महिला उद्यमी र कृषकलाई निःशुल्क स्टल



नेपाल समाचारपत्र, पर्वत।

कुस्मा बजारमा हुने पर्वत महोत्सवमा गण्डकी प्रदेशका उद्यमी र कृषकलाई निःशुल्क स्टल उपलब्ध गराउने भएको छ। पर्वत उद्योग वाणिज्य संघले माघ ९ देखि १९ गतेसम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक व्यापार मेलामा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निःशुल्क उपलब्ध गराइने भएको हो।

गण्डकी प्रदेशभित्रका महिला उद्यमी र कृषकको उत्पादनलाई प्रवद्र्धन गर्नका लागि निःशुल्क स्टल उपलब्ध गराइएको महोत्सवका आर्थिक संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताउनुभयो।

‘यो सुविधा गण्डकी प्रदेशभित्रका महिला उद्यमी र कृषकले पाउनेछन,’ उहाँले भन्नुभयो– ‘महिला उद्यमी र कृषकले आफ्ना उत्पादन ल्याउने र निःशुल्क स्टल भएकाले बिक्री गरी मुनाफा कमाउनका लागि राम्रो अवसर सिर्जना गरिदिएका छौं।’

गण्डकी प्रदेशभित्रका हरेक जिल्लामा साना उद्यमी महिलाले स्थानीय कच्चा पर्दाथबाट तयार पारेका सामाग्रीदेखि कच्चा पदार्थ ल्याएर घरमै बनाएका सामाग्री बिक्री नहुने समस्या झेल्दै आएका छन।

अल्लोबाट बुनेका कपडा, सुन्तला तथा बेलबाट बनेका जुस, उनीका झोला, कपडा, साबुनदेखि धेरै सामाग्रीहरूको बजार प्रवद्र्धन र प्रत्यक्ष फाइदा लिन सकिने ठाउँको रूपमा महोत्सवलाई अघि सारिएको मूल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो।

गण्डकी प्रदेशभित्रका कृषकले उत्पादन गरेका सुन्तला, मह, माछादेखि तरकारी र अन्य उत्पादन पनि निःशुल्करूपमा बिक्री गर्न स्टल उपलब्ध गराइने छ।महिला उद्यमी र कृषकलाई १५, १५ वटाका दरमा स्टल उपलब्ध छन। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा स्टल उपलब्ध गराइने अध्यक्ष शर्माले जानकारी दिनुभयो।

‘महोत्सव नाफा मात्रै कमाउने थलोको रूपमा होइन स्थानीय उत्पादलाई प्रोत्साहन गर्ने पनि हाम्रो नीति हो, उहाँले भन्नुभयो– ‘यसरी निःशुल्क स्टल उपलब्ध गराउने परम्परा पहिलो हो।’ अघिल्ला महोत्सवमा कृषक र महिला उद्यमीहरूलाई बढीमा ४, ५ वटा मात्रै स्टल उपलब्ध हुँदै आएका थिए।

महोत्सवमा झन्डै २ सय स्टल रहनेछन्। स्टल बुकिङको काम भइरहेको आयोजकले बताएको छ। यसपटक पर्वत उद्योग वाणिज्य संघका सदस्यहरूले स्टल राख्दासमेत २५ प्रतिशत छुट दिइएको छ।

महोत्सवमा रहने होटलबाहेकका व्यवसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सवका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बी पौडेलले बताउनुभयो।

महोत्सव आउन एक हप्ता बाँकी रहेको अवस्थामा सबैजसो तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएका छन्। महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सकिएको छ।

पर्वत उद्योग वाणिज्य संघको विशेष पहलमा लामो समयदेखि अलपत्र बनेको खेलमैदान तथा महोत्सव स्थलको निर्माण कार्य पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस्