तरकारी महँगिँदा भान्सामा भित्रिँदै मासु



हेटौंडा, (नेस)।

हेटौंडामा हाल तरकारीभन्दा मासु सस्तो भएको छ। तरकारी महँगिएपछि मासुको बिक्री बढेको हो।एक सय रुपियाँले एक छाक तरकारी किन्न मुस्किल छ भने मासु एक सय रुपियाँमा नै एक छाक आउँछ। सर्वसाधारणको भान्सामा दिनहुँ पाक्ने तरकारीको मूल्य आकासिएपछि मासुको बिक्री बढ्न थालेको हो।

हेटौंडा मासु व्यवसायी संघका अनुसार तरकारी महंँगो भएसँगै केही महिनादेखि ब्रोइलर कुखुराको मासु बिक्री बढेको छ। हाल हेटौंडामा दैनिक करिब १ हजार ४ टन मासु खपत हुने संघ वरिष्ठ उपाध्याक्ष रमेश न्यौपानेले जानकारी गराउनुभयो। उहाँका अनुसार कुखुरा आठ टन, खसी एक टन, राँगा पाँच टन, बंगुर पाँच सय किलो बिक्री हुने गरेको छ।

गत वर्ष कुखुराको मासुको दैनिक बिक्री करिब ६ टन थियो भने हाल आठ टन बिक्री हुँदै आएको न्यौपानले तथ्यांक प्रस्तुत गर्नुभयो।‘कुखुराको मासु बिक्री बढ्नुमा तरकारी महंगिएकै कारण हो, न्यौपानले भन्नुभयो। हाल कुखुराको मासुको मूल्य प्रतिकिलो साढे तीन सय रुपियाँ छ। साकाहारी बन्न प्रेरित गर्ने अभियान नेपालमा बढ्दो क्रममा छन्। तर, वर्षेनी मासु खपत बढिरहेको न्यौपानेले दाबी गर्नुभयो।

विशेषतः कुखुराको मासुको बिक्री बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘हेटौंडामा उत्पादित कुखुरा हेटौंडामा नै बिक्री गर्दा कहिले त अपुग हुन्छ।’ खसी तथा राँगा भने पूर्व तथा पश्चिमबाट आयात हुने गरेको उहाँले बताउनुभयो।

‘बंगुर मकवानपुरमै प्रशस्त पालन गरिएका कारण बाहिरबाट ल्याउनु आवश्यक छैन,’ उहाँले भन्नुभयो। मासुको बिक्री बढेसँगै व्यवसायीहरू सरकारले वधशालादेखि आधारभुत बिक्री केन्द्र निर्माण नगर्दा बाध्य भएर जोखिमपूर्णढंगले माछा मासु बेच्नु परेको संघ अध्यक्ष सूर्य अधिकारीले गुनासो गर्नुभयो।

तरकारी, फलफूल जस्ता उपभोग्य वस्तु बिक्रीका लागि सरकारले स्थानविशेष तोकेर आवश्यक पूर्वाधार निर्माण गरिदिए पनि दैनिक लाखौं किलो खपत हुने माछामासुको पसलदेखि पशुपक्षी राखिएका स्थानमा जिम्मेवार निकायले चासो नदिएको अधिकारीको दाबी छ।

गत वर्ष स्थापना भएको संघमा हाल एक सय २५ भन्दा बढी व्यवसायी आबद्ध छन्। संघलाई सरकार र सरोकारवाला निकायले उचित परामर्श तथा तालिम नदिँदा लाखौं उपभोक्ताको स्वास्थ्यसँग जोडिएको मासुजन्य वस्तु जोखिमपूर्ण ढंगले बिक्री गर्नुको विकल्प नभएको अधिकारीले स्वीकार गर्नुभयो।

अध्यक्ष अधिकारीले वधशालाको समस्या रहेको पनि सुनाउनुभयो। हेटौंडा मासु व्यवसायी संघको प्रथम वार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो। हेटौंडा उपमहानगर उपप्रमुख मीना लामाको प्रमुख आतिथ्यतामा सभा भएको होे। कार्यक्रममा वडा–१ अध्यक्ष सविन न्यौपाने र माछामासु व्यवसायी संघ महासचिव नारायण राजथलालगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्