सञ्चार सहकारीको १२औं साधारणसभा सम्पन्न



नेपाल समाचारपत्र, म्याग्दी।
बेनीबजारमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ। कूल ५ सय ३४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३ करोड ४ लाख ९९ हजार ५ सय रुपियाँ रहेको सहकारीको आइतबार अधिवेशन सम्पन्न भएको हो।
सहकारीले गत आर्थिक वर्षमा आम्दानीतर्फ १ करोड ७३ लाख ९२ हजार ३ सय १९ र खर्चतर्फ १ करोड २४ लाख ६५ हजार १ सय १९ रुपियाँ रहेको जनाएको छ। साधारणसभामा संस्थाका सचिव रामजीप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष सुविन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
२०६४ सालमा स्थापना भएको सञ्चार सहकारीले केबुल टिभी, इन्टरनेट सेवा र म्याग्दीकाली एफएम सञ्चालन गरेको छ।
अधिवेशनले विजयकुमार श्रेष्ठको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ।
संस्थाको नयाँ समितिमा उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा राजु बानियाँ, सहसचिवमा सुरत केसी र सहकोषाध्यक्षमा हेमन्त थापा निर्वाचित हुनुभएको छ।

यसैगरी सञ्चालक समितिका सदस्यहरूमा माधवप्रसाद रेग्मी, दीपक हमाल, दुर्गाराम सुवेदी, बालबहादुर महत, लीलाराम गौतम, महेन्द्र खत्री, ध्रुवराज सुवेदी, नारायण सुवेदी र नवराज पौडेल रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्