इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख ठगी गर्ने सात पक्राउ



न्युज अफ नेपाल, धनगढी ।

सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।

मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रङ्गेली नगरपालिका ६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनवर्षी नगरपालिका ८ का २२ वर्षका अब्दुल सलाम, भारत विहारका २५ का शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्मद ईसुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इमोमार्फत चिठ्ठामा २५ लाख भारतीय रुपैयाँ परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनी पटक–पटक गरी उनीहरूले १० लाख ४० हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

आफू ठगिएको भन्दै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको उजुरीको आधारमा प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्