१३ वर्षपछि पर्खी बसें–२



गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित सुपरहिट फिल्म पर्खी बसेंको नयाँ सिरिज दर्शकमाझ आउने भएको छ। गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा पर्खी बसें–२ निर्माण गर्ने भएको हो।

गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच फिल्म निर्माणका लागि समहमति भएको हो। फिल्ममा निकिता र विनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सहनिर्माताका रूपमा रहनेछन्।

२०६४ सालको चैत अन्तिममा रिलिजमा आएको फिल्म पर्खी बसेंलाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिज लभ डायरिज निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्ममा कथा पनि उनकै रहनेछ।

पहिलो सिरिजझैं दोस्रोमा पनि सांगीतिक प्रेमकथा देखाइने सौरभले बताए। फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात् रिच इन्टरटेनमेन्टले पाएको छ। फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ।

यसको पहिलो सिरिजमा राजबल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेतीलगायतको अभिनय रहेको थियो। उक्त समयमा यसको गीत–संगीतलाई दर्शकले रुचाएका थिए भने फिल्म पनि सुपरहिट भएको थियो। गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको माइकल अधिकारी भने आगामी माघबाट सुटिङ फ्लोरमा जानेछ।

त्यसपछि यो टिमको पर्खी बसें–२ सुटिङ फ्लोरमा जाने सेड्युल रहेको छ। यसको रिलिज २०७७ सालमा हुनेछ। पर्खी बसें रिलिज भएको १३ वर्षपछि यसको दोस्रो रिलिज दर्शकमाझ आउन लागेको हो।

फिल्मका निर्देशक सौरभ चौधरीले फिल्मको टिम क्याप्टेनको जिम्मेवारी पाउनु आफ्ना लागि अवसरसँगै चुनौती पनि भएको बताए। ‘पर्खी बसें हिट भएपछि यसको दोस्रो सिरिज दर्शकसामु ल्याउँदै छु।

यो नाम पहिले दर्शकमाझ स्थापित भएकाले उहाँहरूको एस्पेकटेसन मिट गर्ने चुनौती छ। यो ब्रान्डको भ्यालु घट्ने दिने छैन भने बढाउन कुनै कसर बाँकी राख्ने छैन।’ –चौधरीले भने।

प्रतिक्रिया दिनुहोस्