सभामुख रेल चढेर आउने ?



पूर्वएमाले र माओवादी मिल्या भन्या त के को हुनु, शक्तिशाली पार्टी बन्यो भनेर जनतालाई आँखामा छारो हान्न पो रैछ। नेताको मनै नमिलेसी पार्टी के को शक्तिशाली हुनु, शक्ति भा भए जाबो एउटा योग्य सभामुख भेटिन्न भन्या। हरेक दिन मिटिङ भन्या छ, बैठक भन्या छ, सभामुख छान्ने भन्या छ, तर बैठक हात्ती आयो हात्ती आयो फुस्सा।

ए साँच्ची, सरकारले खै कुन मितिदेखि रेल र पानी जहाज चल्ने भन्या थ्यो, त्यहि रेल र जहाजमा चढेर आउने तयारी गरेर हो क्यार, मुलुकले सभामुखको नयाँ मुख नदेख्या। माया आए घोडा, माइजु आइन् डोली शैलीमा संसद्मा सभामुख भित्र्याउने होला।

नत्र यस्तो दिन के को बैठक, के को छलफल ? इतिहासकै शक्तिशाली सरकार बन्यो भन्दैमा सभामुख यही हप्ता टुङ्गो लाग्छ, आजै टुङ्गो लाग्छ भनेर जनतालाई ढाट्ने, हेप्नी ?

देशी÷विदेशी तत्वको चलखेलले गर्दा सभामुख चयन गर्न सकिएन, संसदीय प्रकृया अवरुद्ध भयो, महत्वपूर्ण विधेयक पारित गर्न सकिएन भनेर अब कुन दिनदेखि शक्तिशाली कम्रेडहरुले भाषण ठोक्न बेर छैन।

प्रतिक्रिया दिनुहोस्