काभ्रे प्रहरीको ‘एक्सन’: ‘सेक्रेटरी’ खोरमा, युवा अध्यक्ष पक्राउ

काभ्रे प्रहरीले विप्लब समुहमाथीे निगरानी बढायो



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नेत्र विक्रम चन्द विप्लव समुहका जिल्ला सदस्य एवं सोहि समुहका राष्ट्रिय युवा जन स्वयंसेवक काभ्रे जिल्ला अध्यक्ष रमण परियारलाई सोमबार साँझ बनेपाको गोदाम चोकबाट पक्राउ गरेको छ ।

पक्राउ परेका परियार पटक पटक पक्राउ परेका नेता हुन् । पाँचखाल नगरपालिका वडा नम्वर ७ घर भएका रमणलाई भुम्लुमा २०७५ फागुन १० गते एनसेल टाओरमा आगजनी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

नेकपा माओवादी एकिकृतबाट अलग भई बैैद्य समुहमा रहँदा धुलिखेलमा हिडिरहेको बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा परियार केहि महिना जेल बसे पछि निस्किएका थिए । त्यस्तै अन्य अभियोगमा पनि रमण पटक पटक प्रहरी हिरासतमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले सरकारले विप्लब समुहका गतिविधि माथी निशेध गरे पनि चन्दा अभियानमा सक्रिय रहेको सूचनाका आधारमा रमणलाई पक्राउ गरेको बताउनु भएको छ । पौड्यालले जिल्लामा विप्लब समुहका कानून विपरित गतिविधिलाई निस्तेज पार्ने गरी अभियान शुरु गरेको बताउनु भयो ।

पक्राउ परेका परियारलाई सार्वजनिक सम्पति माथी हानि नोक्सानी पु¥याएको अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरी पवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिनु भएको छ ।

सेक्रेटरी जेलमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सरकारले गतिविधि माथी निशेध गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका जिल्ला सेक्रेटरी सहित तीन जनालाई विशेष सर्च अभियान बाट पक्राउ गरेको थियो । पक्राउ परेकी सेक्रेटरी सुन्तली थोकरलाई जिल्ला अदालतले धरौटी माग गरे पनि धरौटी नबुझाएका कारण उनी कारागार चलान भएकी छिन् ।

भुम्लुमा २०७५ फागुन १० मा भएको आगजनी र महाभारत गाउँपालिकामा भएको सिलिण्डर बम विस्फोट अभियोगमा सुन्तलीलाई मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालतले दुबै मुद्दामा २५÷२५ हजार धरौटी माग गर्ने आदेश सुनाएको थियो । धरौटी बुझाए लगत्तै अन्य जिल्लाबाट समेत थोकरलाई पक्राउ गर्ने सम्भावनाका आधारमा ५० हजार रकम नबुझाई कारागार गएको हुन सक्ने आंशका गरिएको छ ।

प्रहरीले गरेको विशेष अप्रेसनमा जिल्ला सेक्रेटरी सुन्तली थोकर सहित अन्य दुई जनालाई पक्राउ गरेका थिए । जिल्लाको विकट गाउँपालिका खानिखोलाबाट केन्द्रिय नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’ सहित ८ जना नेताहरु पक्राउ परे पछिका सबै भन्दा ठुलो नेता जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो ।

थोकरलाई केन्द्रिय कमिटीले कार्तिकको पहिलो साता मात्रै काभ्रेको सेक्रेटरीमा नियुक्ति गरेको थियो । लामो समय परिवारको सम्पर्कमा नरहेकी सुन्तली कार्तिक ६ गते बुधबार राति बुबा आमा भेट्न अस्थायी बसोबास रहेको पनौती नगरपालिका ९ नौविसे आएका बखत घरबाटै प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सुन्तली थोकरको साथबाट पार्टीका दस्तावेज सहित अन्य महत्वपूर्ण कागजातहरु बरामद गरेको थियो । प्रहरीले रोशी गाउँपालिका वडा नम्वर ६ सिपाली चिलाउनेबाट रोशी गाउँपालिका वडा नम्वर ५ सिसाखानी घर भएका ३० बर्षिय आसमान तामाङ र रोशी गाउँपालिका वडा नम्वर ३ शिखर आम्बोटे घर भएका ३१ बर्षिय अनन्त थापा मगर उपनाम भएका कृष्णबहादुर मगरलाई पक्राउ गरेको छ । आसमान जिल्ला कमिटी सदस्य हुन् ।

को हुन् सुन्तली ?

प्रहरीले पक्राउ गरेको विप्लव समुहका जिल्ला सेक्रेटरी सुन्तली थोकर शशस्त्र युद्धका क्रममा १३ वर्षको उमेर देखि भूमिगत भएकी थिईन् । साविक साल्मेचाकल घर भई जनविकास माविको कक्षा ७ मा अध्ययन गर्दा गर्दै उनका सहपाठी साईला तामाङलाई २०५९ सालमा प्रहरीले पक्राउ गरी गोली ठोकेर मारेपछि उनी अखिल क्रान्तिकारीको राजनीतिबाट भूमिगत भईन् । ७ छोरी र २ छोरा मध्ये उनी साईली छोरी थिईन् । सुन्तली भन्दा अघि उनकै ठुलोबुबाको छोरी रमिता थोकर माओवादीमा सक्रिय थिईन् अभियानकै उनको निधन भएको थियो ।

हाल बाग्मती गाउँपालिकाका अध्यक्ष रहेका मध्ु तामाङले सुन्तली लगायतलाई पार्टीमा प्रवेश गराएका थिए । निरन्तर पार्टीका विभिन्न पदमा रहेर योगदान पु¥याएकी सुन्तलीले शान्ति प्रकृयासँगै कोशिपारीको जागृति मावीबाट +२ अध्ययन सकेर हाल ब्याचलरत तहको अध्ययन गरिरहेकी थिईन् । शान्ति प्रकृयामा जिल्ला विकास समितिको सहयोगमा महिला एकता तथा रुपान्तरण अभियान अन्र्तगत सामाजिक अभियानमा रहेर काम गरेकी थिईन् । ताल्ढुङ्गमा रहेको नेपाल टेलिकमको टाओर निर्माणमा पनि एक समय उपभोेक्ता समितिमा रहेर समेत काम गरेकी थिईन् । युद्धका क्रममा ९ महिना जति सेनामा रहेर सक्रिय भईन् ।

२०६९ सालसम्म उनी जिल्ला सचिवालय सदस्य हुँदै ब्युरो सदस्य, ताम्सालिङ्ग क्षेत्र सदस्य, तामाङ मुक्ति मोर्चाको केन्द्रिय सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सदस्य, ताम्सालिङ्ग स्वायत्त प्रदेशको सदस्य थिईन् । केहि समय विरामी भएकाले उनी पार्टी काममा सक्रिय हुँदा हुदै उनि जिल्ला बाहिर थिईन् । लामो समय घर बाहिर रहेकाले अस्थायी बसोबास गरिरहेको स्थान पनौती ९ नौबिसेमा बसिरहेका बुबा आमालाई भेट्न घरमा आएका बखत प्रहरीको टोलीले पक्राउ गरेको हो । उनको परिवार भुकम्पले गाउँमा घर भत्काएपछि त्यहि बस्दै आएको छ । २०६९ सालमा बैद्य समुहसँग अलग भएकी सुन्तली ६ वर्ष देखि विप्लव समुहमा कृयाशिल थिईन् ।

दस्तावेज बरामद

पक्राउ परेकी जिल्ला सेक्रेटरीको घर र साथबाट प्रहरीले १७ थान पुस्तक बरामद गरेको छ । एकीकृत जनक्रान्ति, महिला हनी २ थान, अग्नि ज्वाला पत्रिका, विश्व प्रसिद्ध जनक्रान्तिहरु, माओत्सेतुङ्गका संकलित सैनिक रचनाहरु, विज्ञानका प्रमुख सिद्धान्तहरु, महान बहस, जनक्रान्ति लगायतका छन् । पार्टीका सदस्यता फाराम, परिचयपत्र, सामान्य खालका चारवटा, प्रेस विज्ञप्ती, चन्दा संकलनको प्याड, पत्र लगायतका सामाग्रिहरु बरामद गरेको छ ।

नेतृत्व हेरफेर

विप्लव समुहले जिल्लाका सबै कमिटीहरु हेरफेर गरेको छ । जिल्ला कमिटीको सेक्रेटरीमा लेखराज गजमेर ‘अग्रिम’ को स्थानमा सुन्तली थोकरलाई जिम्मेवारी दिईएको छ । जिल्ला कमिटीलाई छरितो बनाउँदै केहि नेताहरुलाई हटाईएको छ । पुराना केहि नेताहरुलाई त्यहि जिम्मेवारी दिईएको छ । रमेश नेपाली सहितका नेताहरुले पुरानै जिम्मेवारी प्राप्त गरेका छन् ।

कान्छा लामा, सागर मैनाली लगायतलाई जिल्लाको जिम्मेवारीबाट हटाईएको छ । विप्लब समुहले भातृ संगठनहरु सबैमा नेतृत्व परिवर्तन गरेको छ । दलित संघमा पुनः रमेश नेपाली चयन भएका छन् । उनले पुरानै जिम्मवारी नमोबुद्ध र धुलिखेल नगरपालिकाको इन्चार्जको समेत जिम्मेवारी प्राप्त गरेका छन् । प्रहरीले पक्राउ गरेका आसमान तामाङ जिल्ला सदस्य हुन् भने अनन्त थापा मगर काभ्रेको जिम्मेवारीमा छैनन ।

आक्रामक योजना

विप्लव समुहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ । जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरुलाई आब्हान गरेको छ । सदस्यता बृद्धीलाई तिब्र बनाएको छ । चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालन लगायतका कार्यमा कृयाशिल भएको जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए । राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि संचालन गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्