सवारी दुर्घटनामा गायक भट्टराईको निधन



विभिन्न रेस्टुराँ र होटलमा गीत गजल गाएर लोकप्रियता कमाएका गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ। रंगमञ्च र होटल तथा गजल रेस्टुरेन्टमा गीत र गजल गाउँदै आएका गायक भट्टराईको सोमबार राती राजधानीको दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा गीत गाएर आफैले चलाएको कारमा फर्कने क्रममा दुर्घटनामा भएको थियो।

दुर्घटनामा सख्त घाइते भएका उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो। उनी आफैले चलाएको गाडी तीनकुनेस्थित पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

लोकप्रिय गायिका लोचन भट्टराईका गायक भाइ भट्टराईले पहिलोपटक कामनाले भरिएको बोलको गीत गाएका थिए। डा. दीर्घसिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए।

पिएर नशा अधरको तिम्रो छैन अझै भरिएको दिल, हेर धर्ती, माया गर माया गरजस्ता उनका गीत लोकप्रिय थिए। माया गरमा सुकमित गुरुङले गायक भट्टराईलाई साथ दिएकी थिइन्।

उनले विशेष प्रसिद्धि भने गजल रेस्टुराँहरूको गीत र गजल गायनबाट पाएका थिए। दरबारमार्गका विभिन्न रेस्टुराँमा गीत गाउने उनका गीत सुन्न नियमितरूपमा संगीत पारखीहरू ती रेस्टुराँहरूमा जाने गर्दथे।

जसमा सामान्य संगीत पारखीहरूदेखि सेलिब्रेटहरूसम्म हुने गर्दथे। उनी २०४१ सालमा रेडियो नेपालमा प्रवेश गरेका थिए। २०४१ देखि २०४४ को अन्त्यसम्म रेडियो नेपालमा गायकका रूपमा काम गरेका भट्टराई धरानका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्