समुद्री आँधीमा एघारको मृत्यु



वासिंगटन, (एजेन्सी)।

भीषण वर्षासँगै दक्षिणी अमेरिकामा आएको तीव्र गतिको आँधीको कारण कम्तीमा ११ जना मानिसको ज्यान गइसकेको अमेरिकी सञ्चार माध्यमले आइतबार जनाएको छ। अलावामा, लुजियाना र टेक्सास राज्यमा ती व्यक्तिहरूको ज्यान गएको बताइएको छ।

आँधीकै कारण विद्युत आपूर्ति रोकिएपछि हजारौं मानिसको जीवन शैली प्रभावित भएको छ। यस दैवी प्रकोपका कारण थुपै्र घरहरू क्षतिग्रस्त हुनाका साथै सडकहरूमा बाढी पसेको छ।

शनिबार अमेरिकाका थुप्रै स्थानमा समुद्री आँधीको चेतावनी दिएपनि अलावामामा सबैभन्दा खतरा रहेको बताइएको थियो।यसले मध्य पश्चिमी अमेरिकामा हिम आँधीसमेत निम्त्याएको छ।

शनिबार सिकागोका दुई वटा प्रमुख विमानस्थलमा खराब मौसमकै कारण सयौं उडान रद्द गर्नुपरेको थियो। लुजियानाको प्रहरी कार्यालयका अनुसार आँधीले घुम्ती घर क्षतिग्रस्त गर्दा शुक्रबार एक वृद्ध दम्पतीको मृत्यु भएको जनाएको छ।

ती दम्पतीका तीन वटा कुकुर अझैं बेपत्ता छन्। सोहि राज्यमा आफ्नो घरमाथि रुख ढल्दा अर्को एक पुरुषको पनि मृत्यु भएको छ। यसैगरी राष्ट्रिय मौसम सेवाले अलावामाको पिकेन्स काउन्टिमा तीन जना मानिसको ज्यान गएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्