किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतनसम्बन्धी तालिम



प्रताप बानियाँ, म्याग्दी ।

किशोरकिशोरीलाई लक्षित गरेर यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतनसम्बन्धी तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, स्थानीय तहहरुको समन्वय र आईपास नेपालको सहयोगमा सदरमुकाम बेनीमा शनिबारदेखि तालिम सञ्चालन गरिएको थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् । उनले समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका विषयमा समुदायमा सचेतना जगाउनुपर्ने बताउँदै किशोरकिशोरीहरुले सकारात्मक सन्देशको प्रचारप्रसार गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले किशोरकिशोरीहरुलाई २० वर्षभन्दा कम उमेरमा विवाह नगर्न र उमेर पुगेपछि मात्रै विवाह गर्न सुझाव दिए ।

तीन दिनसम्म चलेको तालिममा आईपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवर, कार्यक्रम संयोजक, लक्ष्मण केसी, अधिवक्ता नवीनकुमार श्रेष्ठ, बेनी अस्पतालका सुरक्षित गर्भपतन सेवाको क्लिनीकल मेन्टर मनदेवी गौतम, सेवा प्रदायकद्वय भीमसरा पुन, प्रतिभा सुवेदी र अहेव राधिका थापाले सहजीकरण गरेका थिए । तालिममा म्याग्दी जिल्लाका १८ ओटा स्वास्थ्यचौकीमार्फत ३६ जना छात्र तथा छात्राको सहभागिता रहेको थियो ।

‘प्रभावकारी परिवार नियोजनसहितको सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्य अधिकारको सम्मान’ भन्ने नारासहित आयोजित तालिमको किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि गर्न तथा स्वास्थ्य व्यवस्थापन समितिमा बसेर युवाहरुको समस्या पहिचान तथा निवारण गर्न आवश्यक भूमिका निर्वाह गर्ने उद्देश्य राखिएको थियो ।

तालिममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी चक्र, किशोरावस्थामा आउने शारिरीक परिवर्तनहरु, सुरक्षित गर्भपतन, लैङ्गिकतामा आधारित हिंसा, किशोरकिशोरीमैत्री सेवा लगायतका विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ । बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर लामिछानेको अध्यक्षता र अहेव राधिका थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा आईपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवर, सहभागीद्वय सुस्मा पौडेल र विवेक चन्दले अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्