अलैंचीले गौमुखीका बाँझो जमिन हराभरा



नेपाल समाचारपत्र, प्युठान।

गौमुखी गाउँपालिका–५ छापे गाउँका रुमानसिंह कुँवर एक दशकदेखि व्यावसायिक अलैंची खेतीमा रमाइरहनुभएको छ। उहाँले खाद्यान्न बाली छोडेर व्यावसायिक रूपमा अलैंची खेती गर्नुभएको हो। अहिले उहाँको १० रोपनी जमिनमा अलैंची नर्सरी, पाखोबारीमा अलैंचीका बोट हराभरा छन्।

उहाँले अलैंचीबाट वर्षेनी राम्रो लाभ लिइरहनुभएको छ। २०६६ सालमा अलैंचीका बिरुवा लगाउँदा नाक खुम्चाउनेसमेत हिजोआज कुँवरले अलैंचीबाट आम्दानी लिएको देखेर लोभिएका छन्। कँुवरले ०६९ सालदेखि अलैची खेती व्यवसायिक रुपमा गर्न थालेको बताउनुभयो।

‘शुरुमा १ सय वटा बिरुवा लिएर खेती सुरु गरेको हुँ,उहाँले भन्नुभयो– ‘गतवर्ष करिब ५ लाखजति अलैचीका बिरुवा बिक्री गर्न सफल भए।’ शुरुमा २० रुपियाँप्रति बिरुवा खरिद गरी शुरु गरेको अलैची खेती बाझो बारीमा राम्रो फस्टाएको छ। अलैची खेती बिस्तारका लागि जिल्ला कृषि विकास कार्यालयबाट शुरुमा नर्सरी बनाउन सहयोग पाएपनि शुरुका वर्ष उहाँलाई उपलब्धि हात परेन।

‘त्यो वर्ष अनुभव मात्रै बटुले, कुँवरले भन्नुभयो– ‘तर निराश भईन, निरन्तर खेती गरिरहें अहिल राम्रो भएको छ।’ नर्सरीमा अहिले अलैंचीका करिब ५ लाख बेर्ना छन्। उहाँले प्रतिबेर्ना १० रुपियाँमा विक्री गर्ने बताउनुभयो। अलैचीको दानाको मूल्य हरेक वर्ष घटबढ हुने भए पनि कृषक रुमानसिंह कुँवर शुरुमा २ हजार ५ सय रुपियाँ प्रतिकिलो अलैची बिक्री गर्नुभएको थियो।

गौमुखी गाउँपालिकाभर अलैंची खेती बिस्तार हुँदा गाउँका किसान पनि हर्षित छन्। झाँडी, चिस्यान भएको ठाउँ र खेर गएको पाखोमा उत्पादन हुने भएकाले अलंैची खेतीमा यस भेगका कृषक होमिएका छन्।

यो खेतीमा बिरुवा र दाना दुबै बिक्री हुने भएकाले उहाँसहित गाउँका अन्य कृषक पनि खेतीमा पल्किएका छन्। यो अलैची खेती एक पटक लगाएपछि १०/१५ वर्षसम्म लगातार उत्पादन दिन्छ।

बिरुवा रोपेको करिब ३ वर्षपछि यसले उत्पादन दिने हुँदा किसान खुसी छन्। किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम केयूबीके मार्फत प्युठान उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत ३ लाख रुपियाँ आर्थिक सहयोग पाएपछि त्यसले उहाँलाई अझ हौस्यायो।

यस क्षेत्रमा उत्पादन हुने अलैंची दाङ हुँदै नेपालगन्जसम्म पुग्ने गरेको छ। यो ठाउँमा पकेट बिस्तार हँुदै अहिले ब्लक निर्माणको कामसमेत भइरहेको छ। जसका लागि ५ नं प्रदेश कार्यालयको समेत सहयोग छ।

अलैंची खेतीका लागि खुङ क्षेत्रमा राम्रो सम्भावना रहेको र त्यहाँको माटो, हावापानी अलैंची खेतीका लागि सुहाउँदो भएको कृषि विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्