साना किसान कृषि सहकारी संस्थाको लेखा समिति गठन



नेपाल समाचारपत्र, जाजरकोट।
भेरी नगरपालिका २,४ र ५ लाई लक्षित गरी गठन गरेको खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले ४ लाख ९७ हजारबराबरको आयव्यय प्रस्तुत गर्दै प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीको पुँजीलाई बृद्धि गर्न आयआर्जनमा सुधार ल्याउन १० जना सदस्यलाई व्यवसाय सञ्चालनका लागि लगानी वितरण गर्नेलगायत लेखा समिति गठन गर्दै साधारणसभा सम्पन्न भएको हो।
नेपाल सरकारले सहकारीमा तीन खम्बे नीति लागू गरी गरिबी न्यूनिकरण गर्न २०३२ सालमा कृषि विकास बैंकले साना किसान विकास आयोजनाका रुपमा सञ्चालन गरेको थियो। हाल साना किसान विकास बैंकमार्फत सञ्चालित छ।
गरिबी न्यूनिकरण गर्दै छरिएर रहेको पूँजीलाई एकैठाउँबाट सञ्चालन गरी आयआर्जनमा सुधार ल्याउन २०७५ साल माघ ७ गते भेरी नगरपालिका २,४ र ५ वडामा सरोकारवालाहरूको उपस्थितिमा योगमाया कार्कीको अध्यक्षतामा साना किसान कृषि सहकारी संस्था गठन भएको हो।
गरिब साना किसान महिलालाई संगठित गरी, छरिएर रहेको सानो पूँजीलाई एकृकित गरी ग्रामीण पूँजी निर्माण गरी आयआर्जनमा सुधार ल्याउन साना किसान कृषि सहकारी संस्था लिमिटेडको भेरी नगरपालिकामा दर्ता गरी कार्यक्रम अगाडी बढाएको छ।
समावेशीताका माध्यमबाट निर्माण भएको सहकारी संस्थामा दलित, जनजाति, महिला आवद्ध भएका छन्। करिब २ सयभन्दा बढी शेयर सदस्य रहेको संस्थाले शेयर वचत, समूह वचत, बैकबाट आम्दानी, प्रबेश शुल्कबाट प्राप्त ४ लाख ९७ हजार २ सयबराबरको आयव्यय अध्यक्ष योगमाया कार्कीले प्रस्तुत गर्नुभएको थियो।
समूहले आगामी माघदेखि आन्तरिक स्रोत वृद्धिका लागि थोरै पँुजी भए पनि १० जना सदस्यलाई बाख्रा पालन, कुखुरा पालन र पशुपालनका लागि सामूहिक जमानतमा २० हजार र २५ हजार रुपियाँ दिने निर्णय गरेको छ।

नगर उपप्रमुख भावना भण्डारीले स्थानीय सरकारबाट कृषि, पशुपालनलगायतका कार्यक्रम सहकारी संस्थामार्फत सञ्चालन गरेकाले आयआर्जनका कार्यक्रमहरू समूह सहकारी संस्थामार्पmत सञ्चालन गर्दै आएको बताउनुभयो। वर्तमान अवस्थामा किसानको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने भएकाले समूह सहकारी संस्थामार्फत् कार्यक्रम सञ्चालन गरेको उपप्रमुख भण्डारीले भन्नुभयो।

कृषि पेसाबाट किसानलाई आत्मनिर्भर गराउने लक्ष्य लिएको नगरपालिकाले कृषि पशुपालनलगायत आयआर्जनका कार्यक्रम मागको आधारमा वितरण गरेको उपप्रमुख भण्डारीले बताउनुभयो।

जिल्ला सहकारी संघका सचिव राजु केसीले वर्तमान अवस्थामा सहकारीको भूमिका ठूलो भएकाले छरिएर हरेको सानोसानो पँुजीलाई जम्मा गरी लगानी गर्दा कृषकहरूको आयआर्जनमा सुधार हुने, किसानको बचत गर्ने बानीको विकास हुने भएकाले कृषि सहकारी संस्था आवश्यक रहेको बताउनुभयो। आफूलाई लामो समय सहकारी सञ्चालनको अनुभव भएकाले आवश्यक सल्लाह सुझाव दिने बताउनुभयो।
कृषि विकास कार्यालयका प्राविधिक सहायक लालबहादुर भण्डारीले कृषिका कार्यक्रम सहकारीमार्फत सञ्चालन गर्ने नीति सरकारले ल्याएकाले संस्थाले आवश्यक प्रस्ताव पेश गरे कार्यक्रम दिने बताउनुभयो। खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले विशेष गरी पशुपालन, कुखुरापालनलगायत कृषि क्षेत्रलाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्