‘बैंकहरुले कृषिमा ऋण दिनै मान्दैनन’



मोतीराम तिमल्सिना, काभ्रे ।
सरकारले घोषणा गरेको कार्यक्रम अनुसार विकास तथा बाणिज्य बैकहरुले ऋण लगानी नगरेको युवा कृषकहरुले बताएका छन् । विकास बैकहरुले लगानी गरेका ऋणमा पनि सहजता नभएको उनिहरुले बताए ।

ब्याजको दर पनि विकास बैकहरुमा धेरै छ । कृषि क्षेत्रमा लगानी गर्न बैकहरुले आनाकानी गरिरहेका छन् । कृषि विकास बैक लगायतका अन्य बैकहरुले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गरी कृषकहरु प्रति अनुदार बनेको कृषकहरुले बताएका छन् । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको १३ वटै स्थानीय तहमा कार्यरत कर्मचारी तथा कृषकहरुसँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै कृषकहरुले बैककै कारण सरकारका कार्यक्रम असफल बनाउँदै कृषकहरुले दुख दिईरहेको बताए ।

‘धितो राखेर पनि ऋणका लागि फाईल पेश गर्दा बैकले पत्याउँदैनन’– पनौती नगरपालिका ३ कुशादेवीका कृषक सुरेश सापकोटाले भन्नुभयो–‘सरकारको नीति बैकहरुले कार्यान्वयन गरेनन ।’ ठुलो लगानीमा फर्म स्थापना गर्ने उदेश्यले ऋण माग गर्दा बैकहरुले असहयोग गरेको उहाँको भनाई छ । ‘३० लाख भन्दा धेरै लगानी गरेर खोलिएको फर्म नाफामा जान सकेको रहेनछ भन्दै ऋण लगानी गर्न मानेनन’–पाँचखालका कृषक भिमसेनप्रसाद पन्तले भन्नुभयो–‘उत्पादन नै शुरु नगरी घाटा नाफा कसरी थाहा हुन्छ ? पहिलो वर्ष लगानीको वर्ष हो । दोश्रो वर्ष उत्पादन र मुनाफाको वर्ष हो ।

तेश्रो वर्ष विस्तारको वर्ष हो ।’ ‘फर्ममा पशु लगेर राखे लगत्तै नाफा देखिन्छ ?’– सापकोटाले प्रश्न गर्नु भयो–‘हाम्रो लगानी चाँहि ऋण लगानी गर्ने आधार हुन सक्दैन ? साँचो कुरा गर्दा पत्याएनन, झुटो बोल्न आउँदैन ।’ बैकले फर्मको लेखापरिक्षण गराउँदा घाटा भए पनि नाफा देखाएको भए ऋण लगानी गर्ने बताएको उहाँले बताउनु भयो । ‘वास्तविक हिसाव देखाउँदा बैकहरु ऋण पन्छिए’–उहाँले भन्नुभयो–‘लगानीलाई घाटा भन्न मिल्छ ?’ पाँचखालमा मात्रै फर्म खोलेर ब्यवसायीक खेति गर्ने कृषकहरुको समुह ठुलो छ ।

तर आफुसँग पुँजी कम भएपछि सोचेजस्तो ब्यवसायीक फर्म संचालन गर्न कठिनाई भएको कृषकहरुले बताएका छन् । राज्यले उपलब्ध गराउने भनेको सहुलियत ब्याजको ऋण समेत उपलब्ध नहुँदा युवाहरु पुनः विदेशिनु पर्ने अवस्था रहेको कृषक उत्तम विश्वकर्माले बताउनु भयो ।

‘केहि वर्ष अघि बैदेशिक रोजगारमा सहभागि भई केहि महिना अघि आफ्नै जन्म भूमिमा ब्यवसायीक कृषि तथा पशुपालन फर्म संचालन गर्ने सोचले फर्किए । बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु सदस्य बन्ने रिर्टनी संस्थाको सदस्य पनि हुँ । अर्थमन्त्रीले बैकहरुले ऋण नदिए मलाई सिधै फोन, ईमेल गर्नु भनेको सुनें । विदेशबाट फर्किए लगत्तै कृषि ब्यवसायमा केहि गर्ने उदेश्यले बैकमा ऋणका लागि तयारी शुरु गरें ।

बनेपामा रहेको एनएमवी बैकमा आफ्नो कागजात सहितको फाईल बुझाएको ३ महिना वित्यो । ऋण पाउन सकेको छैन’–बनेपा नगरपालिका १ टुकुचाका कृषक उत्तम विश्वकर्माले भन्नुभयो । ‘बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको हकमा लगानीको सुरक्षाका लागि राज्य आफै ग्योरन्टी बसेको हुन्छ’–उत्तमले भन्नुभयो–‘बाहना बनाएर बैकले ऋणमा आनाकानी गर्छन, बैक राज्य भन्दा ठुला हुन् ? कागजात यो र त्यो नमिलेको बाहनामा कृषकहरुलाई झुलाउने काम बैकहरुले गर्दै आएका छन् ।’

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा रहेका बैकका प्रतिनिधिहरुसँग समेत कृषकहरुको गुनासोका सम्वन्धमा केहि समय अघि छलफल गरेको थियो । बैकका प्रतिनिधिहरुले कृषकहरुले भने जस्तो बैकले लगानी गर्न असहज परिस्थती रहेको बताएका थिए । अन्र्तक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका बरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले कृषकहरुका गुनासा सरकार समक्ष पुर्याउन पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्