लिभरपुलको नयाँ कीर्तिमान



लन्डन, (एजेन्सी)।

मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिँदै नयाँ कीर्तिमान रचेको छ।शनिबार राति टोटनह्याम हट्सपरलाई उसैको मैदानमा १–० ले पराजित गर्दै लिभरपुलले अपराजित यात्रालाई कायम राखेको हो। यससँगै लिभरपुलले क्लबको १ सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट शुरुआत गर्ने नयाँ कीर्तिमान बनायो।

जारी सिजनमा लिभरपुलले २१ मध्ये २० खेलमा जित हात पारेको छ। टोलीले एक खेलमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ।
तसँगै लिभरपुलले अंकतालिकामा दोस्रो स्थानको लेस्टर सिटीसँग १६ अंकको अग्रता लिँदैं उपाधि यात्रालाई थप बलियो बनाएको छ। जारी सिजनमा लिभरपुलले २१ खेलबाट ६१ अंक भएको छ। दुई खेल बढी खेलेको लेस्टरको ४५ अंक रहेको छ।

लिभरपुलको जितमा ब्राजिली फरवार्ड रोबर्टाे फर्मिनोले पहिलो हाफमा गरेको गोल नै निर्णायक साबित बनेको थियो। उनले खेलको ३७औं मिनेटमा मोहमद सलाहको पासमा गोल गर्न सफल भएका थिए। पराजितसँगैं टोटेनह्याम ३० अंक लिएर आठौं स्थानमा रहेको छ।

त्यस्तै उच्च प्रदर्शन गरिरहेको लेस्टरले घरेलु मैदानमै साउथह्याम्पटनसँग २–१ ले हार बहोर्दा लिभरपुलसँग अंकको दुरी छोट्याउन असफल भएको थियो। जितसँगै साउथह्याम्पटन २८ अंक जोडेर १२औं स्थानमा रहेको छ।यससँगै साउथह्याम्पटनले पहिलो चरणमा ९–० गोलअन्तरको लज्जास्पद हार बेहोरेकोे बदलासमेत लिन सफल भएको छ।

लेस्टरले गत अक्टोबरमा भएको खेलमा उक्त प्रतिद्वन्द्वीलाई उसैको मैदानमा ९–० ले हराएको थियो।शनिबार राति भएको अन्य खेलअन्तर्गत् म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा नर्विच सिटीलाई ४–० गोलअन्तरले हरायो।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मार्कुस रास्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियल र मासान ग्रीनवुडले एक–एक गोल गरेका थिए। जितसँगै टोलीले २२ खेलबाट ३४ अंक जोडेको छ। पराजित नर्विच १४ अंकसहित रेलिगेसन क्षेत्रमा रहेको छ।

त्यसैगरी बर्नलीलाई ३–० ले हराएर लन्डन क्लब चेल्सीले चौथो स्थानलाई निरन्तरता दिएको छ। जितसँगै चेल्सीले २२ खेलबाट ३९ अंक जोडेको छ भने हारपछि बर्नलीको २४ अंक छ। घरेलु मैदान स्टामफोर्डमा टोलीलाई जित दिलाउन जर्गिन्हो, टम्मी अब्राहम र कलुम हड्सन ओडोइले गोल गरे।

प्रतिक्रिया दिनुहोस्