क्वात्राले फागुनबाट पद सम्हाल्ने



काठमाडौं, (नेस)।

नेपालका लागि नयाँ भारतीय राजदूत विनयमोहन क्वात्राले आगामी फागुन महिनादेखि काम थाल्नुहुनेछ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट रहेर काम गरेका उहाँसँग नेपालमा रहेर काम गरेको लामो अनुभव छ।

गत महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि क्वात्रालाई सोमबार नेपालको जिम्मेवारी तोकिएको हो। उहाँले फेब्रअरी महिनादेखि जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा प्रधानमन्त्री कार्यालयका सहसचिव रहेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत हुनुहुन्थ्यो।

भारतीय परराष्ट्र सेवामा तीन दशकको यात्रा पूरा गरेका क्वात्राले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा सन् २००६ देखि २०१० सम्म व्यापार तथा अर्थ ब्युरोमा रहेर काम गरिसक्नुभएको छ।

साथै, उहाँले छिमेकी मुलुक चीन र राष्ट्रसंघीय मिसनमा खटिएर आफ्नो मुलुकको प्रतिनिधित्व पनि गरिसक्नुभएको छ। राजदूत सिफारिस भएपछि सम्बन्धित मुलुकबाट ‘एग्रिमो’ लिनुपर्ने कूटनीतिक अभ्यास छ। तर क्वात्रालाई तोकिएको पछिल्लो जिम्मेवारीबारे परराष्ट्र मन्त्रालयले अझै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्