स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन



नेपाल समाचारपत्र, गुल्मी।

जिल्ला प्रशासन कार्यालयबाट शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्य स्थानीय तहबाट पनि संकलन गरिने भएको छ। स्थानीय तहमा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरू र सरोकारवालासँग अन्तरक्रिया गरिएपछि परिचयपत्र वितरण गर्ने भएको हो।

राष्ट्रिय परिचयपत्रको बारेमा जानकारी गराउने, स्थानीय तहमा कसरी यो अभियान लिएर जाने भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिनुभयो।

सहभागीलाई राष्ट्रिय परिचयपत्रका विषयमा जानकारी गराउँदै राष्ट्रिय परिचयपत्रले नागरिकलाई राज्यबाट हुने सेवा सुविधा सहज रूपमा प्राप्त गर्नका लागि प्रयोग गरिने आधारभूत पहिचान भएको जानकारी गराइएको थियो।

राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकको जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बरसहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचानसहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो। परिचयपत्रमा व्यक्तिका दुई किसिमबाट विवरण समावेश गरिने छ।

जसमा वैयक्तिक विवरण र जैविक विवरण समावेश गरिने सूचना प्राविधि निर्देशक ढकालले जानकारी दिनुभयो। वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान–श्रीमतीको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन्।

जैविकविवरण अन्तर्गत औंठाछाप, दुईवटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिने उहाँले जानकारी दिनुभयो। राष्ट्रिय परिचयपत्र सबै नेपाली नागरिकलाई प्रदान गरिने बताइएको छ।परिचयपत्रको विवरण नागरिकतामा समाबेश गरिएको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ। परिचयपत्र नम्बर कसैसँग दोहोरिने छैन्।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा सत्यतथ्य र यथार्थलाई विशेष ध्यानदिन आग्रह गर्नुभयो। अभियानलाई विशेष महत्व दिएर स्थानीय तहले आफ्नो ठाउँमा व्यापक प्रचार—प्रसार गर्न आग्रह गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले राष्ट्रिय परिचयपत्र विवरण भर्न प्रचारप्रसारको लागि स्थानीय सञ्चार माध्यामबाट जानकारी गराउने बताउनुभयो। उहाँले यो अभियान शुरु हुनुभन्दा पहिले जिल्लाका सबै स्थानीय तहमा पुगेर यस्तै अन्तरक्रिया गर्न आग्रह गर्नुभयो।

नागरिकका सेवा सुबिधासहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण हुने छ। परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइसराई गरेको हकमा बसाइसराईको सक्कल कागजपत्र चाहिन्छ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि पहिलो चरणमा गुल्मीसहित झापा, संखुवासभा, महोत्तरी, ललितपुर, रसुवा, सप्तरी, स्याङ्जा, तनहु, चितवन, कपिलवस्तु, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर गरी १५ जिल्लामा संकलन कार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्