डोमको पीडा बढाउँदै पुसको सिरेटो



नेपाल समाचारपत्र, सप्तरी।
छिन्नमस्ता गाउँपालिका–६ स्थित कोचाबखारी टोलका डोम(मरिक) वस्तीका बासिन्दा पुसको सिरेटो कसरी काट्ने भन्ने चिन्ता छन्। बसोवासको राम्रो व्यवस्था नभएको, गरिबीका कारण गतिला लुगासमेत नभएका कारण परालको घुर बालेरै पुस कटाउनुपर्ने उनीहरूको बाध्यता हो।
ऐलानी जग्गामा झुप्रो बारेर बसेका १२ घर डोम परिवारका ५० जना सबैको एउटै चिन्ता छ– ‘यसपालिको ठण्डीमा बाँचिन्छ कि बाँचिँदैन।’ ‘कुनै वर्ष सरकारले ठण्डीमा ओड्नेलगायतका राहत दिन्थ्यो, ६५ वर्षीय सिफैत मरिकले भन्नुभयो– ‘यसपालि त अहिलेसम्म कोही सोध्नसम्म आएनन्।’ ठण्डीका कारण गाउँका वृद्धा दुखनी मरिक र फुलो मरिक यतिबेला बिरामी छन्।
‘वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएको छ, सिफैतले भन्नुभयो– ‘चुनावका बेला हुलका हुल उमेदवार अनेक आश्वासन लिएर भोट माग्न आउने गरेको तर आफूहरू यतिबेला ठण्डीले विचल्ली पर्दा कोही सोध्नसमेत आएका छैनन्।
टोलको नजिकै रहेको गाउँपालिकाको जनप्रतिनिधिको बसोवास रहेको भएपनि आफूहरू ठण्डीले तड्पी रहदाँसमेत कसैले वास्ता नराखेको स्थानीय विरेन्द्र मरिकले बताउनुभयो।
‘चुनावको बेलामा मात्र सम्झिने अरू बेला मर्न लाग्दा पनि चासो नराख्ने जनप्रतिनिधिको के काम ?’ उहाँले भन्नुभयो– ‘हामीलाई खालि भोट बैंकको रुपमा प्रयोग गरिँदै आएको छ, हाम्रो समस्यामाथि कसैलाई चासो छैन।’

समस्या वडा नम्बर ६ का मरिकको मात्रै नभई वडा नम्बर ३ का मरिक टोलका बासिन्दा पनि ठण्डीले यतिबेला पीडामा छन्। स्थानीय सुनीता मरिकले आफूहरूलाई कुनै पनि निकायले राहत र सहयोग नगरेका कारण साह्रै मुस्किलमा परेको पीडा सुनाउनुभयो।

‘गाउँपालिकामा स्थानीय सरकारको काम हुनेछ भन्ने सुनेकी थिएँ, उहाँले भन्नुभयो– ‘तर हामीहरूका लागि स्थानीय सरकारले पनि कुनै चासो देखाएन।’ पहिलेदेखि नै झुठा आश्वासनबाहेक केही नपाएको बताउँदै उहाँले अहिले पनि अवस्था उस्तै रहेको गुनासो पोख्नुभयो। आगो ताप्नलाई समेत प्रबन्ध नगरिदिएको कारणले रात कटाउन आफूहरूलाई चुनौती नै रहेको भन्दै सुनिताले परालको घुरका भरमा बस्नुपरेको पीडा पोख्नुभयो।

प्रतिक्रिया दिनुहोस्