गाडी कर्जामा बैंकहरूको आकर्षक स्किम



नेपाल समाचारपत्र काठमाडौं। 
कोहीले भन्छन् गाडी विलासिता, कोहीले भन्छन् गाडी अत्यावश्यकता। सरकारले गाडीलाई विलासी वस्तु बताएपनि अटो व्यवसायीहरू भने गाडी अत्यावश्यकमै पर्ने बताउँछन्।

यसै सन्दर्भमा सवारी साधनलाई केन्द्रमा राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाले सवारी कर्जा उपलब्ध गराउँदै आएका छन्।

सवारी साधन खरिद गर्न चाहनेका लागि आकर्षक ब्याजदरका साथ बैंकले गाडी कर्जा दिइरहेका छन्।
यसै क्रममा बैंकले गाडी कर्जाको विशेष प्याकेज सार्वजनिक गर्ने घोषणा नै चलिरहेको छ। कतिपय बैंकले सात वर्षसम्म किस्ता भुक्तानी गर्ने गरी गाडी कर्जा दिइरहेका छन् भने कतिपयले १० देखि १५ वर्षसम्म किस्ता भुक्तानी गर्ने गरी कर्जा दिइरहेका छन्। गाडी कर्जाका सम्बन्धमा केही बैंकहरूको स्किम यस्तो छ।
एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले सवारी कर्जालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ। ‘मुभ इन स्टाइल’ भन्ने नाराका साथ ग्राहकमाझ गाडी कर्जा ल्याएको यस बैंकले १५ वर्षसम्मका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बिलको ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको छ।
बैंकले १६ दशमलव ५७ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। जसमा ९ दशमलव ५७ प्रतिशत आधार दर र न्यूनतम ७ प्रतिशत प्रिमियम ब्याजदर तोकिएको छ।
प्रभु बैंक
प्रभु बैंकले ग्राहकका लागि दुई किस्तामा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले ५ वर्षसम्मका लागि र ५ वर्षदेखि ८ वर्षसम्मका लागि गाडी कर्जा दिंँदै आएको हो।
बैंकका अनुसार, गाडी कर्जामा न्यूनतम ५ प्रतिशत प्रिमियम ब्याजदर तोकिएको छ भने आधार दर ९ दशमलव २४ प्रतिशत कायम भएको छ। जसअनुसार बैंकले कुल १४ दशमलव २४ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ।
नबिल बैंक

नबिल बैंकले न्यूनतम ८ लाखसम्मको गाडी कर्जा ७ वर्षसम्मको लागि उपलब्ध गराउँदै आएको छ। यस बैंकले मूल्य अभिवृद्धि कर (भ्याट) बिलको ५० प्रतिशत ‘डाउन पेमेन्ट’ गर्दै आएको छ।
बैंकका अनुसार, १० दशमलव ५३ प्रतिशतदेखि १२ दशमलव ५३ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले आकर्षक ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले सात वर्षसम्मको सरल किस्ता भुक्तानीमा ५० प्रतिशत ‘डाउन पेमेन्ट’मा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ।
यस बैंकले इलेक्ट्रिक गाडी खरिद गर्नका लागि भने ८० प्रतिशतसम्मको ‘डाउनपेमेन्ट’ व्यवस्था गरेको छ। यस बैंकले न्यूनतम १० दशमलब ९४ प्रतिशतदेखि १४ दशमलब ४४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ।
सानिमा बैंक
सानिमा बैंकले १५ दशमलब १६ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले सात वर्षसम्म किस्ता भुक्तानी गर्ने गरी कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले गाडी खरिदमा ५ लाखसम्म ‘डाउनपेमेन्ट’को व्यवस्था गरेको छ।
एनएमबी बैंक
एनएमबी बैंकले गाडी कर्जालाई विशेष प्राथमिकता दिएको छ। यस बैंकले न्यूनतम १४ दशमलव शून्य ६ प्रतिशत ब्याजदरमा विद्युतीय गाडी कर्जा उपलब्ध गराउँदै आएको छ।
बैंकले सात वर्षसम्मको किस्ता भुक्तानी गर्ने गरी ८० प्रतिशत डाउनपेमेन्ट गर्न कर्जा उपलब्ध गराउँछ। यस बैंकले न्यूनतम शून्य दशमलव ५ मिलियनदेखि ५ मिलियनसम्मको कर्जा प्रवाह गर्छ।
हिमालयन बैंक

हिमालयन बैंकले ८ वर्षसम्म किस्ता भुक्तानी गर्ने गरी आकर्षक ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउँदै आइरहेको छ। बंैकले गाडीको मूल्यको ८० प्रतिशत डाउनपेमेन्टमा कर्जा लगानी गर्नेछ। यस्तो कर्जा बैंकले १२ देखि १४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ।
कुमारी बैंक
कुमारी बैंकले ५० प्रतिशत डाउनपेमेन्टमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले ८ प्रतिशतसम्मको प्रिमियम ब्याजदरमा आधारदर जोडेर कर्जा उपलब्ध गराउँछ।
बैंकले आधार दर १० दशमलव ६२ प्रतिशत तोकेको छ। यस्तै विद्युतीय गाडीका लागि भने बैंकले ८० प्रतिशतसम्म डाउन पेमेन्टसम्मको व्यवस्था गरेको छ। बैंकले ७ वर्षसम्म किस्ता भुक्तानी गर्ने गरी कर्जा उपलब्ध गराउँछ।
नेपाल बैंक
नेपाल बैंकले २ लाख रुपियाँदेखि २५ लाख रुपियाँसम्मको गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले बढीमा सात वर्षसम्मको किस्ता भुक्तानी गर्ने गरी यस बैंकले ८० प्रतिशत डाउनपेमेन्टमा कर्जा उपलब्ध गराउँछ।
बैंकले ५ वर्षसम्मको कर्जा अवधिका लागि १० दशमलव ५३ प्रतिशतदेखि ११ दशमलव १४ प्रतिशतसम्म ब्याजदर लगाउँछ। यस्तै ७ वर्षसम्मका लागि लिइएको कर्जामा बैंकले ११ दशमलव ५३ प्रतिशतदेखि १२ दशमलव १४ प्रतिशतसम्म ब्याजदर लगाउँछ।
गाडी कर्जामा राष्ट्र बैंकको नीति
सरकारले भने सवारी साधनलाई विलासी वस्तु मानेको छ।त्यसअनुसार पछिल्लो निर्देशिकाअनुसार नेपाल राष्ट्र बैंकले सवारी साधनको खरिदमा ५० प्रतिशत नगद भुक्तानी ‘डाउनपेमेन्ट’लाई अनिवार्य गरेपछि सवारी साधनको बजार सुस्ताएको अटो व्यवसायीहरू बताउँछन्।

राष्ट्र बैंकले निजी सवारी साधनमा ५० प्रतिशत र विद्युतीय सवारी साधनमा ८० प्रतिशत डाउनपेमेन्टको व्यवस्था गरेको छ। यसैगरी राष्ट्र बैंकले पछिल्लोपटक आफ्नो तलबको ५० प्रतिशत नगद भुक्तानी गरेरमात्रै सवारी साधन किन्न पाउने व्यवस्था गरेको छ, सरकारले ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरेपछि अलि कम आयस्रोत भएकाहरूका लागि सवारी खरिद असहज भएको बताउँदै नाडा अटोमोबाइल एसोसिएसनका सचिव अनुप बराल भन्नुहुन्छ– ‘सरकारले विलासी वस्तु भने पनि पछिल्लो समय सवारी साधन अत्यावश्यक भइसकेको अवस्था छ, सरकारले तोकिदिएको डाउनपेमेन्टले सवारी साधनको व्यापार सुस्ताएको छ।’
उहाँले पछिल्लो समयको राष्ट्र बैंकको निर्देशनले पनि अटो बजारलाई नकारात्मक प्रभाव परेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘राष्ट्र बैंकको यस नीतिले अटो बजारमा मन्दी नै आएको छ, सवारी साधन खरिद गर्ने क्षमता भएका र इच्छा भएकाले पनि सवारी साधन किन्न छाडिसके, राष्ट्र बैंकको निर्देशनले निरुत्साहित पारेको छ।’
धितो मूल्यांकन

आवेदन बुझाईसकेपछि बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्यांकन गर्छन्। प्रचलित बजार मूल्य र सरकारी मूल्यांकनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको फेयर मार्केट भ्यालू बैंकले निकाल्छ। सोपछि त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन्।
अटो लोन लिन  चाहिने कागजातहरू
  •  कर्जा लिन चाहने व्यक्तिको नागरिकता वा पासपोर्ट
  •  ऋण लिने व्यक्तिको पासपोर्ट साइजको फोटो
  •  ऋण लिने व्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोतसम्बन्धी विवरण
  •  धितो राख्ने सम्पत्तिको चार किल्ला प्रमाणित भएको लालपुर्जा
  •  सम्पत्ति खुल्ने कागजात
  •  सम्पत्तिको तिरो तिरेको कागजात 
  •  धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र
  •  घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र
  •  कर्मचारी भएमा तलबसम्बन्धी कागजात
  •  घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपूर्जाको प्रमाणपत्र (आवश्यक भएमा)

प्रतिक्रिया दिनुहोस्