ताइवानका राष्ट्रपति त्साइलाई दोस्रो कार्यकाल



ताइपेइ, (एजेन्सी)।

ताइवानका राष्ट्रपति त्साइ इर्ङ वेनले दोस्रो कार्यकालका लागि आइतबार चुनाव जितेकी छन्। यस चुनावमा चीनसँग सुमधुर सम्बन्ध नराख्नेहरूले बहुमत ल्याएको छ। त्साइले आफ्नो प्रतिद्वन्द्वी हान कुओलाई निकै पछाडि पारेर कुल खसेको मतको ५७ प्रतिशत अर्थात् ८२ लाख मत हासिल गर्न सफल भएको निर्वाचन आयोगले जनाएको छ।

त्साइले चीनसँगको निकट सम्बन्धको विरोध गदै आएकी थिइन्। हानले भने चीनसँगको सुमधुर समबन्धले आर्थिक फाइदा लिन सकिने बताउँदै आएका थिए। आफ्नो विजय भाषणमा त्साइले चीनलाई जबरजस्ती ताइवान हडप्ने डर धम्की नदिन आग्रह गरेकी छिन्।

उनले पत्रकार सम्मेलनमा भनेकी छन्– ‘ताइवानले विश्वलाई हामी आफ्नो प्रजातान्त्रिक ढंगको जीवन शैलीबाट कति रमाइरहेका छांै भनी देखाइरहेका छौं।’ सन् १०४९ मा चीनको गृहयुद्धको अन्त्य भएदेखि नै चीनले ताइवानको सार्वभौम माथिको स्वामित्व दाबी गर्दै आएको हो।

चीनले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर भए पनि अन्तत ताइवानलाई चीनको भू–भागमा गाभिने बताउँदै आएको छ।राजधानी ताइपेइमा त्साइले भनेकी छन्– ‘शानितको अर्थ भनेकै चीनले ताइवानमाथि बल प्रयोग गर्ने धम्की छोड्नुपर्छ।

साथै म आशा गर्दछु कि हाम्रो प्रजातान्त्रिक सरकार र प्रजातान्त्रिक ताइवानले कुनै डर धम्की र हस्तक्षेप स्वीकार्दैन भनी बेइजिङले बुझेको छ। ’
त्साइको अत्यधिक बहुमतसहितको चुनावी विजय चीनको लागि ठूलो धक्का सावित भएको छ।

यसबाट ताइवानी जनता बेइजिङको ग्रेटर चाइना नीतिको विरुद्ध रहेको प्रमाणित भएको छ। हुन त पछिल्ला समयमा चीनले आफ्नो विशेष प्रशासकीय क्षेत्र हङकङमा पनि राजनीतिक समस्या भोगिरहेको छ। अमेरिकाले भने त्साइको चुनावी जितले ताइवानको शक्तिशाली प्रजातान्त्रिक पद्धति प्रदर्शित भएको भन्दै तारिफ गरेको छ।

प्रतिक्रिया दिनुहोस्