ओमानका सुल्तान काबुसको निधन हैथम नयाँ सुल्तान



मस्कट, (एजेन्सी)।

ओमानका सुल्तान काबुस बिन सईद अल सईदको ७९ बर्षको उमेरमा निधन भएको छ। काबुस अरब जगतमा सबैभन्दा लामो समयसम्म सुल्तान रहेका थिए।ओमान सञ्चार माध्यमका अनुसार सुल्तान काबुसको मृत्यु शुक्रबार साँझ भएको थियो।

गत महिना उनी बेल्जियमबाट उपचार गराइ फर्केका थिए। सञ्चार माध्यमले उनलाई क्यान्सर भएको उल्लेख गरेको छ। सुल्तान काबुस सन् १९७० मा बेलायतको समर्थनमा आफ्नो पितालाई गद्दीबाट हटाइ आफंै सुल्तान बनेका थिए।

उनले ओमानको प्रगतिका लागि तेलबाट हुने कमाइको प्रयोग गरे। सुल्तान काबुस अविवाहित हुन् र उनका उत्तराधिकारीका रूपमा अब कोही पनि छैनन्।

हैथम नयाँ सुल्तान नियुक्त

यसैबीच देशको सरकारी टेलिभिजनले हैथम बिन तारिक अल सईद नयाँ सुल्तान बन्न घोषणा गरेको छ। अधिकारीहरूले पूर्वसुल्तान काबुसबिनाको पत्र खोलेका थिए। पत्रमा उनले नयाँ सुल्तानका लागि हैथम बिन सईद आफूलाई मनपर्ने उल्लेख गरेका थिए।

त्यसपछि शाही परिवारको बैठकले उनको नामलाई अनुमोदन गरेको थियो। उनले शनिबार नै नयाँ सुल्तानको सपथ लिएका छन्। उनी सुल्तान काबुसका काका छोरा हुन्।

यसअघि सुल्तान बन्ने दौडमा सबैभन्दा अगाडि काबुसका तीन भाइ नै सबैभन्दा अगाडि रहेको बताइएको थियो। यसमा संस्कृति मन्त्री हैथम बिन तारिक अल सईद, उपप्रधानमन्त्री असद बिन तारिक अल सइद र ओमानका पूर्वनौसेना कमान्डर सिहब बिन तारिक अल सईदको नाम समावेश थियो।

सुल्तान नियमअनुसार गद्दी खाली भएको ती दिनभित्र शाही परिवार परिषद्ले नयाँ सुल्तान चुन्नुपर्नेछ। शाही परिवार परिषद्मा करिब ५० सदस्य छन्। यदि परिवारका नयाँ सुल्तानलाई लिएर सहमति बन्न सकेन भने रक्षा परिषद्का सदस्य, सर्वोच्च अदालतका अध्यक्ष, सल्लाहकार परिषद् र राज्य परिषद्ले नयाँ सुल्तानका लागि सुल्तान काबुसले आफूलाई मनपर्ने व्यक्तिको नाम लेखिएको पत्र राखिएको बन्द खाम खोल्नेछ र उसैलाई नयाँ सुल्तान बनाइनेछ।

त्यसकै आधारमा नयाँ सुल्तानमा हैथम चयन भएको हो। सुल्तान ओमानको सर्वोच्च पद हो र उसले नै प्रधानमन्त्री, सेनाका सर्वोच्च कमान्डर, रक्षा मन्त्री, वित्त मन्त्री र विदेश मन्त्रीजस्ता जिम्मेवारी सम्हाल्ने गर्छ।

४६ लाख जनसंख्या भएको ओमानमा करिब ४३ प्रतिशत आप्रवासी छन्। करिब पाँच दशकदेखि ओमानको राजनीतिमा सुल्तान काबुसको वर्चस्व थियो।

पिताबाट सत्ता खोसेर सुल्तान बनेका काबुस

२९ वर्षकै उमेरमा आफ्ना पितालाई हटाएर उनी राजगद्दीमा बसेका थिए। उनका पिता सईद बिन तैमुरलाई एक अति रुढिवादी शासक मानिन्थ्यो। उनले रेडियो सुन्ने, घाममा चश्मा लगाउनेजस्ता कयौं कुरामा प्रतिबन्द लगाएका थिए।

विवाह गर्ने, शिक्षित हुने र देश छोड्नेजस्ता फैसलामा पनि उनले आफ्नै नियम बनाएका थिए। आफ्ना पितापछि सुल्तान काबुसले तत्काल आफूले आधुनिक सरकार चाहेको र तेलबाट प्राप्त हुने पैसा देशको विकासमा लगाउन चाहेको घोषणा गरेका थिए।

त्यतिबेला ओमनमा १० किलोमिटर पक्की सडक र ३ वटा मात्र स्कुल थिए। उनले विदेशी मामिलामा तटस्थ मार्ग अपनाए। सन् २०१३ मा अमेरिका र इरानबीच गोप्य वार्ता गराउने पनि भूमिका खेले।

त्यसको दुई वर्षपछि नै एक ऐतिहासिक परमाणु सम्झौता भएको थियो। सुल्तान काबुसको व्यक्तित्व चमत्कारिक र दुरदर्शी भएको बताइन्छ। उनी ओमनमा अत्यन्त लोकप्रिय पनि थिए। तर उनले पनि विरोधको आवाजलाई दमन गरेका थिए।

सन् २०११ मा अरब क्रान्तिका क्रममा उनका विरुद्ध पनि विरोधहरू भएका थिए। ओमानमा कुनै ठुलो क्रान्ति आएका थिएन, तर हजारौं नागरिक राम्रो तलब, धरै रोजगारी उपलब्ध गराउन र भ्रष्टाचारविरुद्ध सडकमा ओर्लेका थिए।

सुरक्षा बलले शुरुआतमा विरोध प्रदर्शनमा कुनै विशेष कारबाही गरेको थिएन तर पछि अश्रुग्यास, रबर बुलेट र अन्य हतियारबाट उनीहरूलाई रोक्ने प्रयास गरिएको थियो। यस क्रममा दुई जनाको मृत्यु भएको थियो र दर्जनौैं घाइते भएका थिए।

सयौंंलाई अवैध रुपमा भेला भएको र सुल्तानको अपमान गरेको आरोपमा सजायँ दिइएको थियो। यो विरोध प्रदर्शनबाट कुनै उल्लेखनीय परिवर्तन आएको थिएन।

तर सुल्तान काबुसले भ्रष्टाचारी कहलिएका तथा लामो समयदेखि पदमा कायम रहेका केही मन्त्रीहरूलाई हटाइएको थियो। सल्लाहकार परिषद्को शक्तिमा बुद्धि गरियो र सरकारी जागिरको संख्या बृद्धी गर्ने आश्वासन दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्