विकासमा साझा जिम्मेवारीसहित अगाडि बढौं : रेग्मी



नेपाल समाचारपत्र, स्याङ्जा।

गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विकास निर्माणमा साझा जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने बताउनुभएको छ। वालिङ नगरपालिकाको सातौं नगरसभाको उद्घाटन गर्नुहुँदै विधायन समिति सभापति रेग्मीले राजनीतिभन्दा माथि उठेर विकास निर्माणका कार्यमा आ–आफ्नो दायित्व सम्झेर जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको हो।

‘जनताले राजनीतिक दलहरूबाट धेरै आशा र अपेक्षा राख्नुभएको छ, सभापति रेग्मीले भन्नुभयो– ‘जनताले राजनीतिक दलमाथि गरेको विश्वासलाई मर्न नदिन र विकास निर्माणसँगै समृद्धिको पाटोलाई उकास्नका लागि सबैको सामूहिक प्रतिबद्धता आवश्यक छ।’

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दीपक चर्तीमगरले निर्वाचनका बेला जनतामाझ गरिएका वाचाहरू पूरा गर्ने बेला आएको बताउँदै अब योजनाहरू जनमुखी र जनताले अपेक्षा गरे अनुसारका हुनुपर्नेमा जोड दिनुभयो। नगर प्रमुख दिलीपप्रताप खाँणले सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बाध्यता रहेकाले योजनाहरू छनौट गर्दा प्राथमिकताका आधारमा गर्न सुझाव दिनुभयो।

उहाँले वालिङ नगरपालिकालाई स्मार्ट नगरपालिकाको रुपमा घोषणा गरी काम थालेको बताउँदै यसलाई पूरा गर्न समय लाग्ने भएकाले प्रदेश सरकार, संघीय सरकारले पनि आवश्यक सहयोग गर्न जरुरी रहेको बताउनुभयो।

जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगाले, वालिङ नगरपालिकाका पूर्वनगरप्रमुख एवं सल्लाहकार लालचन्द्र गैह्रे, सल्लाहकार लक्ष्मीकान्त रेग्मीले वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि सबै तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

हिउँदे नगरसभामा–१ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले, वडा नं १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठक, वडा नं १४ का वडा सदस्य टेकबहादुर दर्लामीलगायतले सातौं नगरसभाले पारित गरेका ऐनहरूको कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सातौं नगरसभामा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले आर्थिक वर्ष २०७६÷०७७ को संशोधित पूरक बजेट प्रस्ताव गर्नुभएको थियो।गत असारमा सम्पन्न छैटौं नगरसभामार्फत् स्वीकृत आयव्ययको अनुमानित बजेट ६५ करोड ६७ लाख ५७ हजार रहेकोमा सातौं नगरसभामार्फत १७ करोड ८ लाख ७९ हजार ५४ रुपियाँ थप गरी कूल ८२ करोड २१ लाख ३६ हजार ५४ रुपियाँको संशोधित आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

थप गरिएको बजेटमा गत वर्षको ४ करोड २३ लाख ७२ हजार ५४ सहित सशर्त अनुदान १ करोड ४४ लाख ७ हजार, सडक बोर्ड नेपालबाट प्राप्त ४७ लाख, संघीय सरकार समपूरक अनुदानमार्फत १ करोड ६० लाख, संघीय सरकार विशेष अनुदानमार्फत ३ करोड ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानमार्फत १ करोड, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत ३ करोड ५४ लाख ६० हजार, पर्यटन पूर्वाधार विकासका लागि २५ लाख, गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत प्राप्त २७ लाख, औद्योगिकग्राम निर्माण पूर्वाधार विकास कार्यक्रमका लागि ९२ लाख गरी कूल १७ करोड ८ लाख ७९ हजार ५४ रुपियाँ थप संशोधित आयव्यय बजेट सार्वजनिक भएको हो।

यसैबीच सातौं नगरसभाले नगरपालिकाको स्थानीय बजार अनुगमन ऐन २०७६, वालिङ नगरपालिकाको संस्था दर्ता ऐन २०७६, वालिङ नगरपालिकाको पूर्वाधार व्यवस्थापन ऐन २०७६ पारित गरेको छ भने वालिङ नगरपालिकाको शिक्षा ऐन र सहकारी ऐन परिमार्जनसहित पारित भएको छ।

त्यस्तै नगरसभाले नगर सुशासन ऐन निर्माणका लागि नगरसभा सदस्य अर्जुनप्रकाश अर्यालको संयोजकत्वमा टेकबहादुर दर्लामी, मैना कोईराला, अरुणा झेडी र मनबहादुर गुरुङ सदस्य रहने गरी नगर सुशासन समिति गठन गरेको छ।

नगरसभाले संगठन र व्यवस्थापन ऐन बनाउने तयारी गरेको छ। नगरप्रमुख एवं नगरसभाका अध्यक्ष दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न सातौं नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्