पर्वतका सातै स्थानीय तहलाई नेपाल प्रहरीको सम्मान



न्युज अफ नेपाल, पर्वत ।
नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहहरुलाई सम्मान गरेको छ । प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई गण्डकी प्रदेशमै उत्कृष्ट बनाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकालाई प्रसंसा पत्रले सम्मान गरेको हो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङ र महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैलाई प्रसंसा पत्र प्रदान गरिएको हो ।

२०७५ कात्तिक देखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले विभिन्न १२ वटा विधामा रहेर कार्यक्रम संचालन गरेको थियो । समुदाय, विद्यालय, स्थानीय तह, विभिन्न सामाजिक संघ संस्था, कर्मचारी, मजदुर लगायतलाई सहभागि गराएर प्रत्येक वडा, टोल र गाउँसम्म पुगेर कार्यक्रम संचालन गरिएको प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार यो कार्यक्रम निकै प्रभावकारी समेत बनेको थियो ।

प्रशंसा पत्र वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्र्वतका संयोजक मनोहर बि पौडेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै सफल भएको बताउनुभयो । उहाँले सरकारले अघि सारेको सुखि नेपाली समृद्ध नेपाललाई सफल पार्नका लागि पनि यो कार्यक्रम महत्वपुर्ण बनेको बताउँदै यस्ता कार्यक्रमहरुलाई निरन्तरण दिनुपर्ने बताउनुभयो । विगतमा प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा जस्ता कार्यक्रम छाटो समयमै हराएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले समुदायका हरेक पक्षमा प्रहरी अनिवार्य जस्तै भैसकेको अवस्थामा प्रहरीलाई साधन र श्रोतले सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहमा प्रहरीको पहुँचलाई बृद्धि गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जलजला गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाको माग गर्नुभयो । उहाँले प्रहरी र स्थानीय तहबीच राम्रो सहकार्य भएको बताउँदै आगामी दिनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सहकार्यको खाँचो रहेको बताउनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी बिनोद शर्मा घिमीरेले जनताको बिचमा प्रहरी जाने यो भन्दा राम्रो कार्यक्रम आगामी दिन आउन नसक्ने बताउनुभयो । समुदायलाई सचेतीकरण गर्नका लागि यो कार्यक्रम सफल भएको बताउँदै शिक्षा, स्वास्थ्य र अपराध न्यूनिकरणमा यो कार्यक्रमको भूमिका महत्वपुर्ण देखिएको बताउनुृभयो ।

प्रतिक्रिया दिनुहोस्