माघे संक्रान्तिमा कागलाई सेल



किरन धामी, दार्चुला ।

सुदुरपश्चिम लगायत दार्चुलामा मंगलबार पुसे त्यार मनाईदै छ । नेपालका अन्य जिल्लाहरुमा कार्तिक महिनामा पर्ने दिपावली पर्वमा काग तिहार मनाउने र कागको पुजा गर्ने प्रचलन रहिआएको छ, भने सुदूरपश्चिमका अधिकांस जिल्लामा पुसे त्यार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकारहरु खुवाएर पुजा गर्ने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सुदूरपश्चिमभरीका मानिसहरुले विभिन्न मिठा–मिठा खाने कुराका परिकार पकाउने गर्दछन ।
यसरी खाने कुराका परिकारहरु पकाउँदा सबै भन्दा पहिला पाकेको वस्तु कागका लागि राख्ने गरिन्छ र सो खानेकुरा माघे सक्रान्तिका दिन बिहानै नुहाईधुवाई गरी कागलाई खुवाउने चलन छ । माघे संक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको छ । पार्वती शिवलाई पति पाउँ भनेर माघ महिनामा बर्त बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने प्रचलन छ ।

माघ महिनामा माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौंदेखि चलिआएको प्रचलन अनुसार पुसे त्यारका दिन सेल रोटी, माछा मासु लगायत विभिन्न खानाका परिकारहरु पकाउने गरिन्छ । सुदूरपश्चिममा पुसे त्यारको महत्व अझ पनि उत्तीकै रहेको पाइन्छ । सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका मौलिक चाड पर्वहरु मध्येको एक चाड माघे संक्रान्ति अर्थात पुसे तिहारका लागि विवाहित महिलाहरु माईती घर जाने गर्दछन ।

यसैगरी, विभिन्न कामका सिलसिलामा सदरमुकाम खलंगामा बस्दै आएका मानिसहरु तिहारका लागी घर फर्के पछि सदरमुकामको चहलपहल समेत कम भएको छ । पुसे त्यार अर्थात माघे संक्रान्तिलाई आफन्त एवं इष्टमित्रहरु संग भेटघाट गर्ने पर्वको रुपमा लिइन्छ भने यसको धार्मीक महत्व पनि उत्तीकै छ । अरु तिहार भन्दा पनि माघे संक्रान्तिको धार्मीक रुपमा ठूलो महत्व रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्