अर्थमन्त्रीको पदसँग हौसियो शेयर बजार



परिवर्तन देवकोटा, काठमाडौं।

शेयर बजार सकारात्मक दिशामा अघि बढ्न थालेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिनै लाग्दा शेयर लगानीकर्ताहरू आकर्षित हुँदा बजार सुधारोन्मुख भएको सरोकारवालाहरूले बताएका छन्।

राष्ट्रिय सभा सदस्यसमेत रहेका अर्थमन्त्री खतिवडाको सांसद पद फागुनपछि सकिंँदै छ। सांसद नभएपछि मन्त्रीबाट हट्ने भन्दै लगानीकर्ता उत्साहित भएको लगानीकर्ताका अगुवाहरूको भनाइ छ। अर्थमन्त्री खतिवडाको पुँजी बजारलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको छवी चर्चामा आएपछि शेयर बजारमा नकरात्मक प्रभाव परेको थियो।

त्यस्तै नेपाल धितोपत्र बोर्डमा अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्तिपछि शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आशामा लगानीकर्ताहरू हौसिएका छन्। ढुंगानाले पदभार ग्रहण गर्दै शेयर बजारमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेपछि लगानीकर्ताहरू लगानी गर्न अग्रसर देखिएको विश्लेषकहरू बताउँछन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन नजिकिँदै गर्दा शेयर बजारमा उछाल आएको शेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले नेपाल समाचारपत्रसँग बताउनुभयो। उहाँका अनुसार अहिले लगानीका लागि लगानीकर्ता आकर्षित देखिनुमा अर्थमन्त्री डा. खतिवडाको बहिर्गमनको समय नजिकिनु प्रमुख कारण हो।

संयोजक ढकालले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना आउनुले पनि शेयर बजारमा वृद्धि ल्याएको बताउनुभयो।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता सहज भएको बताउँदै घरजग्गा र अन्य क्षेत्रमा जाने कर्जाभन्दा शेयर कर्जामा सहजता भएकाले लगानीकर्ता लगानीका लागि आकर्षित देखिएका छन्।

यस्तै नेपाल लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने हल्ला चल्न थालेपछि लगानीकर्ता उत्साहित देखिएको नेपाल समाचारपत्रसँग बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अर्थमन्त्रीको पटक–पटकको अभिव्यक्ति लगानीकर्ताको हित विपरित थियो, अब उहाँ जाने भएपछि लगानीकर्ता लगानीका लागि उन्मुख हुनु स्वभाविक हो।’

ढकालले जस्तै उहाँले पनि पछिल्लो समय बैंकमा तरलता भएको भन्दै यसबाट लगानीकर्तालाई लगानीको लागि सहज भएको उल्लेख गर्नुभयो।नेपाल धितोपत्र बोर्ड नवनियुक्त अध्यक्ष ढुंगानाले लगानीकर्ताको माग सम्बोधन गर्ने र बजारका समस्या सामाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाले शेयर बजारमा पछिल्लो समय उत्साह जागेको उहाँको भनाइ छ।

यस्तै लगानीकर्ताको मनोवल बिस्तारै बढ्दै गइरहेको छ। यस्तै अहिले लगानीयोग्य रकम बैंकमा फालाफाल भएको अवस्था छ। यसले पनि शेयर बजारमा लगानी बढ्न गएको उहाँको भनाइ छ। उहाँले अबको दिनमा भने बजार बढ्ने आशा लगानीकर्तामा पलाउन थालेको उहाँले बताउनुभयो।

यसैगरी लगानीकर्ता सिर्जना सुवेदीले पनि उस्तै भनाइ राख्नुभयो। अहिले ब्रोकर कार्यालयमा भिड निकै बाक्लो देखिएको बताउँदै यसमा बैंकमा तरलता सहज भएकाले शेयर बजारमा आकर्षण बढेको बताउनुभयो।

उहाँले अहिले विभिन्न समूहमा आकर्षण देखिएको बताउँदै तत्कालै बजार घट्ला जस्तो नलागेको धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने भन्ने कुरा चलिरहँदा लगानीकर्ता उत्साहित भएको बताउँदै उहाँले अर्थमन्त्रीका कारण शेयर बजारमा उतारचढाव आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्