तरुल खन्न किसानलाई चटारो



नेपाल समाचारपत्र, सर्लाही।

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ। गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो।राजघाट, हजरिया, शंकरपुर, बागमतीका किसान दिनभरि तरुल खन्नमा व्यस्त हुने गरेका छन्।

माघे सङ्क्रान्ति सकिएपछि तरुलको भाउ घट्ने भएकाले यही समयमा तरुल बिक्री गरिसक्नुपर्ने राजघाटका किसान दानबहादुर थापाले बताउनुभयो। विगतका वर्षको तुलनामा यस वर्ष सर्लाहीमा उत्पादन भएको तरुलले राम्रो मूल्य पाएपछि किसान खुसी भएका छन्। यहाँका किसानले २०५५ सालदेखि व्यावसायिक तरुल खेती गर्दै आएका स्थानीय विष्णु पुलामीले बताउनुभयो।

‘२०५० सालमा बागमती नदीमा आएको बाढीले खेतमा बालुवा बगाएर ल्यायो’, उहाँले भन्नुभयो– ‘बालुवा भएकै कारण किसानले यहाँ तरुल खेती गर्न थालेका हुन्, अन्य बालीको तुलनामा तरुल खेती राम्रो छ।’ किसानले तरुलसँगै मकै खेती पनि लगाउने गरेका छन्। दुई बाली एकै ठाउँमा हुने भएपछि तरुल खेती गर्ने किसानको संख्या बढेको स्थानीय बताउँछन्।

गत वर्ष ४० देखि ५० रुपियाँसम्ममा बिक्री भएको तरुल यस वर्ष प्रतिकिलो ६० देखि ७० रुपियाँसम्ममा किसानले बारीबाटै बिक्री गरिरहेका छन्। कुनै बेला बिक्री नभएर घरमै थन्क्याउनुपरेको तरुल व्यापारीले खेतमै गएर किनिदिएपछि किसान खुसी भएका स्थानीयको भनाइ छ।

बालुवा मिसिएको दोमट माटोमा प्रतिकठ्ठा ८ क्विन्टलसम्म तरुल उत्पादन हुने जगत सिवाकोटीले बताउनुभयो। ‘यहाँ रातो र सेतो जातको तरुल हुन्छ’, उहाँले भन्नुभयो– ‘उत्पादनको हिसाबले रातो तरुल बढी हुन्छ तर सेतो जातको तरुल धेरै बिक्री हुन्छ।’

किसानले एउटै तरुलको बोटबाट ६ फिटसम्म लामो र १२ किलोसम्म तौल भएको तरुल फलाउने गरेका छन्। अन्य बालीको तुलनामा तरुल खेतीमा कम लगानी र थोरै मेहनतमा पनि राम्रो आम्दानी हुने किसान बताउँछन्।

सर्लाहीमा उत्पादन भएको तरुल नारायणगढ, पोखरा, काठमाडौंलगायतका ठूला व्यापारिक केन्द्रमा बिक्री हुने गरेको छ। यहाँका किसानले अहिले व्यवसायिकरूपमा करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ। यहाँका किसानले मुख्य गरी सर्लाही रातो, सर्लाही सेतो, मकवानपुरे पताले र जाँते जातको तरुलको खेती गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्