फ्रेन्डस्सँग थ्रीस्टार स्तब्ध



नेपाल समाचारपत्र, काठमाडौं।

जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा उपाधि दावेदारमध्ये एक टोली थ्रीस्टार क्लब आइतबार स्तब्ध भएको छ। दशरथ रंगशालामा भएको छैठौं चरणको खेलमा थ्रीस्टारले फ्रेन्डस् क्लबसँग १–० को हार बेहोरेको हो।

फ्रेन्डस्लाई जित दिलाउन वाग्नर डी कार्मोले १३औं मिनेटमा गरेको गोल नै पर्याप्त भएको थियो। यो फ्रेन्डस्को जारी लिगमा पहिलो जितसमेत हो। टोली ५ अंकसहित ११औं स्थानमा उक्लेको छ। तर थ्रीस्टारका लागि यो हारले ६ खेलपछि १० अंकमै सीमित बनाएको छ।

टोली चौथो स्थानमा रहेको छ।यसैगरी अर्को खेलमा पुछारमा रहेको सरस्वती युवा क्लबले पहिलो अंक जोड्न सफल भयो। अघिल्ला ५ खेलमा हार बेहोरेको सरस्वतीले ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो।

योसँगै सरस्वतीको १ अंक भएको छ भने ब्रिगेड ब्वाइजको ७ अंक बनेको छ। टोली आठौं स्थानमा रहेको छ। सरस्वतीका लागि तीर्थबहादुर बस्नेतले ८०औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमाएका थिए। उनले गोलपोस्ट नजिक पाएको बललाई प्रहार गर्दा पोस्टमाथि बल गएको थियो।

प्रतिक्रिया दिनुहोस्