फिल्म क्षेत्रको नियत



पत्रकार डीबी खड्काद्वारा लिखित पुस्तक नियत राजधानीमा सोमबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।पत्रकार खड्काले पुस्तकमा आफ्नो पत्रकारिताको क्रममा देखेको रंगीन दुनियाँको अँध्यारो पाटोलाई उजागर गर्न खोजेको बताए।

उनले नेपाली मनोरञ्जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको समेत उल्लेख कार्यक्रममा गरे। उनले यो क्षेत्र पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि कहालीलाग्दो रहेको निष्कर्ष सुनाए।

‘सीमित महिलाबाहेक यस क्षेत्रमा लागेका अधिकांशको अनुहारमा देखिने हाँसोभित्र छुट्टै पीडा रहेको पाएको छु।’ –उनको भनाइ छ। पुस्तक पत्रकार खड्काका साथ अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा र पत्रकार नारायण अमृतले संयुक्तरूपमा सार्वजनिक गरे।

पुस्तक विमोचन समारोहमा अभिनेत्री रेखाले पुस्तक मन परेको चर्चा गर्दै भनिन्– ‘जतिपटक किताब पढ्यो, उति मजा लाग्यो। फिल्म बनाऊँजस्तो लाग्यो। पढ्दै जाँदा रुचिपूर्ण कथा लाग्यो।’

उनले फिल्म क्षेत्रमा केही मानिसको गलत नियतका कारण प्रतिभा भएका कलाकार पलायन भएको चर्चा गर्दै भनिन्– ‘त्यसो भनेर फिल्म क्षेत्रमा महिलामात्र पीडित छैनन्, यो क्षेत्रमा पुरुष पनि पीडित र शोषित छन्।’

अभिनेत्री स्वस्तिमाले पुस्तकले आफूलाई गहिरोसँग तानेको बताइन्। ‘म कहिल्यै किताब नपढ्ने मान्छे, घर जानेबित्तिकै पढें। धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुव्र्यवहार भोग्नुपरेन।’

अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा फिल्म क्षेत्रको वास्तविकता उल्लेख गरिएको बताइन्। पत्रकार नारायण अमृतले यस्ता विषयमा कमै लेखिएको र खड्काले मीठो भाषामा फिल्म क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए।

प्रतिक्रिया दिनुहोस्