रुसी राष्ट्रपति पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त



मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उहाँले नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो ।

उहाँले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले बुधबार जनाएको छ ।

“भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

पुटिनको आग्रहलाई मिखाइलले स्विकार गर्नुभएपछि उहाँलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिनुभएको हो ।

मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताउनुभएको थियो ।

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनुहुनेछ ।

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उहाँलाई धन्यवाद र आभार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी पनि छु ।” सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्