नेपाल भ्रमण वर्षसँगै नेपालको अवस्था



हामी एक्काइसौँ शताब्दीका शिक्षित र सभ्य मानव समुदाय रे ’ हामी ज्ञान–विज्ञान शिक्षा र चेतनासँगै अधुनिक सभ्यता अनि क्रान्तिकारीहरू रे ’ हामी पौरखी र इमानदार, बहादुर र वीरहरूका सन्तति रे ’ भगवान्ले समेत जन्म लिएको पवित्र देशका मनुष्य रे हामी।

विश्वभरबाट विभिन्न खालका पर्यटक घुम्न आउने, यनीहरूले नेपालको अनुपम प्राकृतिक सुन्दरतासँगै हाम्रा कला, संस्कृति, भेषभूषा, पाहुना सत्कार, हाम्रो सभ्यता, चेतना कला, शैली आदि हेर्न आउने हुन्।

हाम्रो आजको युगमा भएको मानव विकास, सामाजिक विकास, भौतिक विकास, आर्थिक विकास आदि सबै हेर्न, अध्ययन गर्न, महसुस गर्न, सिक्न र आफ्नो जन्मभूमि फर्केर नेपालको वास्तविक यात्रा वर्णन गर्न आउँछन्। यात्रीहरू कोही धार्मिक उद्देश्यले, कोही मनोरञ्जनका खातिर, कोही अध्ययन–अनुसन्धानका लागि, कोही सुन्दरतामा रमाउन नेपाल आउने गर्छन्।

विश्वभरबाट अनेकौं प्रवृत्तिका मान्छेहरू नेपाल आउँदा हामीले हाम्रो शहरी सभ्यता कस्तो देखाउने, ग्रामीण सभ्यता र संस्कार कस्तो देखाउने, हाम्रा बाटोघाटो, होटल, पूर्वाधार विकास, यातायात, हस्पिटालिटी आदि कस्तो देखाउने ? यसको स्पष्ट खाका तयार हुनु आवश्यक छ।

यति सानो भूगोलमा यतिका प्राकृतिक सम्पदा यो ब्रह्माण्डमा कहाँ छ ? हामीसँग के छैन ? यस्तो स्वर्ग कहाँ छ धर्तीमा ? चिनाउन सके र प्रख्यात बनाउन सके यस्तो सुन्दर देश हेर्न–घुम्न पृथ्वीका कुन मानव नआऊलान् ?

लाखौं किताबका ठेली लेखेर पनि वर्णन गरी नसक्ने मेरो देश आज धेरै कुरामा पछि परेछ। हाम्रा शहरहरूले हामीलाई गिज्याइरहेका छन्। मन्दिर र मन्दिरका देवताले गिज्याइरहेछन्। देउता त स्वर्गमा बस्ने हो नि, स्वर्ग कति सुन्दर र शान्त होला ?

कल्पना गरौं त ’ फोहोर दुर्गन्ध हेर्दै जाँदा देवताहरू हैन ढुंगा पनि बस्न मन नपराउने फोहोर छ मन्दिर र गुम्बाहरू, चैत्य र मस्जिदहरू, दोभान र देउरालीहरू, उकाली र ओरालीहरू, जताततै मानवनिर्मित फोहोरै फोहोर।

अरू त अरू, सगरमाथाको बेसक्याम्प र पोखराका फेवा तालहरू, लुम्बीनी र जानकी मन्दिरहरू यिनका वरिपरि त फूलमा भमरा, मौरी र पुतलीहरू भुनुनु उड्नुपर्ने हो। तर विडम्बना, दुर्गन्धमा झिँगा र लामखुट्टे भरिभराउ छन्।

देवता बस्ने ठाउँ त स्वर्गजस्तो हुनुपर्ने हो, राक्षस र दैत्यसमेत बस्न नसक्ने गरी फोहोरै फहोर, दुर्गन्ध नै दुर्गन्ध छ। हाम्रा गौरवशाली संरचना र इतिहास आज फोहोरै फोहोरले नर्कजस्तै भएका छन्।शिक्षा केका लागि लिन्छौं, जागिर खान र पैसा कमाउन मात्रै हो ?

हाम्रो अधुनिक सभ्यताको चिनारी खोइ ? हामीले के ज्ञान सिक्यौँ ? हाम्रो पुस्तालाई के सिकाउँदै छौँ ? उनीहरूले हाम्रो अग्रज पुस्ता त कस्ता फोहोरी रहेछन् नभन्लान् र पछि ? हामी सबैलाई लाज लाग्ने कुरा हैन यो ?

– गेली शेर्पा, रामेछाप।

प्रतिक्रिया दिनुहोस्