सशस्त्र प्रहरीका लागि भवन अभाव



नेपाल समाचारपत्र, वीरगन्ज।

पर्सामा सशस्त्र प्रहरीका १ सय ४४ बीओपी (बोर्डर आउट पोस्ट)मा भवन अभाव देखिएको छ। जिल्लाको पाँच वटा स्थानमा नयाँ बीओपी स्थापना गरिएको छ। छिपहरमाई, धोबिनी, जगरनाथपुर, जिराभवानी र ठोरी गाउँपालिकामा बीओपी प्रस्ताव गरिएको छ ।

छिपहरमाई–१ मिर्जापुरमा एक महिनाभित्रै स्थापना गर्न सशस्त्र प्रहरी मुख्यालयले सीमा सुरक्षा कार्यालयलाई निर्देशन दिएको स्रोत बताउँछ । तर त्यहाँ पोस्ट बनाउन जोडतोड साथ जग्गा खोजिए पनि टुंगो लागिसकेको छैन ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले मिर्जापुरमा ३ बिघा ऐलानी जग्गा फेला परेको बताउनुभयो । उक्त जग्गाको विषयमा कुरा भइरहेको बताउनुभयो।

जिल्लामा सशस्त्र प्रहरी आएको १२ वर्ष बितिसक्दा पनि यसका अधिकांश इकाइसँग आफ्नै भवन छैन । सीमा सुरक्षा जिल्ला कार्यालय नै गत वर्ष वीरगन्ज चिनी कारखानाको जग्गामा भवन बनाइएको बताइएको छ। यसबाहेक बीओपी अलौंको आफ्नै ७ कठ्ठामा बनेको भवन छ ।

पकाहामैनपुर गाउँपालिकामा बीओपी सबै ठाउँको ५ कठ्ठा ३ धुर जग्गा छ । यी जग्गा पनि सम्बद्ध पालिका तथा स्थानीयको सहयोगमा उपलब्ध भएका हुन् । अधिकांश स्थानमा नारायणी सिँचाइ आयोजना, वीरगन्ज चिनी कारखानाजस्ता प्रयोगविहीन सरकारी भवनमा सशस्त्रका इकाइ राखिएका छन् ।

बीओपी छपकैया जिल्ला शिक्षा समन्वय समितिको भवनमा छ । जिल्लामा वीरगन्ज–३ छपकैया, वीरगन्ज–२६ सुगौलीवीर्ता, बिन्दवासिनी–३ इटियाही, पकाहामैनपुर–३, पकाहामैनपुर–५ सबैठवा, छिपहरमाई–४ बन्जारी, धोबिनी–२ भिखमपुर, ठोरी–५ गडुवालाइन र ठोरी–२ मा गरी ९ वटा बिओपी सञ्चालित छन्।

यसबाहेक सशस्त्र प्रहरीकै वीरगन्ज कारागार, वीरगन्ज, बेल्वा, बहुअर्वाभाठा, बागेश्वरी तित्रौना र पोखरियामा गरी आधा दर्जन बेस सञ्चालनमा छन् ।

कारागार बेस वीरगन्ज कारागार भवनमा, वीरगन्ज बेस जिल्ला प्रशासन कार्यालय, बेलवा बेस पशु सेवा विकास केन्द्र, बहुअर्वाभाठा बेस कृषि कार्यालय, बागेश्वरी तित्रौना बेस सिँचाइ कार्यालय र पोखरिया बेस पोखरिया विद्युत् शाखा कार्यालयको भवनमा रहेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्