यसपालि पनि मारिने छैनन् चरा



नेपाल समाचारपत्र, हेटौंडा।

नेपालका प्रचलित ऐन कानुनले चरा संरक्षणका निम्ति विभिन्न प्रावधान राखेको छ। चरा संरक्षण गर्दा प्रकृति पनि संरक्षण भएर मानव जातिलाई सकारात्मक प्रभाव पार्ने गर्दछ।त्यस कारण केही वर्ष अघिसम्म चरालाई लखेटीलखेटी मार्ने अनौठो चलन रहेको उत्तरी मकवानपुरमा हाल यस्तो गरेको पाइँदैन।

स्थानीय सरकारी वनलाई समुदायले जिम्मा लिएर संरक्षण र व्यवस्थापन गरी आय आर्जनतर्फ केन्द्रित हुन थालेपछि चरा मार्ने परम्परा हराएको हो। माघे संक्रान्तिका दिन संग्रेला लखेट्न सबैलाई उर्दी नै जारी गरिन्थ्यो रे।

सायद, यही कारण होला दामन/पालुङ क्षेत्रका वनमा चरा बढेका छन्। समुदायमा आएको जागरणका कारण तिनीहरू शिकारीको निशानाबाट जोगिएका छन्। ‘अन्य बेला चरा मार्ने प्रचलन हटेको बेला माघे संक्रान्तिमा पनि हट्नु राम्रो हो,’ थाहानगरका मेयर लवशेर विष्टले भन्नुभयो– ‘यसपालि पनि मारिने छैनन् चरा।’

‘चरा हेर्न वनजंगल, आरक्ष र निकुञ्ज नै जानु पर्दैन। थाहानगरका घर, आँगन र बगैंचामा पनि देख्न सकिन्छ,’ मेयर विष्टले भन्नुभयो– ‘चराको आवाजमा विविधता पाइने भएकाले केही पर्यटक थाहानगर आउन आकर्षित भएका छन्।

थाहानगरमा चरा पर्यटनको सम्भावना औंल्याउँदै उहाँले दुई साता चरा हेर्न निस्कियो भने चार सयदेखि पाँच सयसम्म चरा सजिलै देख्न सकिने बताउनुभयो। उहाँले पारिस्थितिक प्रणाली सन्तुलित राख्न चरा संरक्षणमा ध्यान दिइएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मानिस र चराचुरुंगीको पुरानो सम्बन्धलाई प्रगाढ बनाइ राख्न चरा जोगाउनुपरेको छ।’

पहिले स्थानीय हुल बाँधेर तरुल खोज्न जंगल गएका बेला चरा मार्थे। बालबालिकादेखि पाकासम्म चरा लखेट्न कस्सिन्थे। त्यसरी लखेटिनेमा खास गरी भ्याकुर प्रजातिका चरा हुन्थे, धेरै त संग्रेला लखेटिन्थ्यो। थाहानगर–३ घर्तीखोलाका देवबहादुर कार्की विगत स्मरण गर्दै भन्नुहुन्छ– ‘जंगलबाट खेदेर बेंसीसम्म आइपुग्दा आत्तिएर बेहोस जस्तै भएका चरालाई लाठीले हिर्काउँथे।’

गाउँभरका मानिस मिल्थे, जंगलबाट खेदेर बेंसीसम्म ल्याउँथे अनि आत्तिएर बेहास भएका चरालाई लौरोले हिर्काउँथे। स्थानीय सामुदायिक वन अध्यक्ष सीताराम कार्की चराहरू केही वर्षयता मानिसको निशानाबाट जोगिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘चिया पसलमा पनि गुलेली बेच्न राखेको देखिन्थ्यो, हाल बजारमै पाउन मुस्किल छ।

पालुङ क्षेत्रको जंगलमा नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर पनि पाइन्छ। त्यसो त, त्यस क्षेत्रमा के कति प्रकारका चरा पाइन्छन् भन्ने विषयमा अध्ययन हुन बाँकी छ। विश्वमा अन्त कतै नपाइने काँडेभ्याकुर पालुङ उपत्यकामा पनि पाइन्छ। काँडेभ्याकुर समुद्री सतहबाट १ हजार २ सय मिटरमाथि रहेका क्षेत्रमा पाइने गरेको छ।

प्रतिक्रिया दिनुहोस्