मौलिक बाजाका साथमा वाद्यवृन्द



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले २९८औं पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आइतबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हाम्रो बाजा ः हाम्रै धुन वाद्यवृन्द आयोजना गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न १६ मौलिक धुन प्रस्तुत गरिएका थिए। १७ जना सारंगी वादक तथा अन्य वाद्यवादक र कोरससमेत गरी करिब ४० जना कलाकारले नेपालमा प्रचलित मौलिक धुनलाई सारंगीमा रेटेर मञ्चमा प्रस्तुत गरेका थिए।

विभिन्न नेपाली भेषभूषामा सजिएका कलाकारले मंगल धुन बजाई शुभारम्भ गरिएको कार्यक्रममा क्रमैसँग नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, सोरठी, असारे भाका, मैथिली भाका, कौडा भाका, सिरसया हेकुभाका, संगिनी धुन, पञ्चेबाजामा पूर्वेली लोक भाका, टुंगनामा हेल्मो लोक भाकाका धुन प्रस्तुत गरिएका थिए।

त्यसपश्चात् धिमाल, साकेला, म्हेन्दोमाया, थकाली र देउडा धुन मिश्रण गरी प्रस्तुत गरिँदा दर्शक पनि धुनसँग मस्त भएका थिए।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली लोक बाजाको संरक्षणका लागि प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको बताए।

त्यसै गरी संस्कृति मन्त्री योगेश भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्दै मौलिक लोकबाजाका माध्यमबाट विविधताले भरिपूर्ण नेपाललाई एकताबद्ध गर्न सघाउने चर्चा गरे। पृथ्वी जयन्तीकै अवसरमा कार्यक्रम आयोजना गर्नाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विविधतायुक्त आधुनिक नेपाल निर्माण गर्न पुर्याउनुभएको योगदानको पनि कदर भएको उनले बताए।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं कार्यक्रमका संयोजक अशोककुमार राईको संयोजनमा सम्पन्न कार्यक्रममा भरत नेपाली, धर्म गन्धर्व, अरूणा गन्धर्व, सन्तोष पाठक, सञ्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, डेनियल क्रिस्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, खुम केसी, किम राई, सबिन लिम्बू, विकल खड्का, तुलसीप्रसाद नेपाल, जापानी नागरिक प्रो. चिकारा मेइदा सारंगी वादकका रूपमा थिए भने बाँसुरीमा रत्न विक, सनाहीमा धनबहादुर गुरुङ, ताल वादनमा जीवन राई, अनील थापा, पोषण घर्ती र राम मगराती थिए।

प्रतिक्रिया दिनुहोस्