बिम्ब र प्रतीकको प्रयोगमा नाटक



शैली थिएटरको रातोपुलस्थित नवनिर्मित नाटकघरमा रुसी साहित्यकार आन्तोन चेखबले सन् १८८९ मा लेखेको द म्यारिज प्रपोजल मञ्चन भइरहेको छ।

आगामी माघ १० गतेसम्म मञ्चन हुने नाटकमा शैली थिएटरका कलाकारहरू सुवास सुवेदी, स्नेहा पौडेल, शशांक बोहरा, रवीन तामाङ, देवेन्द्र बब्लु, भारती रिजाल, विशाल घिमिरे, दिप्ति पौडेल, निर्भिक भट्टराई, रूपक काफ्ले र सदिन लुइँटेलले अभिनय गरिरहेका छन्। सबिन न्यौपानेले अनुवाद गरेको नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन्।

मञ्चमा कलाकार आउनुअघि मुख्य पात्र चुबुकोभको बैठक कोठा प्रस्टरूपमा देखिन्छ। सेटमा राखिएको मास्क, गोहीको अर्धकदको मूर्ति, एउटा छेपाराको विभिन्न रंगका तस्वीर, एकुरियममा राखिएको कछुवा र मञ्चको बीचमा प्रयोग भएको ऐनाले नाटकको अर्थलाई बोकेको देखिन्छ।

कोठाको एक कुनामा सानका साथ जिउँदो कछुवालाई एकुरियममा नियन्त्रण गरिएको छ जसलाई रंग फेरिरहने लाइटले सजाइएको छ। यसले चुबुकोभले जमिनको स्वामित्व कब्जा गर्ने स्वभावलाई देखाउँछ भने लोभमोहको महत्वपूर्ण कार्यमा गरिने ढिलासुस्तीलाई प्रतीकात्मक तरिकाले देखाउँछ।

मारिएको गोहीलाई झुन्ड्याएर कोठाको सान बढाउने तरिकाले राखिएको छ। चुबुकोभ आफै पनि पटकपटक उक्त गोहीलाई घमण्डका साथ हेरिरहन्छ। नाटकमा चुबुकोभ र उनको छोरीले गोहीको जस्तो नक्कली आँसु वा शोक मनाइरहेका हुन्छन्।

नाटकमा मुख्य तीन कलाकार नै हारेका पात्रको भूमिका छन्। चुनाबमा हार्नु, समयमा बिहे हुन नसक्नु, जमिनको अधिकार र स्वामित्वमा विवाद कायम रहनुजस्ता पात्रहरूको अनेक प्रतिकूल परिस्थितिलाई दर्शकले महसुस गर्न सक्छन्।

नाटकको प्रस्तुति हास्यास्पद रहेकाले प्रशस्तै हाँसो पनि यसमा पाइन्छ। नाटकमा संवादभन्दा बढी घटनाहरू चाँडोचाँडो भएको पाइन्छ। पात्रहरूले मात्र होइन, दर्शकले सोचेभन्दा पनि फरक घटनाले सबैलाई आश्चर्यमा पारिदिन्छ।

मञ्चलाई तीन तहमा बाँडिएको छ, जसलाई भित्ताको तीन रंग सुन, सुन्तला र हरियो रंगले छुट्याएको पाइन्छ। ती रंगले तीन मुख्य पात्रको अवस्था र स्वभाव फेर्ने मनस्थितिलाई संकेत गर्छ। त्यस्तै मञ्चको उचाइ पनि तीन तहमा छ।

पात्रहरू शक्तिशाली हुँदा माथिल्लो उचाइमा रहने र कमजोर हुँदा तल्लोमा रहने गरी दृश्य समयोजन गरिएको छ। नाटकमा प्रयोग भएका बिम्ब एवं प्रतीकले नाटक अझ बलियो बनाएको पाइन्छ। यसले नाटकलाई अझ अर्थपूर्ण र सान्दर्भिक बनाएको छ। पुरानो कृति र पुरानो घटनाक्रमलाई मञ्चमा उतारिएको छ।

प्रतिक्रिया दिनुहोस्