मुसर्रफको मृत्युदण्ड रद्द



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको लाहौर उच्च अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाउने विशेष अदालतलाई गैरकानुनी भएको फैसला दिएको छ।अदालतको फुलबेन्चले उक्त फैसला सोमबार पूर्वजनरल परवेज मुसर्रफको याचिकामा सुनाएको थियो। उनले विशेष अदालतको फैसलालाई चुनौती दिएको थियो।

पत्रकार अब्दुल हकका अनुसार अदालते आफ्नो फैसलामा विशेष अदालतको सम्पूर्ण कारबाही पनि रद्द गरेको छ। महान्यायधिवक्ता इस्तियाक ए खानले यो फैसलापछि मुसर्रफको सजाय पनि समाप्त भएको बताए।

डिसेम्बर १७ मा उक्त विशेष अदालतले पूर्व राष्ट्रपति मुसर्रफलाई देशद्रोहमा दोषी ठहर्याउँदै पाकिस्तानको संविधानको अनुच्छेद ५ अन्तर्गत मृत्युदण्ड दिन आदेश दिएको थियो।उच्च अदालतले आफ्नो फैसलामा विशेष अदालतले कानुनी आवश्यकता पूरा नगरेको र उनीविरुद्ध मुद्दा दर्ता गर्ने विषयमा कुनै सरकारी निकायसँग अनुमति नलिएको उल्लेख गरेको छ।

१८औं संशोधनअनुसार संविधानको आर्टिकल ६ मा जुन परिवर्तन भएको थियो, त्योअनुसार यस प्रकारको पैmसला दिन सकिँदैन।
साथै कुनै पनि अभियुक्तको गैर उपस्थितिमा सुनवाइ गर्नु गैर इस्लामी, गैर कानुनी र गैर संवैधानिक भएको जनाएको छ।

न्यायाधीश मुहाहिर अली नकवीको नेतृत्वमा लाहौर हाईकोर्टका तीन सदस्यिय बेन्चमा न्यायधीश अमीर भट्टी र जस्टिस मसुद जहांगिर समावेश थिए।

यो फुल बेन्चको गठन गत महिना अवकाश पाएका उच्च अदालतका मुख्य न्यायाधँश सरदार समिम अहमद खानले गठन गरेको थियो। लाहौर उच्च अदालते फैसलाको पूर्ण विवरणपछि जारी गर्नेछ।

अदालतमा परवेज मुसर्रफका तर्फबाट दायर गरिएको याचिकामा विशेष अदालतको फैसला अनियमितता र बिरोधाभास पूर्ण रहेको उल्लेख गरिएको थियो।

विशेष अदालतका न्यायधीशले जसरी टिप्पणी गरेका थिए, त्यसले उनको मुसर्रफसँग व्यक्तिगत पूर्वाग्रह, शत्रुतापूर्ण रहेको महसुस भएको याचिकामा उल्लेख छ।अपिलमा विशेष अदालतको गठनलाई पनि चुनौती दिएको थियो।

प्रतिक्रिया दिनुहोस्