६ वर्ष रहेकोमा २० वर्ष उमेर नपुगी बिहे नगर्न, पढाइलाई निरन्तरता दिन र सहयोग आवश्यक परे वडा कार्यालय तयार रहेको वडा–७ का अध्यक्ष रामकाजी लामिछानेले बताउनुभयो ।
सोही दिन बकैया वडा–५ मा आफ्नै परिवारबाट बालिकाको विवाह गरिदिन बिहीबारका लागि तय भएकोमा बालिका स्वयम्ले बालहेल्पलाइनको १०९८ नम्बरमा फोन गरी विवाह रोक्न जानकारी गराएकी थिइन् ।
सोहीअनुसार प्रहरी र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाट वडा अध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोले, हात्तीसँुडे प्रहरीचौकी इञ्चार्ज असई कृष्ण गौतम र बालहेल्पलाइन जिल्ला संयोजक झबीन्द्र ज्ञवालीको टोली बालिकाको घरमा गएर स्थानीय सरोकारवालासहित बालविवाह, यसका असर तथा कानुनी व्यबस्थाबारे जानकारी गराउनुभएको थियो ।
बालिकाका बुबाले २० वर्ष नपुगी छोरीको विवाह नगर्ने र छोरीको पढाइलाई निरन्तरता दिने बताउनुभयो । उहाँले आर्थिक अबस्था कमजोर भएका कारण शैक्षिक सहयोगका लागि अनुरोध गर्नुभयो ।
कानुन उलंघन गर्ने जो कोहीलाई दण्ड गरिने र कानुनले कसैलाई पनि छुट दिन नसक्ने असई गौतमले जानकारी गराउनुभयो । दुवै वडाका बालिकाले कक्षा–८ मा पढाइ छाडेकोले आवश्यक सहयोगका लागि विद्यालयसँग समन्वय भइरहेको बालहेल्पलाइनले जनाएको छ । हाल दुवै बालिकालाई आवश्यक परामर्शका लागि बालहेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्