सधैं सत्ताको लोभ



नेपालको वर्तमान अवस्थाको चित्रण गर्दा निकै दयनीय र कष्टकर छ। संविधान बनेको छ तर कसैले व्यवहारमा लागू गरेको छैन। ऐन, नियम, कानुन त सानालाई मात्र भएको छ। मन्त्रीलाई प्रश्न सोधेका भरमा कोही थुनिन्छन् र कुटिन्छन्।

तर, ठूलाले देशको ४ पटक प्रधानमन्त्री भएकालाई सार्वजनिक स्थलमा नै मानमर्दन गर्दा केही हुँदैन। ठूलाले सार्वजनिक स्थलमा नै कुनै अशक्त समुदायप्रति कटाक्ष गर्दा माफी पनि नमाग्नुपर्ने रे ? कस्तो विडम्बना !

भोलि त्यस्तै गरी अरूले आवाज उठाए के हुने मानहानि ? कतै जिम्मेवार तहमा बसेकालाई ट्युसनको आवश्यकता त छैन ? हैन भने जिम्मेवार निकायमा बसेर कसैलाई होच्याएर बोल्न पाइन्छ ?

यस्ता बकम्फुसे कुरा गर्नुको साटो कुनै विकास निर्माणका काममा लागे हुन्थ्यो नि ? यही बेलामा भ्रष्टाचार रोक्नतिर सक्रिय भए पनि त हुन्थ्यो। काम गर्नलाई के सत्ता नै चाहिन्छ र ? अनि पो साराले पत्याउने थिए।

कसैको पत्रकार सम्मेलनमा पार्टीका लठैतबाट भएका आक्रमणविरुद्ध आवाज उठाऊन्, हामी सुनेर बसौंला। निमुखा जनताको आवाज बनून्, हामी हेरेर बसौंला। भ्रष्टाचारविरुद्ध आवाज उठाऊन्, हामी चुप लागौंला।

हरेक क्षेत्रमा समानता गरुन्, हामी चुप लागौंला। राज्यबाट बाँडिने सम्मान, पुरस्कार समानरूपले बाँडून्, हामी हेरेर मात्र बसौंला। देशवासीलाई सुखी र खुशी बनाऊन्, हाम्रो कामना र चाहना यत्ति हो। भाग खोस्ला भनेर नडराए हुन्छ। सबैले आ–आफ्नै भाग खाने हो।

४ वर्षअगाडि अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई सारा विश्वभरका मिडियाले खिसिटिउरी गरिरहेका थिए। उनलाई जोकर र ब्रोकरसमेत भनिएको थियो तर उनले यसको केही प्रवाह गरेनन् र पछि राष्ट्रपतिमा निर्वाचित भए।

तर आज टुप्पोबाट उम्रेकाहरू स्वस्थ आलोचना सुन्न चाहँदैनन् र सक्दैनन् पनि। उनीहरूले बुझून् कि मानिसको लोकप्रियता समाचारको शब्दहरूमा हैन कि जनताको मनभित्र हुँदो रहेछ।

उनीहरू पनि त्यही जनताको मनको आवाज बोल्ने हिम्मत राखून्, हामी चुप लागौंला। हैन भने विश्वको शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखका बारेमा त बोल्न पाइने अन्तर्राष्टिय कानुन भएको अवस्थामा कसैलाई मानसिक तनाव नदिने हो कि ? स्मरण रहोस्, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले वाक स्वतन्त्रतालाई पहिलो प्राथमिकतामा राखेको छ, त्यसपछि मात्र स्वतन्त्र पत्रकारितालाई।

यस कारण कसैको वाक स्वतन्त्रता बन्देज गर्ने काम भयो भने बरु उल्टै त्यो मुलुक कालोसूचीमा पर्ला त्यतातिर पो सोच्ने हो कि ? होसियार ! हुन त महत्वपूर्ण ठाउँमा बस्न पुग्दा लाछी पनि सुरो हुन्छ।

स्थान महत्वपूर्ण कुरा हो, बल मुख्य कुरा हैन। जस्तै– नालायक, निकम्मा, पिण्डरोगीहरू पनि पदमा पुगेपछि गर्जन्छन्। त्यसैको आडमा गर्जेका हुन्, हामी रत्तिभर विचलित हुनेछैनौं।

उनीहरूले बुझून् कि पद र स्थान मात्रै होइन, सबै कुरा अस्थायी र परिवर्तनशील छन्। पदमा हिजो अर्कै थियो, आज अर्कै छ र भोलि अर्कै हुनेछ। त्यसैले पद हेरेर काम नगरौं, स्थान र आवश्यकतालाई मध्यनजर गर्दै काम गरौं। समृद्धि सम्भव छ।

– विष्णुप्रसाद उपाध्याय,
मनमैजु, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्