कम्पनी प्रोफाइल : बीमालाई मोफसलमा पुर्याउँदै सगरमाथा इन्स्योरेन्स कम्पनी



नेपाल समाचारपत्र, काठमाडौं।

२०५३ साल साउनदेखि बीमा कारोबार शुरू गरेको सगरमाथा इन्स्योरेन्स कम्पनी वैदेशिक संयुक्त लगानी भएको निर्जीवन बीमा कम्पनी हो। यस कम्पनीमा सेलिन्को इन्स्योरेन्स कम्पनी (पीएलसी) को २० प्रतिशत लगानी रहेको छ भने स्थानीय संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको २९ प्रतिशत लगानी रहेको छ।

कुल १ अर्ब १२ लाख रुपियाँ चुक्ता पुँजी रहेको यस कम्पनीको ५३ शाखा १९ उपशाखा र ८ एक्स्टेन्सन कार्यालयसहित कुल ८१ कार्यालयमार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा करिब ३८० जना कर्मचारी कार्यरत रहेका छन्। कम्पनी स्थापनाकालदेखि नै ‘बिग अर स्मल– सेक्युरिटी फर अल’ भन्ने मन्त्रलाई आत्मसात गर्दै आएको छ।

यस कम्पनीले सन् २००२ मा सिलन नेसनल चेम्बर अफ इन्डष्ट्रीबाट ‘सीएनसीआई एचिभर अफ इन्डस्ट्रियल एक्सलेन्स २००२’ सार्क कन्ट्री गोल्ड अवार्ड, सन् २०१८ मा इन्डियन चेम्बर अफ कर्मसबाट इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड र सन् २०१९ मा प्रोडक्ट इन्नोभेसन इन जनरल इन्स्योरेन्समा कम्पनी अफ द इयर २०१९ बाट सम्मानित भएको छ।

कम्पनीले २०७४ साउनबाट नेपाली बीमा बजारको इतिहासमा पहिलोपटक मोटर बीमामा दुर्घटनास्थलमै दाबी फछ्र्योट गर्ने उद्देश्यका साथ ‘सगरमाथा भीआईपी अन द स्पट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। शुरूका दिनमा काठमाडौं उपत्यकाभित्र सीमित कार्यक्रम हाल देशका प्रमुख शहर पोखरा, नारायणगढ, विराटनगर, बुटवल, नेपालगन्ज, वीरगन्ज, भैरहवामा बिस्तार गरिसकिएको छ।

भूकम्पपछि यस कम्पनीमा नेपालमा सबैभन्दा बढी करिब तीन हजारले बीमा दाबी पर्न आएको अवस्थामा कम्पनीले उक्त चुनौतीलाई सहजै अवतरण गर्न कम्पनी सक्षम भएको थियो। कम्पनीले भूकम्पबाट भएको क्षतिग्रस्त सम्पत्ति क्षतिपूर्ति मात्र करिब १६० करोड रुपियाँ भुक्तानी गरेको थियो।

कम्पनीले प्रविधिमैत्री सेवा उपलब्ध गराउनुपर्ने आवश्यकतालाई महशुस गर्दैे हात–हातमा ‘बीमा सेवा’को शुभारम्भ गरेको छ। यस कार्यक्रमबाट कम्पनीका ग्राहकले घरमा बसेर नै मोटरको तेस्रो पक्ष बीमालेख, दुर्घटना बीमालेख, ट्राभलर्स मेटिक्लेम बीमालेख र सम्पत्ति बीमालेख खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

चालू आवको पहिलो त्रैमासिक अवधिमा पनि कम्पनीले ६७ करोड ६९ लाख ४१ हजार ९८ रुपियाँ बीमाशुल्क संकलन गरी १५९७ को संख्यामा १० करोड ५८ लाख ४७ हजार रुपियाँ बराबरको बीमा दाबी भुक्तानी गरी सकेको छ।

त्यस्तैगरी ५ करोड ११ लाख २५ हजार ६३ रुपियाँ सञ्चालन मुनाफा गरी ५ करोड १ लाख १ हजार ४ सय तीन रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। साथै कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ९६ प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गरेको छ।

प्रतिक्रिया दिनुहोस्