आज पाँचौं राष्ट्रिय योग दिवस योग गरौं, निरोगी बनौं



ईश्वरराज ढकाल

आज पाँचौं राष्ट्रिय योग दिवस। नेपालभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै छ। लाखौं नेपाली योगप्रति मोहित हुन थालेपछि नेपालमा योग दिवस मनाउन थालिएको हो।

यो वर्षको योग दिवसको नारा ‘राष्ट्रिय एकता ः योगको सान्दर्भिकता’ रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विशेष पहलमा साताव्यापीरूपमा योग दिवस मनाइँदै छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल योगको विशेष पारखी भएरै होला उहाँकै संयोजकत्वमा राष्ट्रिय योग दिवस मूल समारोह समिति गठन भई राष्ट्रिय योग दिवसलाई भव्य र व्यापकताका साथ मनाउन सप्ताहव्यापी कार्यक्रमहरू तय गरिएको हो।मन्त्रालयले हरेक विद्यालयमा योगको कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ।

कार्यक्रमको पहिलो दिन बिहान ८ बजे पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्गमा भेला भई प्रभातफेरीसहित राष्ट्रिय सभागृहमा समारोहको आयोजना गरिँदै छ। आजै रेडियो तथा टेलिभिजनमा योग विशेषज्ञ एवं गुरुहरूको सहभागितामा योग र शिक्षाको महत्व विषयमा परिसंवाद तथा विचार विमर्श कार्यक्रम सञ्चालन हुनेछन्।

योगको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न संस्थाबाट योगसम्बन्धी पुस्तकलगायतका सामग्रीको प्रदर्शनी व्यवस्था गर्ने, विभिन्न टेलिभिजनमा हुने प्यानल छलफलमा योगको विषय समावेश गर्ने कार्यक्रम रहेको छ।

दिवसको अन्तिम दिन माघ ७ गते साँझ ६ बजे माइतीघर मण्डलामा भेला भई सामूहिकरूपमा मैनवत्ती बाली योग दिवसको सप्ताहव्यापी कार्यक्रम समापन गर्ने योजना रहेको छ। योगभूमिका रूपमा रहेको नेपाललाई योगको गन्तव्यस्थलका रूपमा विकास गर्नु जरुरी भएकाले सरकारले माघ १ गतेदेखि आयोजना गरिने योग सप्ताहलाई भव्यरूपमा मनाउन लागिएको मन्त्री पोखरेलको भनाइ छ।

स्वस्थ, निरोगी र दीर्घजीवनका लागि अति आवश्यक रहेको योगले सदाचार, अनुशासन र असल चरित्र निर्माणको मार्ग अवलम्बन गर्नसमेत सहयोग र उत्प्रेरित गर्ने कारणले योग दिवस मनाउन लागिएको उहाँको भनाइ छ।

शारीरिकरूपमा स्वस्थ, मानसिकरूपमा शान्त र आध्यात्मिकरूपमा उच्च चेतनायुक्त जीवन जिउनका लागि योगलाई जीवन पद्धतिको अभिन्न अंगका रूपमा स्वीकार गरी अंगीकार गर्न सबैमा अनुरोध गरिएको योग दिवसमा प्रदेश र स्थानीय सरकारले समेत विशेष प्राथमिकता दिएको छ।

मन्त्रालयले गएको १७ गतेको निर्णयअनुसार राष्ट्रिय योग दिवसलाई भव्यरूपमा सम्पन्न गर्न सबै शिक्षणसंस्थामा विविध कार्यक्रम आयोजना, गर्ने योगसम्बन्धी लेख रचना प्रकाशित गरी प्रचारप्रसार गर्नेलगायतका निर्णय गरेको थियो।

मन्त्री पोखरेलले राष्ट्रिय योग दिवसलाई आ–आफ्नोस्तरमा भव्यताका साथ मनाई सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, योग सम्बद्ध विभिन्न संस्था, सरकारी तथा गैरसरकारी निकाय, सम्पूर्ण शैक्षिक संस्था र सबै नागरिकलाई आग्रह गर्नुभएको छ।

पूर्वीय प्राचीन सभ्यताका रूपमा रहेको योगलाई जीवन विज्ञान र जीवन शैलीका रूपमा निरन्तरता दिन आवश्यक भएकाले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधताबीचको एकताको प्रतीकको दिनलाई आधार मानी २०३६ साल आजकै दिन अर्थात् मकर सङ्क्रान्तिदेखि जनस्तरमा योग दिवस निरन्तररूपमा मनाइँदै आएको थियो।

योगलाई देशव्यापी बनाउन सरकारले विसं २०७२ साउन ४ गतेको निर्णयअनुसार माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। नेपालमा जुन २१ (अन्तर्राष्ट्रिय योग दिवस) र माघ १ (राष्ट्रिय योग दिवस) गरी वर्षको दुईपटक योग दिवस मनाउँदै आइएको छ।

आदि योगी शिव, हजारौं ऋषिमुनिहरू तथा शान्तिका अग्रदूत गौतमबुद्धको साधना थलोका रूपमा परिचित हाम्रो देश नेपाल योगको उद्गमभूमिका रूपमा स्थापित छ। योगको आवश्यकता र महत्वलाई विश्वभरि नै प्रचारप्रसार गरी प्राकृतिक सुन्दरताको देश नेपाललाई योगभूमिका रूपमा समेत परिचित गराई संसारभरका योग साधकको गन्तव्यस्थल बनाउन र योग पर्यटनमार्फत देशको समृद्धिको मार्ग खोल्न आवश्यक रहेको छ।

आत्मिक एवं आध्यात्मिक विकास तथा मानवकल्याणसँग जोडिएको योग हाम्रो विरासत हो। प्राचीन योगी, ऋषि, महर्षिहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमवत् क्षेत्रमा बसेर कन्दमूल, जडीबुटी र जल सेवन गरी दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योगको जगमा नै शिवसभ्यता, जनकसभ्यता र बुद्धसभ्यताको त्रिवेणी संगमस्थलका रूपमा यस पावनभूमिको विकास भएको हो।

हाम्रै भूमिमा योगीहरूले गरेको दीर्घ साधनाबाट प्राप्त योगको अभ्यास आज विश्वभर फैलँदो क्रममा छ।त्यसैले सरकारले योगलाई जीवन दर्शनका रूपमा विकास गरी नेपाललाई योगको उर्वर भूिमका रूपमा आन्तरिक र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा विद्यालयस्तरमा पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण गरी पठनपाठन शुरू गराएको छ। आाजको कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, योगगुरु, विद्यार्थीलगायतको सहभागिता रहनेछ।

सरकारको योजना सफल पार्छौं

ई. शालिकराम सिंह
ट्रष्टी, पतञ्जली योगपीठ नेपाल

सरकारले आयोजना गरेको राष्ट्रिय योग दिवसमा सबैले सहयोग गर्नुपर्छ। सबै नेपालीलाई निरोगी गराउने अवधारणाका साथ आयोजना गरिएको योग दिवसमा सबै विद्यालयमा योग सिकाउने लक्ष्य लिएका छौं। पतञ्जलीयोगपीठ स्थापना भएयता हामीले विभिन्न तहमा योग सिकाउने गरेका छौं।

योग दिवसको अवसरमा योगपीठले योगसम्बन्धी अन्तरक्रिया र रक्तदान कार्यक्रम आयोजना गरेको छ। ७७ वटै जिल्लामा शाखा रहेको समितिले सबै क्षेत्रलाई समेट्ने गरी विशेष कार्यक्रम आयोजना गर्दै छ। सबै केन्द्रीय पदाधिकारीहरू देशैभरका कार्यक्रममा सहभागी हँुदै छन्।

जिल्लाका प्रमुखले अनिवार्यरूपमा आफ्नो जिल्लामा कार्यक्रम गर्ने व्यवस्था मिलाएका छौं। सरकारले आयोजना गरेका सबै कार्यक्रममा सक्रियताका साथ सहभागिता जनाउनेछौं। आज आयोजना हुने मूल कार्यक्रममा पीठका अधिकांश अधिकारीको सहभागिता रहनेछ।

योगपीठअन्तर्गत करिब १६ हजार महिला, १८ हजार पुरुष र १३ हजार युवा योगगुरुहरूले देशव्यापीरूपमा सहभागिता जनाउनेछन्। त्यतिमात्रै नभई जिल्लाभरका शिक्षण संस्थामा योग सिकाउने योजना बनाएका छौं।

‘योग गरौं निरोगी बनौं’ भन्ने नारालाई सार्थक बनाउन सरकारले आयोजना गरेको राष्ट्रिय कार्यक्रममा हाम्रो सहभागितालाई अनिवार्य गराएका छौं। दिवसमा मात्र नभई हरेक दिन निरोगी हुन योग सिक्नुपर्ने अवस्थालाई हामीले कार्यान्वयनमा ल्याएका छौं।

योग समितिका राष्ट्रिय प्रभारी, महिला प्रभारी र युवा प्रभारीको संयोजनमा सबै योगगुरुलाई योगको प्रशिक्षण दिने गरेका हौं। हामीले देशभर संघ अर्थात् केन्द्र, प्रदेश र स्थानीय तहमा योग शिविर स्थापना गरेका छौं। बाबा रामदेव र आचार्य बालकृष्णले सोच्नुभएको सबै नेपालीलाई योग सिकाउने योजनालाई साकार पार्न हामीले विभिन्न तहमा कार्यक्रम गर्दै आएका छौं।

अधिकांश योग गुरुलाई हरिद्वारमा योग प्रशिक्षण लिन पठाउने गरेका छौं। देशका सबै नागरिकलाई निरोगी बनाउने परिकल्पनाअनुसार शुरू गरिएको पतञ्जली योगपीठको सरकारले आयोजना गरेको राष्ट्रिय योग दिवस र विश्वव्यापीरूपमा मनाइने अन्तर्राष्ट्रिय योग दिवसमा सक्रिय सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्