स्वागतद्वारको निर्माण कार्य स्थगित



नेपाल समाचारपत्र, लहान।

सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडी बजारनजिकै भारतीय भन्सार कार्यालयले निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरेको छ।

भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालक सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य दशगजाभित्रै परेको पाइएपछि निर्माण कार्य स्थगित गरिएको हो।

मिडप्वाइन्टबाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६ दशमलव १ भित्रै रहेको थियो। ‘नेपाल–भारत संयुक्त सीमा सर्वे टोलीले सर्वे गरेपछि उक्त निर्माण कार्य दशगजामै परेको पाइएको छ’, सशस्त्र प्रहरी सिरहाका प्रमुख (एसपी) प्रवीण कँडेलले भन्नुभयो– ‘विवादको अन्तिम निक्र्योल नभएसम्मका लागि काम स्थगित गरेको छ।’

दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्ट हुने उहाँले बताउनुभयो।एक हप्ता अगाडिदेखि भारतीय भन्सार कार्यालयले स्वागतद्वार निर्माण गर्न थालेको थियो।

स्थानीयले विरोध गरेपछि प्रशासनले चासो देखाएको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराई सर्वे टोली मगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्