भैगो सरकार ! म किसान बन्दिनँ बरु खाडी नै जान्छु



नेपालका प्रायः सबै दुग्ध डेरीहरूले दूध उत्पादन गरिरहेका छैनन्। तिनले भारतबाट आयात गरिएको सेतो केमिकलमा भारतबाटै आयातीत चिनी घोलेर नेपाली उपभोक्तालाई ठगिरहेको भन्ने पनि सुनिन्छ। नेपालमा केही दुग्ध उद्योगबाहेकका सबै दुग्धशाला जीवाणु र हैजा उत्पादन गर्ने कारखाना हुन् भनेर पनि धेरै आलोचना भइरहेको सुनिन्छ।

नेपाली उपभोक्ता सोझा छन्। कतै मुद्दा गर्दैनन् र पो यी काला उद्योगहरू बचिरहेका छन्। न यहाँ उपभोक्ताका हकहितमा कुनै नियम कानुनको व्यवस्था छ, न त्यस्ता हैजाका जीवाणु उत्पादन गर्ने कारखानालाई कारबाही नै हुन्छ।

न उपभोक्ता नै त्यस्ता उत्पादकसँग लड्न नै जान्छन्। नेपालमा गुणस्तर चिह्न दिने गुणस्तर कार्यालय आफैं घूस लिएर गुणस्तरहीन उत्पादनलाई गुणस्तर चिह्न दिन्छ। गुणस्तर कार्यालयका कर्मचारीको सम्पत्ति छानबिनको दायरामा ल्याउने कसले ?

उखु किसानले आफू मर्कामा परेको कुरा व्यक्त गरेको आज वर्षौं भैसकेको छ र पनि तिनका आवाज कसैबाट सुनुवाइ हुँदैन। उनीहरूलाई उधारो सम्झौता गर्न बाध्य बनाइन्छ। मिल मालिक उत्पादन गरेको चिनी नगदमा बिक्री गर्छ।

धर्तीबाट आफ्नो रगत–पसिनाले सिंचाइ गरेर उत्पादन गरेको उखु उत्पादन गर्ने किसान भने उधारोमा उखु बेची आफू भिख मागेर हिँड्नुपर्ने अवस्था छ। किन सरकार यस विषयप्रति गम्भीर छैन ? के सरकारलाई समेत मिल मालिकहरूले किनेकै हुन् ?

किसानलाई माया गर्ने सरकार नेपाली जनताले कहिले पाउने ? अबका दिनमा मिल मालिकबाट मिल खोसेर किसानलाई दिनुपर्छ। जसले उखु उत्पादन गर्छ चिनी मिल पनि उसकै अधीनमा हुनुपर्छ। मिल मालिकलाई धपाउनुपर्छ, खेद्नुपर्छ।

किनभने उत्पादनको पहिलो हकदार त उत्पादक हो। आगामी दिनमा चिनी कारखाना मालिकको नाउँमा नभएर सामूहिक किसानका नाउँमा हुनु जरुरी छ।किसानले उत्पादन गरेको चिनी राज्यले सीधा नगदमा किनोस् र उपभोक्तालाई बिक्री वितरण गरोस्।

उखु र चिनीमा कुनै दोस्रो बिचौलिया नघुसोस्। मिल मालिकहरू कतै न कतै नेपालका राजनीतिक पार्टीसँग आबद्ध देखियो। ती पार्टीको सुरक्षा पाएर मिल मालिकले उखु किसानको उखु मात्रै होइन रगत र आँसुसमेत पिइरहेको पाइयो।

त्यस्ता पापीलाई ओत दिने राजनीतिक पार्टीलाई सम्पूर्ण नेपालीले बहिष्कार मात्रै होइन धारे हात लगाएर धिक्कार भन्नुपर्छ। नेपालमा मौलाएको अनैतिकताको बनमारासँग प्रत्यक्षरूपमा नेपालका राजनीतिक पार्टीहरूको आबद्धता छ।

यो बनमारा यसरी झाङ्गिँदै गएको छ कि अस्ट्रेलियाको जंगलमा लागेको आगोले पनि यसलाई डढाउन सक्तैन। यो सिध्याउन त धर्तीले अन्तर्गर्भबाट लाभा नै ओकल्नुपर्छ अनि मात्रै सम्भव छ।

आखिर हामी सबै किसान। हामीले उमारेको उत्पादनको मूल्य राज्यसँग मागेका हौं। तर सरकार सुतेको र निदाएको जस्तो बहाना गर्छ। सोधपुछ गर्न थाल्दा जान्ने भइस् भन्दै समाजबाट नै बहिष्कार गर्छ। बीचारमा अंकुश लगाउँछ।

जे पायो त्यही नबोल्नु र नलेख्नु भन्छ। मोलको मूल्य माग्दा गल्ती हुन्छ भने भैगो सरकार ! म किसान बन्न चाहन्न। बरु खाडीकै भिसा लगाइदेऊ, म खाडी नै जान्छु।

– नगेन्द्र यादव,
हाल ः डिल्लीबजार, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्