सूर्या लाइफमै बीमा गर्नुपर्ने धेरै कारण छन्



शिवनाथ पाण्डे
सीईओ, सूर्या लाइफ इन्स्योरेन्स
स्याङ्जाको कालिगण्डकी गाविसमा जन्मनुभएका शिवनाथ पाण्डे एसएसली पास गरेपछि उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनुभयो। मध्यम परिवारमा जन्मिनु भएका पाण्डे काठमाडौं आइसकेपछि आर्थिक उतारचढावलाई सम्बोधन गर्न जागिर खाने हुटहुटी चल्यो।जागिरको आवश्यकतालाई पूरा गर्न नेपाल राष्ट्र बैंकमा काम शुरू गर्नुभएका उहाँले नेपाल राष्ट्र बैंकमा ३० वर्षसम्म सेवा गर्नुभयो। केन्द्रीय बैंकबाट अवकाश लिएपछि बैंकबाट बीमा क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ अहिले सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत हुनुहुन्छ। बीमा क्षेत्रको स्थिति र उहाँसँग उहाँको जीवनयात्राका बारेमा नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले गरेको कुराकानी :

यहाँले शुरूमा काठमाडौं आएपछि के गरौंला भन्ने सोच्नुभएको थियो ?

म सामान्य परिवारमा जन्मिएको हुँ, काठमाडौं आएपछि आफन्त कहाँ बसेँं। त्यतिबेला गाउँमा एसएलसीसम्म मात्र पढाई हुन्थ्यो। एसएलसी पास गरिसकेपछि उच्च शिक्षा अध्ययनका लागि म काठमाडौं आएको हुँ।

पारिवारिक समस्या, आर्थिक समस्या तथा अन्य विभिन्न समस्याबाट गुज्रिदै गर्दा त्यस्तो केही सोचिएन, कसरी पढ्ने ? आफ्नो आवश्यकता कसरी गर्ने भन्ने कुरा केही सोचिन्थ्यो।
वित्तीय क्षेत्रमा कहिले, कहाँ र कसरी प्रवेश गर्नुभयो ?
मैले २०४२ सालमा एसएलसी पास गरेंँ। त्यसपछि काठमाडौं आएर आईकम पहिलो वर्ष अध्ययन गर्दै गर्दा नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो।त्यसमा आवेदन दिएसँगै जागिरको यात्रा तय भयो। त्यतिखेर मैले मेरो योग्यताअनुसार ‘सहायक असिस्टेन्ट पदबाट जागिरको शुरूवात गरेँं।
त्यति तपाईँको लक्ष्य चाहिँ के थियो ?
लक्ष्यभन्दा पनि त्यतिबेला मेरो आवश्यकता जागिर खाने थियो। किनभने म किसान परिवारमा जन्मेको व्यक्ति बुवाआमाले खेतबारी गर्ने र अन्न बेचेर पढाउनुपर्ने अवस्था थियो। पढ्ने इच्छा हुँदाका बाबजुत पनि व्यक्तिगत, पारिवारिक, आर्थिक कठिनाइ देखा पर्थे।

त्यसैले जागिर खाएँ भने आर्थिक हिसाबले केही सहज हुन्थ्यो कि भनेर बैंकमा परीक्षा दिएँ। त्यतिबेला पनि धेरै नै प्रतिस्पर्धा थियो। १० हजार जनाले आवेदन दिएका थिए। लोकसेवाले परीक्षा लिएको थियो। आर्थिक चपेटामा परेको मान्छेलाई यो राम्रो यो नराम्रो भन्ने नै भएन।
राष्ट्र बैंकमा कहिलेसम्म काम गर्नु भयो ?

राष्ट्र बैंकमा मैले ३० वर्ष काम गरें। राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्ष उमेर भएपछि दुईमध्ये जुन अगाडि हुन्छ त्यसबाट अनिवार्य रुपमा अवकास प्राप्त हुन्छ।

त्यही प्रावधानअन्तर्गत मैले चाहिँ विशिष्ट श्रेणी/कार्यकारी निर्देशक पदबाट अवकास पाएको हुँ। मैले राष्ट्र बैंकबाट अवकास पाएको भर्खरै तीन वर्ष भएको छ।
राष्ट्र बैंकको उच्च तहमा पुगेर अहिले बीमा कम्पनीमा आउनु भएको छ, यसलाई कसरी लिने ? 
म मेरो कर्मले यहाँसम्म आएको हँु। बैंकबाट अवकाश प्राप्त भइसकेपछिको अवधिमा यहाँ खाली रहेछ, मलाई बोलाउनुभयो अनि यता आएँ। अन्यथा मेरो क्षेत्र बीमा होइन।
अहिले सीईओको रूपमा काम गरी रहँदा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
अफिसियल समय भनेको १० बजेदेखि ५ बजेसम्म हो। तर, प्रमुख कार्यकारी भएर संस्थाको जिम्मेवारी बहन गरिसकेपछि १०–५ भन्न मिल्दैन।

सम्पूर्ण समय संस्थासँग आबद्ध भएर काम गर्नुपर्ने हुन्छ। संस्थाको सफलतासँगै आफ्नो पनि सफलता गाँसिएको हुन्छ। तसर्थ, टाइमटेबुल अनुरुप चल्नेभन्दा पनि कामलाई मध्यनजर गरेर हिँड्नुपर्ने हुन्छ।

यो क्षेत्रबाहेक तपाईंको अन्य के कस्तो कुरामा रुची छन् ?
मलाई खेलकुद अत्यन्तै मन पर्छ। म पहिलेदेखि नै भलिबल खेल्थें। अहिले चाहिँं कहिले काहींँ मात्र क्लबमा गएर ब्याडमिन्टन खेल्ने गर्छु। समय र मौका मिलेसम्म कसैको बायोग्राफी पढ्न रूचाउँछु। मेरो जीवनको धेरै समय वित्तीय क्षेत्रमा नै बिताएको भएर यस क्षेत्रमा अझै केही योगदान पुर्याउने धोको छ। यसमै तल्लिन छु।

तपार्इं आफ्नो कमाईलाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?

उसो त तलब कति नै पो हुन्छ र। त्यसमै कर तिर्नु पर्यो, घर खर्च चलाउन पर्यो, छोराछोरी पढाउन पर्यो, बुबाआमाको सेवा गर्नुमा खर्च गर्नुपर्ला, औषधि उपचारमा खर्च हुन्छ।

यति खर्चको बाबजुत पनि रकम बच्यो भने चाहीँं हामी कर्मचारी भएको नाताले बंैकमा नै बचतको रूपमा रहन्छ। पछिल्लो समय राष्ट्र बंैकले वित्तीय संस्थाका कर्मचारीले शेयरमा लगानी गर्न पाइँदैन भन्ने नियम ल्याएकाले त्यता जाने कुरा पनि भएन। नेपालीको लगानी भनेको घर, जग्गा, गरगहनामै त हो नी।

आजसम्मको जीवन भोगाईमा तपार्इंले हरपल सम्झने राम्रँे काम र गल्ती केही छ ?

मलाई संस्थाले सुम्पेको जिम्मेवारीलाई मैले निष्ठापूर्वक सम्पन्न गरेको छु भन्ने लाग्छ, बाँकी त्यस्तो केही छैन।

तपाईंलाई के कस्ता कुराले व्यक्तिलाई पूर्ण बनाउँछ जस्तो लाग्छ ?
कामप्रतिको निष्ठा, इमानदारिता जस्ता कुरा मलाई मन पर्छ। अर्काे व्यक्तिलाई गर्ने व्यवहार जस्ता कुराले कसैको पनि व्यक्तित्व झल्कन्छ।
यसर्थ, व्यक्तिको बोलीचाली, कामप्रतिको निष्ठा, इमानदारिता, मेहनत आदिजस्ता कुराले नै व्यक्तिलाई आन्तरिक रूपमा सक्षम बनाउनुका साथै व्यक्तिको व्यक्तित्व विकासमा सहयोग गर्छ। मलाई पनि त्यही नै मन पर्छ।
आम मानिसले सूर्या लाइफ इन्स्योरेन्समै बीमा गर्नुपर्ने किन ?
यसमै बीमा गर्नुपर्ने भन्दा पनि जीवनमा आकस्मिक रूपले देखा पर्ने जोखिम ट्रान्सफर गर्ने काम बीमाले गर्छ। त्यसैले आकस्मिक रूपमा आइपर्ने जोखिमका कारण आउने वित्तीय जोखिम न्यूनीकरण गर्नको लागि हामीले जीवन बीमा गर्ने हो।
 सूर्या लाइफमै जीवन बीमा किन गर्ने भन्दा हामीसँग धेरै राम्रा प्रोडक्ट छन्। जस्तै चाइल्ड वर्क प्रोडक्ट, मनी ब्याक, सबैभन्दा सस्तो इन्डोर्समेन्ट पोलिसी, माइक्रो लेभलको इन्स्योरेन्स गर्ने प्रोडक्टको पनि विकास गरेका छौं।

हामीले छिटोछरितो एवम् व्यवस्थित रूपले सेवा सुविधा दिन्छौं। हामीसँग जीवन बीमा गर्नुभएका बीमितहरू हाम्रो सेवामा सन्तुष्ट हुनुहुन्छ। हाम्रँे बीमा कम्पनी पुरानो हो।

केही समय अनुभव प्राप्त एवम् उच्च तहको योग्यता भएको, उच्च तहमा काम गरेको अनुभव हासिल गरेको व्यवस्थापन छ। बोर्ड पनि त्यही किसिमको उच्च हैसियत प्राप्त गरेका व्यक्तित्वको मातहतमा छ।

त्यस्तै प्रतिष्ठित घरानाबाट स्थापना गरेको संस्था हो। त्यसैले यस बीमा कम्पनीमा बीमा गर्दा तपाईहरू सुरक्षित हुनुहुन्छ। नियमनकारी निकायले हामीलाई कुनै पनि हिसाबमा कारबाही गरेको छैन। हामीले राम्रोसँग सेवासुविधा प्रदान गरिरहेका छौं।

हाम्रो कम्पनी सुशासनमा चलेको छ। यिनै कारणले हाम्रँे ख्याती, गुडविल एवम् बिमितले विश्वास गर्ने धेरै आधारहरू छन्। यस्तै विभिन्न आधारले मानिसहरू सूर्या लाइफ इन्स्योरेन्समा बीमा गर्न आकर्षित भएका छन्।

प्रतिक्रिया दिनुहोस्