२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भूकम्पपछि प्रभावकारी बन्दै भवन संहिता



मधुसूदन रायमाझी

विसं १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको स्मरणमा सरकारले हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। चार वर्षअघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मरण पनि ताजै रहेको छ। नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ।

२०७२ मा गएको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।नेपालको सन्दर्भमा हरेक ८० देखि सय वर्षको अन्तरालमा विनाशकारी भूकम्प आउने गरेको तथ्याङ्क रहेको छ। विसं १९९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले काठमाडौं उपत्यका र पूर्वी तराईमा ठूलो जनधनको क्षति पुर्याएको थियो।

भवन संहिताअनुसार घर निर्माण गर्नुपर्ने मापदण्डलाई सरकारले प्रभावकारीरूपमा लागू गरेको छ। भूकम्पको कारण हुने धनजनको विनाश कम गर्ने उद्देश्यले सरकारले भवन संहिता लागू गरेको हो। भवन संहिता पालना गर्नाले जीवनभरको कमाइबाट निर्माण गरिएको घर सुरक्षित र भरपर्दो हुने भवन संहिता शाखाका प्रमुख मनोज नकर्मी बताउनुहुन्छ।

त्यति बेलाको भूकम्पले नेपालमा झन्डै १ लाख ४ हजार घरहरूमा क्षति पुगेको थियो। विसं २०४५ सालमा आएको ६ दशमलव ७ रेक्टर स्केलको भूकम्पले पूर्वी तराईका ६५ हजारभन्दा बढी घरहरू भत्काउनुका साथै सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो।

यस्ता विनाशकारी प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न तर समयमा नै बुद्धि पुर्याएको अवस्थामा भने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिने शहरी विकास तथा भवन निर्माण विभाग भवन संहिता शाखाका प्रमुख मनोज नकर्मी बताउनुहुन्छ।

भूकम्पप्रतिरोधी भवन निर्माण गर्नु सबैभन्दा राम्रो पूर्वतयारी भएको बताउँदै घर निर्माणसम्बन्धी चलनचल्तीमा रहको परम्परागत शैलीलाई परिवर्तन गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ।

शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न समुदाय, निर्माणकर्मी, ठेकेदार, प्राविधिकलाई तालिम र नागरिक समाजलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि जनचतेनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विनाशकारी भूकम्प गएपछि सरकारले भवन संहिता कडाइपूर्वक लागू गरेको छ।

हाल विद्यमान निर्माण प्रणालीमा भएका कमी–कमजोरीलाई हटाएर आर्थिक व्ययभार नबढाई नागरिकले भवन संहिताअनुसार घर निर्माण गर्नुपर्ने मापदण्डलाई सरकारले प्रभावकारीरूपमा लागू गरेको छ। भूकम्पका कारण हुने धनजनको विनाश कम गर्ने उद्देश्यले सरकारले भवन संहिता लागू गरेको हो।

भवन संहिता पालना गर्नाले जीवनभरको कमाइबाट निर्माण गरिएको घर सुरक्षित र भरपर्दो हुने नकर्मी बताउनुहुन्छ। उहाँका अनुसार भूकम्पपछि निर्माण भएको सबै संरचना भूकम्प प्रतिरोधी निर्माण भएका छन्।

सरकारले मापदण्ड नपुगेको घर तथा भवनको नक्सा नै पास नहुने प्रावधान बनाएपछि घरधनी पनि मापदण्डको अनुसरण गर्न थालेका छन्। विनाशकारी भूकम्पबाट पाठ सिक्दै सबै नागरिकले अनिवार्यरूपमा भवन संहिता पालना गरेर घर निर्माण गर्दा नै आफू बस्ने घर सुरक्षित हुने संहिता शाखाका प्रमुख नकर्मी बताउनुहुन्छ।

विभागले भूकम्पसम्बन्धी सञ्चालन गरेका क्रियाकलापले गर्दा पछिल्लो समयमा निर्माण हुने भवनहरू भवन संहिताभित्र रहेर निर्माण हुनेक्रम पनि शुरू भएको उहाँले बताउनुभयो।विभागले भवन निर्माण संहिता लागू गराउनका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ।

आम नगरिकहरूले आफू बस्ने भौतिक संरचना निर्माण गर्दा परम्परागत शैलीलाई परिवर्तन गर्दै नयाँ प्रविधिबाट घर निर्माण गर्नुपर्ने देखिन्छ।भवन संहितालाई प्रभावकारीरूपमा देशभर लागू गर्न घरधनी, सिकर्मी, डकर्मीलगायतलाई प्रेरित गर्नुपर्ने आवश्यकता रहेको छ। अझै पनि आम नागरिकलाई भवन संहिता बुझाउन नसक्नु, नक्सापास गर्दा बढी शुल्क हुनु, स्थानीय निकायमा पर्याप्त प्राविधिक जनशक्ति नहुनु, मानिसमा भवन संहिताअनुसार घर निर्माण गर्दा धेरै खर्च लाग्ने भ्रम हटाउन नसक्नुलगायतका चुनौती सरकारसँग रहेको छन्।

पुनर्निर्माण अभियान गन्तव्यनजिक

 

केपी शर्मा ओली
प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक रहेको बताउनुभएको छ। उहाँले प्राकृतिक विपद्ले हुनसक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले सबैलाई यसको सामना गर्दै बच्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्य संरचनाका अंगहरूमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर नहुने उल्लेख गर्दै समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताउनुभएको छ।

‘सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौं।’ –सन्देशमा भनिएको छ।

जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुःखद अनुभवलाई विस्मृतिमा जान नदिने सरकारको उद्देश्य भएको बताइएको छ।

भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार जुटेको उल्लेख गर्दै उहाँले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षतिलाई पुनर्निर्माण गरी निष्कर्षनजिक पुर्याएको बताउनुभएको छ।

‘भूकम्पले ध्वस्त भएका जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद तस्वीरमा बदलेका छौं। यस तथ्यले हाम्रो पुनर्निर्माण अभियान गन्तव्यनजिकै पुगेको सुसंकेत गरिरहेको छ।’ –सन्देशमा भनिएको छ।

पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणलाई सरकारले परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तबरले अघि बढाएका उल्लेख गर्दै जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएर पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढाइएको बताउनुभयो।

‘भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतमरूपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ।’ –प्रधानमन्त्रीद्वारा जारी गरिएको सन्देशमा भनिएको छ।

“राष्ट्रिय भवन संहिता देशभर लागू गर्छौं”

मणिराम गेलाल
महानिर्देशक
शहरी विकास तथा भवन निर्माण विभाग

हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ, यस वर्ष कसरी
मनाइँदै छ ?

विसं १९९० सालमा गएको महाप्रलयकारी भूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले नियमितरूपमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। यस वर्ष २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो। हरेक वर्ष मनाइने भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्य गरी जनतालाई भूकम्पका बारेमा स्मरण गराउन हो। प्रलयकारी भूकम्प गएर देशमा ठूलो क्षति भएको थियो।

त्यो क्षतिबाट पाठ सिकेर भविष्यमा त्यस्ता क्षतिलाई रोकथाम गर्नका लागि नागरिकले खेल्नुपर्ने भूमिकाको बारेमा जानकारी गराउँछौं। आम मानिसमा भूकम्पबाट हुने सम्भावित क्षति र प्रकोपका बारेमा सुसूचित गर्ने, जनचेतना बढाउने र क्षति दोहोरिन नदिनका लागि अनकूल वातावरण बनाउन दिवस मनाइने गरिएको छ। एक दिन मात्र दिवस मनाएर हुँदैन।

तर पनि यस्ता दिवसले ती घटनाका बारेमा याद दिलाउने र सजक बनाउने काम गर्छन्। यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने रहेको छ। यदि निर्माण भएका भौतिक संरचना भूकम्प प्रतिरोधी भए भने त्यसबाट क्षति हुँदैन।

क्षति नभएको अवस्थामा त्यसबाट दिगो सुख र समृद्धि हासिल हुन्छ। २०७२ साल वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण निकै ठूलो जनधनको क्षति हुन पुग्यो। पुनर्निर्माणमा राज्यले ठूलो लगानी गर्नुपर्ने अवस्था सिर्जना भयो।

१९९० सालको भूकम्प २ बजेर २४ मिनेटमा गएको थियो। त्यही समय पारेर कार्यक्रम आयोजना गर्ने गरिन्छ। ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति रहेको छ।

शहरी विकास विभागअन्तर्गत रहेका आयोजना कार्यालय र एकाइ कार्यालयबाट छुट्टाछुट्टै कार्यक्रम हुन्छन्। भूकम्पले पुर्याएको असर र बच्ने तरिकाका बारेमा विज्ञद्वारा कार्यपत्र प्रस्तुत गर्ने कार्यशाला पनि राखिएको छ। विभागले राष्ट्रिय भवन संहिता कार्यान्वयनका लागि सहज बनाउन स्थानीय तहलाई प्राविधिक सहयोग उपलब्ध गराएका छौं।

त्यसलाई सरलीकरण गर्न विभिन्न कार्यविधि र निर्देशिकाहरू बनाएर स्थानीय तहलाई उपलब्ध गराएका छौं। त्यसका अतिरिक्त हामीले कसैले घर तथा भवन बनाउन चाहेको अवस्थामा सहयोगका लागि ‘मेरो मोबाइल’ एप्समा सयौं प्रश्नको उत्तर राखिदिएका छौं।

सरकारले सुरक्षित भौतिक संरचना बनाउन राष्ट्रिय भवन संहिता पनि लागू गरेको छ, यसको कार्यान्वयन पक्ष कस्तो छ ?

२०६० सालमा राष्ट्रिय भवन संहिता निर्माण गर्यौं। २०६२ साल फागुन १ गते राजपत्रमा प्रकाशन गरेर त्यति बेलाका ५८ नगरपालिका, २८ जिल्ला सदरमुकाम रहेका गाविसहरू र ७६ नगरोन्मुख बस्तीहरूमा अनिवार्यरूपमा लागू गरेका थियौं।

त्यसपछि २०७३ साल कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेर त्यति बेलाका २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी रहेका सबै गाविसमा अनिवार्यरूपमा भवन संहिताको पालना गर्नुपर्ने नियम कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक अवस्था बनायौं।

संघीय संरचनाअनुसार नगरपालिकाको संख्या बढेर २ सय ९३ पुग्यो। त्यति बेलाका गाविसहरू अहिले गाउँपालिका बनेका छन्। राष्ट्रिय भवन सहिंता देशभर अनिवार्य छ।

नक्सा पास गर्न राष्ट्रिय भवन संहिताअनुसार नै हुनुपर्छ। नगरपालिकाहरूले भवन संहिताअनुसार मात्र नक्सा पास गर्नुपर्ने प्रावधान रहेको छ। कतिपय नगरपालिकामा दक्ष प्राविधिक नहुन पनि सक्छन्।

विगतको भन्दा अहिले नक्सा पास प्रक्रियामा सुधार भएको छ। अहिले पनि सबै नगरपालिकामा राष्ट्रिय भवन संहितालाई बुझ्ने प्राविधिकको संख्यामा कमी छ। भवन संहिता डिजाइनरहरूका लागि हो। आम मानिसका लागि बुझ्न कठिन छ। हामीले सहज बनाउनका लागि सचित्र सबैले बुझ्ने गरी भवन निर्माण निर्देशिका बनाएका छौं।

राष्ट्रिय भवन संहिता (१०५) परिमार्जन गरेर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा गएको छ। मन्त्रिपरिषद्बाट पारित भएसँगै परिमार्जित संहिताअनुसार डिजाइन निर्देशिका बन्नेछन्, जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्ने हुन्छ।

भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता आउन लागेको छ। यो नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन संहिता हो। संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि इन्जिनियरले डिजाइन गर्छन् र त्यसको निर्माण भने कालीगढहरूले गर्ने हो। इन्जिनियरले बुझ्ने तर कालिगढले नबुझ्ने अवस्था नहोस् भनेर दक्ष कालिगढ उत्पादन गर्न पाठ्यक्रम पनि तयार गरेर लागू गरेका छौं। कुनै पनि संघसंस्थाले कालिगढसम्बन्धी तालिम दिन चाहेको अवस्थामा यो पाठ्यक्रमअनुसार दिनुपर्छ।

२०७२ सालमा गएको भूकम्पछि अहिले पुनर्निर्माणको भइरहेका भवन तथा घरहरू भूकम्प प्रतिरोधी छन् कि छैनन् ?

भूकम्पपछि निर्माण भएका सबै भौतिक संरचना भूकम्प प्रतिरोधी छन्। भवन संहिताअनुसार नक्सा पास भएपछि मात्र घर निर्माण गर्ने प्रावधान लागू गरेका छौं।

नक्सा पास भएपछि चरणचरणमा त्यसको अनुगमन र निर्माण भएको घर भवन संहिताअनुसार छ कि छैन भनेर मात्र कार्य सम्पन्न प्रमाणपत्र दिने गरिन्छ।

२०७२ सालमा भूकम्पले पुर्याएको क्षति मानिसहरूले आफ्नै आँखाले देखेका कारण आफू बस्ने घर भूकम्प प्रतिरोधी नै बनाउनुपर्ने चेतनाको विकास भएको छ। मानिसको जीवनसँग घर निर्माण गर्ने लागत तुलना हुन सक्दैन।

त्यसैले आफू बस्ने घर त सुरक्षित चाहिन्छ भन्ने भावनामा व्यापक वृद्धि भएको छ। घर बनाउन भवन संहिताको पालना गर्दा थोरै लागत बढे पनि बलियो हुन्छ। जनतामा जागरण आएको छ। राष्ट्रिय भवन संहिता प्रभावकारीरूपमा कार्यान्वयनमा आएको छ।

स्थानीय तहमा राष्ट्रिय भवन संहिता कार्यान्वयन गर्न विभागको केकस्तो भूमिका हुन्छ ?

सुरक्षित भवन निर्माणका लागि राष्ट्रिय कार्ययोजना २०७२ मा बनेको थियो। आगामी २० वर्षभित्र राष्ट्रिय भवन संहितालाई कसरी प्रभावकारी बनाउने भनेर कार्ययोजना छ।

संघीय संरचनाअनुसार नै त्यसलाई पनि परिमार्जन गर्नुपर्ने भएकाले अपडेट गरेर व्यावहारिकरूपमा लागू गर्छौं। संघ, प्रदेश र स्थानीय तहमा अनिवार्यरूपमा लागू गर्छौं।

भूकम्पको क्षति हाम्रो पुस्ताले देख्यो। आगामी दिनमा आउन सक्ने भूकम्पबाट २०७२ सालमा पुर्याएजस्तो क्षति नहोस् भन्नाका लागि भवन संहिता पालना गरेर घर निर्माण गर्नुपर्छ।त्यसका लागि हामीले अहिलेदेखि नै प्रकोप प्रतिरोधी भवन निर्माण गरौं। राष्ट्रिय भवन संहिता पालना गरेर सुरक्षित घर निर्माण गरौं।

प्रतिक्रिया दिनुहोस्