उपसभामुखको चट्टानी अडान 



सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख चयन गर्न रस्साकस्सी छ। शीर्ष नेतृत्वको आ–आफ्नै अडानका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुनसकेको छैन। सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा तेस्रो पटक संसद् बैठक स्थगित भएको छ।
पूर्वसभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि पुर्पक्षका लागि थुनामा गएसँगै यता प्रतिनिधिसभाको सभामुख पद रिक्त छ। उनको मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ। काठमाडौँ जिल्ला अदालतमा उनी अन्तिम फैसलाका लागि धाइरहेका छन्।
यता बाहिरभने नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षसहित सचिवालय बैठकले समेत सभामुखको उम्मेदवार छान्न लामो संर्घषमा छन्।अझै सभामुख कसलाई बनाउने भन्ने बारेमा दुई अध्यक्षबीच अन्तिम निर्णय भई नसकेको स्रोत बताउँछ। सभामुखका लागिपूर्वसभामुख सुवास नेम्वाङ,अग्नि सापकोटा, पुष्पा भुसाललगायतको नाम चर्चामा छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यससम्बन्धमा निर्णय गर्न नसक्दा एकातिर पार्टीभित्र शक्तिसंघर्ष चरम सीमामा पुगेको छ भने अर्कातिर संसद्लाई अनिर्णयको बन्दी बनाएको भन्दै आलोचना भइरहेको छ।

यसैगरी सभामुखका सम्बन्धमा नेकपाले निर्णय गर्न नसक्दा संसद्को हिउँदे अधिवेशनका बैठकहरू सूचना टाँस गरेर सारिराख्नुपर्ने नियतिबाट गुज्रिराखेका छन्। आन्तरिक शक्तिसंघर्षका कारण नेकपाले सभामुखमा अघि सार्ने व्यक्तिको टुंगो लगाउन सकिरहेको छैन।

पछिल्लो पटक पार्टी सञ्चालनको जिम्मेवारी पाएका अध्यक्ष पु्ष्पकमल दाहाल (प्रचण्ड) नै पार्टीका गुटगत भेलामा सहभागी हुन थालेपछि पार्टीभित्र यसले प्रभाव पारेको कतिपयको विश्लेषण छ।

यसै बीच नेकपाले सभामुख चयन प्रक्रिया अगाडि बढाउन उपसभामुख बनेकी डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामाका लागि निर्देशन दिएको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीबाट चयन हुन नपाउने प्रावधानका कारण नेकपाले सभामुख पद लिएर उपभामुख अन्य दललाई दिन उनको राजीनामा मागेको हो।

शनिबारको नेकपा केन्द्रीय सचिवालय बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन भन्दै तत्काल उपसभामुख पदबाट राजीनामा दिन निर्देशन दिएको २४ घण्टा बित्न नपाउँदै त्यसको खुला अवज्ञामा उत्रिएकी डा. तुम्बाहाम्फेलाई आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘परामर्श गर्न’ बालुवाटार बोलाएका थिए।
राजनीतिक वृत्त, सामाजिक सञ्जाल र संवैधानिक विज्ञहरूबाट आफ्नो अडानका कारण प्रशंसा पाउन थालेकी तुम्बाहाम्फेले निर्देशन नमान्ने तर अनुरोधमा चाहिँ लचिलो बन्ने कुरा बताउँदै आएकी छिन्।
उता सभामुखका विषयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीको निर्देशनलाई चुनौती दिँदै राजीनामा गर्न अस्वीकार गरेको विषयमा पनि पार्टीभित्र टीकाटिप्पणी हुन थालेको छ। तर राजीनामा नदिने उपसभामुखको अडान पनि जायज मान्न सकिन्छ।

किनकि सत्तारुढ दलबाट नै यदि सभामुख बनाइने हो भने उनलाई नै स्वतः सभामुख बनाउन पनि त सकिन्छ। पुरुषवादी चिन्तनले जेलिएको नेपाली समाजमा कहिलेसम्म महिला यसरी नै पछि परिरहने ? हुन त सत्तारुढ दल नेकपाभित्र थुपै्र महिला नेतृहरू अरू बेला सामान्य विषयमा समेत आफ्ना क्रान्तिकारी धारणाहरू ओकलिरहन्छन्।

तरयतिबेला भने यो संघर्षको लडाइँमा उनी एक्लै लडिरहेकी छिन्। यस्तैचट्टानी अडानकै कारण उनलाई प्रायः प्रशंसा मिली पनि रहेछ। यो अडानकै उनी एक सशक्त महिला नेतृको रूपमा देखा परेकी छिन्। आगामी दिनमा पनि यस्तै जायज काममा आफ्नो आवाज बुलन्द गर्न सकून्, शुभकामना।

देवेन्द्र सिलाल
कोहलपुर

प्रतिक्रिया दिनुहोस्