टेनिस संघमा कार्की अध्यक्ष



काठमाडौं, (नेस)।

ललितपुर जिल्ला टेनिस संघको साधारणसभाले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको छ। सोमबार सातदोबाटोस्थित संघकै कार्यालयमा भएको साधारणसभाले दीपककुमार कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

संघको प्रतिनिधिका रुपमा केन्द्रीय कोषाध्यक्ष सञ्जय अमात्य, ललितपुर जिल्ला खेलकुद विकास समितिका सुजन खतिवडाको नेतृत्वमा आएको निर्वाचन टोलीको उपस्थितिमा साधारणसभा सम्पन्न गरियो। संघमा दीपककुमार कार्कीले अध्यक्ष पदमा निरन्तता पाएका छन्।

यसैगरी उपाध्यक्षमा अजय विष्ट र कुलदीप विष्ट दुई जना चयन भएका छन्। कुलदीप विष्ट सदस्यबाट उपाध्यक्षमा बढुवा भएका हुन्। त्यस्तै गौरीशंकर श्रेष्ठ सचिवमा चयन हुँदा उजोल डंगोल कोषाध्यक्षमा चयन भए।

डंगोल यसअघिको नेतृत्वमा सदस्य पदमा थिए। अन्य सदस्यमा चयन हुनेमा ज्योती राणा, प्रमीता खड्का विष्ट, प्रवीण देवकोटा र सन्तोष खत्री छन्। देवकोटा नयाँ सदस्यको रुपमा संघमा प्रवेश भएका हुन्।

प्रतिक्रिया दिनुहोस्