ठूला जन्तुलाई भौगोलिक सीमाले छेक्नुहुँदैन



डा. नरेश सुवेदी
गैंडा विज्ञ

संसारमा विभिन्न पाँच प्रजातिका गैंडा अभिलेख भएकोमा एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै भेटिन्छन्। यो जन्तु दुई मुलुकमा मात्रै सीमित भएकाले विश्वका संरक्षणकर्मीको ध्यान यता तानिने गरेको छ। बाघ र गैंडाजस्ता दुर्लभ जन्तु संरक्षणमा नेपालले विश्वलाई सकारात्मक सन्देश दिन थालेको चर्चा शुरु भएको छ। गैंडा संरक्षणमा भएका सकारात्मक प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमबारे राष्ट्रिय प्रकृति संरक्षण कोषका गैंडाविज्ञ डा. नरेश सुवेदीसँग नेपाल समाचारपत्रकर्मी टीका बन्धनले गरेको कुराकानी।

दुर्लभ जन्तु बाघ संरक्षणमा नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुँदै गर्दा अर्को जन्तु एकसिंगे गैंडा संरक्षणमा नेपाल कस्तो अवस्थामा छ ?

गैंडा संरक्षणमा हामी सकारात्मक दिशातर्फ अघि बढिरहेका छौं। चितवन राष्ट्रिय निकुञ्जको उदाहरण लिने हो भने हामी धेरै राम्रो अवस्थामा छांै, त्यहाँ ६ सय भन्दामाथि गैंडाको संख्या पुगेको छ। अध्ययनले के देखाउँछ भने सातदेखि आठ सय गैंडा चितवन निकुञ्जले थेग्न सक्छ।

खास गरी निकुञ्जको पश्चिमतर्फको भेगमा संख्या निकै राम्रो छ, चहल–पहल धेरै छ। पूर्वी सेक्टरमा वासस्थानको व्यवस्थापन केही सुधार गर्नुपर्ने देखिन्छ।

गैंडाका लागि बर्दिया र शुक्लाफाँटा दोस्रो र तेस्रो उपयुक्त गन्तव्य वासस्थान बनाउने पहल भइरहेको छ। प्राकृतिक र अन्य केही कारणले चितवनमा समस्या देखियो भने अन्यत्र समस्या हुनुहुन्न भनेर बर्दिया र शुक्लाफाँटामा काम भइरहेको छ।
चितवनमा गैंडाको संख्या निकै राम्रो भइरहँदा गैंडाको मृत्युदर पनि बढिरहेको छ नि ?

हो, हाम्रा गैंडा हरेक वर्ष केही न केही कारणले मरिरहेका छन्। प्राकृतिक कारणबाट मात्रै गत आर्थिक वर्ष २०७५/७६मा चितवनमा ४३ र बर्दियामा दुई गैंडा मृत्त फेला परे। गत साता मात्रै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नजिकैको अमलटारीस्थित तोरीबारीमा एउटा गैंडा मृत भेटियो।

सन् २०१७ भारी वर्षासँगैको बाढीको प्रभावले चितवनमा अन्य धेरै जीवजन्तुसहित गैंडालाई समेत समस्या पर्यो। त्यसैले सन् २०१८मा गैंडा मरे। अर्को चाहिँ निकुञ्जको पश्चिम क्षेत्रमा गैंडाको उपस्थिति बढ्दै गर्दा एकआपसमा जुधेर मर्ने क्रम बढिरहेको छ।

संख्या जति बढ्दै गएको छ मृत्युदर पनि बढ्दो क्रममा छ, केहीको मृत्यु उमेर पुगेर प्राकृतिक रूपमा पनि हुन सक्छ। शव सढेगलेको अवस्थामा भेटिएकाले २०१८केही गैंडाको मृत्युको कारण नै पत्ता लाग्न सकेन।

बाढीकै असरले हुनुपर्छ भन्ने ठहर गरियो। ६ सय हाराहारीको संख्या भएको ठाउँमा ३०/३५ वटा मर्नु प्राकृतिकजस्तो पनि देखिन्छ ।त्यसैले चितवनको मृत्युदर ‘थ्रेसहोल्ड’ भन्दा माथि चाहिँ होइन। तर मृत्युदर चेतावनी तहमा पुगेको भने पक्कै हो।

गैंडाजस्ता ठूला जीवजन्तुको मृत्युको खास कारण पत्ता लगाउन पर्याप्त अध्ययन अनुसन्धान नभएको चर्चा पनि गरिन्छ। यथार्थ यस्तै हो ?
पर्याप्त अध्ययन नभएको कुरा सत्य हो। नेपालको सन्दर्भमा अन्य जीवजन्तुको तुलनामा गैंडाबारे राम्रै अध्ययन अनुसन्धान भएको छ। तर अध्ययन नियमित हुनुपर्छ। १० वर्षअघि कुनै अध्ययन भएको थियो भने त्यो अहिले पनि उत्तिकै प्रभावकारी हुन्छ भन्ने हुँदैन।

मानवीय र प्राकृतिक कारणले वासस्थान र आसपासमा आइरहेको परिवर्तन, निकुञ्ज क्षेत्र बाहिर बढ्दो मानवीय चहल–पहल, विकास निर्माण र शहरीकरणले कस्तो प्रभाव पारिरहेको छ भनेर अध्ययन हुन जरुरी छ।

अध्ययन अनुसन्धान गरेर मात्रै हुँदैन, अध्ययनले देखाएका कुरा व्यवहारमा कार्यान्वयन गर्नुपर्छ अध्ययनबाट प्राप्त निचोड कार्यान्वयन नभएका उदाहरण धेरै छन्।

सन् १९८०को दशकदेखि चितवनबाट बर्दियामा गैंडा स्थानान्तरण शुरु गरिएको थियो। यो काममा नेपाल कति सफल भएको छ ?

संरक्षित जीवजन्तुलाई एकै क्षेत्रमा सीमित गरिनुहुँदैन भनेर यस्तो अभ्यास शुरु भएको थियो। चितवनमा अहिले वार्षिक पाँच प्रतिशतका हाराहारीमा गैंडाको संख्या बढ्दै गएको देखिन्छ। यो दरलाई प्रभावकारी रूपमा ‘मेन्टेन’ गर्ने हो भने चितवनको संख्यालाई अन्यत्र स्थानान्तरण गर्नैपर्छ।

अध्ययनले के देखाएको छ भने चितवनबाट वार्षिक १५ वटा गैंडा अन्यत्र लगेपनि त्यहाँको बृद्धिदरलाई खासै फरक पार्दैन। अन्यत्र स्थानान्तरण गरिएन भने एकआपसमै लड्छन्, मर्छन्, भाले गैंडाले बच्चा मार्दिन्छ। चितवन निकुञ्जको पश्चिमी खण्डबाट ४०/५० गैंडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ। त्यसो गरियो भने संख्या सन्तुलित हुन्छ, पूर्वतर्फ पनि संख्या बढ्छ।

सन् १९८८ को अवस्थालाई फर्किएर हेर्ने हो भने चितवनको कसराभन्दा पूर्वतर्फ गैंडाको ७० प्रतिशत उपस्थिति थियो। तर अहिले कसरा पश्चिमको अवस्था ठ्याक्कै उल्टो भएको छ।

वासस्थानका लागि चाहिने घाँसे मैदानसहित अन्य वस्तुस्थिति परिवर्तन हुँदा, बाढीले आफ्नो धार परिवर्तन गर्दा, स्थानान्तरणका क्रममा चितवनपूर्वका गैंडा छानिएकाले सो भेगमा संख्या पातलिएको छ।

स्थानान्तरण अभ्यास असफल भएको छैन। बर्दिया पुर्याइएका गैंडा राम्रोसँग रमाएका देखिन्छन्, सन्तान जन्माएका छन्। तर सशस्त्र द्वन्द्वका क्रममा संरक्षित क्षेत्र र संरक्षित जीवजन्तु राज्यको प्राथमिकतामा पर्न सकेनन्, त्यसको फाइदा तस्करले लिए गैंडा र अन्य धेरै जीवजन्तु मारिए।

अवैध चोरी शिकारीले गैंडा मरे भन्दैमा स्थानान्तरण असफल भएको भन्न मिल्दैन। स्थानान्तरण केही मात्रामा सफल भएको छ, गैंडा मात्रै होइन अन्य जीवजन्तु पनि स्थानान्तरण गर्नुपर्छ।

टाढा पुर्याउन लामो प्रकृया लाग्न सक्छ तर चितवन, नवलपरासीमा तत्कालै एक्सनमा जान सकिन्छ। बर्दिया र शुक्लाफाँटामा संख्या बढाउँदै कोशीटप्पु बन्यजन्तु आरक्षमा पनि गैंडा, बाघजस्ता जीवजन्तु स्थानान्तरण गर्न सकिन्छ। सकिने आधार देखिएका छन्।

गैंडाको अवैध चोरी शिकारी घट्दै गर्दा चितवनको संख्या व्यवस्थापन गर्न ढिलो भइसकेन र ?

चोरी शिकारी घट्यो, नियन्त्रण हुन थाल्यो भन्दैमा उत्साहित बन्नुपर्ने अवस्था छैन। पक्कै चितवनको बढ्दो संख्या व्यवस्थापन गर्नुपर्ने बेला आयो। ढिलो हुन थालिसक्यो।

गैंडाको पाँच प्रतिशत बृद्धिदर कायम गर्नका लागि वासस्थानको व्यवस्थापन गर्नुपर्यो, एकैतर्फ एकत्रित भएको संख्यालाई अन्यत्र स्थानान्तरण गर्नुपर्छ। पर्सा निकुञ्ज, बर्दिया, शुक्लाफाँटा र अन्यत्र पनि स्थानान्तरण गर्न सकिन्छ। कुनै देशले नेपाललाई केही जीवजन्तु उपलब्ध गराउँछ र माग गर्छ भने हामी दुई/चार गैंडा दिन सक्छौं।

यस्तो कुरामा गम्भीर नहुने हो भने, समयमा स्थानान्तरण गरिएन भने संख्या क्रमशः घट्दै जान्छ, ६ सय संख्या नाघिसकेको चितवनमा संख्या घटेर पाँच सयमा पनि आउन सक्छ।

गैंडाजस्ता ठूला जन्तुका लागि मिचाह प्रजातिको वनस्पतिले ढाकेको वासस्थान हटाउने, घाँसेमैदान व्यवस्थापन, पानी पोखरी र आहालको व्यवस्थापन जरुरी देखिन्छ।

गैंडाजस्ता जीवजन्तु संरक्षण र चोरी शिकारी नियन्त्रणमा अन्तरदेशिय सहकार्यको खाँचो औंल्याउने गरिन्छ। भारतसँगको पछिल्लो सहकार्य कस्तो छ ?

नेपाल र भारतबीच फिल्ड लेभलको कोअर्डिनेसन चाहिँ ठिकठिकै छ। यताउताका वार्डेनहरूबीच वार्ता र बैठक हुने क्रम राम्रैसँग चलिरहेको देखिन्छ।

तर उच्च तहमा हुने अन्तरदेशिय बैठक भने नियमित बन्न सकेको देखिँदैन। भारतले नेपालतर्फका संरक्षित र जैविक करिडोरसँग जोडेर रेलवे र राजमार्ग विस्तार गरिरहेको छ, नेपालतर्फबाट पनि त्यस्तै भइरहेको छ।

जसले गर्दा धेरै ठाउँको वन्यजन्तु करिडोर प्रभावित बन्ने अवस्था आएको छ। विकास निर्माणसँगै वन्यजन्तुमैत्री संरचना बनाउन, यसबारेमा सहकार्य बढाउन उच्च तहमा वार्ता र छलफल हुन जरुरी हुन्छ।

चितवन निकुञ्ज भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको छ, बर्दिया कतनियाघाट वाइल्ड लाइफ सेन्चुरीसँग र हाम्रो शुक्लाफाँटा र उताको दुदुवा जोडिएका छन्। बाघ, गैंडा, हात्तीजस्ता ठूला जीवजन्तुलाई भौगोलिक सीमाले छेक्दैन, छेक्नुहुँदैन।

उनीहरू स्वतन्त्रपूर्वक एकअर्को मुलुकमा ओहोरदोहोर गरिरहन्छन्। जीवजन्तुको सुरक्षित आवागमनका लागि उच्च तहमा वार्ता हुन जरुरी हुन्छ, तर त्यस्तो वार्ता पर्याप्त नभएको देखिन्छ।

जीवजन्तुमैत्री संरचना निर्माणमा नेपालकै पनि धेरै कमी कमजोरी छन्, होइन र ?

हो, अहिलेसम्म नेपालले कुनै पनि संरचना जीवजन्तुमैत्री बनाएकै छैन। निर्माण भइरहेका र निर्माण तयारीमा रहेका नयाँ परियोजनाले यस्तो पक्षलाई ध्यान दिएको सुनिएको छैन।

हाम्रो देशमा गाडीको संख्या थोरै हुँदा अवस्था ठिकै थियो तर अहिले धेरै ठाउँमा चारलेन र आठलेनका सडक विस्तार भइरहेका छन्, सडक विस्तारसँगै गाडीको संख्या थपिदै गर्दा समस्या बढ्दै जान्छ।

चितवनकै बरन्डाभार जंगलको कुरा गर्ने हो भने बढ्दो सवारी चापले गर्दा त्यहाँ जीवजन्तु ओहोरदोहोर समस्या भइरहेको छ। त्यसैले अब बन्ने संरचनामा अन्डरपास र ओभरपासको व्यवस्था हुनुपर्छ, यस्ता संरचनाले वन्यजन्तुलाई पनि फाइदा हुने र सडक दुर्घटनामा सघाउ पुर्याउँछ। नारायणगढ–बुटवल, नारायणगढ–पथलैया सडक विस्तार गर्ने तयारी भइरहँदा वन्यजन्तुले पनि प्रयोग गर्न सक्ने, गर्न मिल्ने संरचना बनाउन ध्यान दिनुपर्छ।

विगतमा संरक्षण साझेदारको आर्थिक/प्राविधिक सहयोगमा गैंडा गणना हुँदै आएको थियो। यो कामका लागि पहिलो पटक सरकारले बजेट छुट्याएको छ। यो विषयमा बल्ल सरकार गम्भीर भएको हो ?

पाँच वर्षपछि यसपटक गैंडा गणना हुँदै छ। यस्तो कामका लागि पहिलोपटक सरकारले बजेट छुट्याएको हो, सरकार आफैंले बजेट छुट्याउनु राम्रो काम हो। बजेट छुट्याएपछि सरकारले यस्तो कामलाई प्राथमिकता दिएको छ भनेर बुझ्न सकिन्छ।

विगतका गणनामा सरकारले यो शीर्षकमा बजेट नछुट्याए पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सरकारकै बजेट खर्च हुँदै आएको थियो। सरकारी अधिकारी, सुरक्षाकर्मी, हात्तीको प्रयोग हुँदै आएको थियो, यो भनेको सरकारकै खर्च हो।

यसपटक यो कामका लागि सरकारले फूल फन्डिङ गर्ने भएको छ। अन्य स्रोत साधनका अतिरिक्त एक करोड १० लाख भन्दा बढी रुपियाँ छुट्याइएको छ। गैंडाको संख्या यकिन गर्ने कुरा चार/पाँच वर्षको अन्तरमा हुने गरे पनि गैंडा अनुगमन नियमित हुँदै आएको छ।

अनुगमनसँगै, संख्या थपिएको, बयस्क वा बच्चा मरेको, वासस्थान, चरण क्षेत्र हेरफेर भएको जस्ता कुरा नियमित अपडेट हुने गर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को फिल्ड कार्यालयबाट नियमित रूपमा यस्तो काम हुँदै आएको छ।

राज्य बाघ, गैंडा, हिउँचितुवाजस्ता जन्तुको अध्ययन अनुसन्धानमा राज्य केन्द्रित हुँदै गर्दा अन्य जीवजन्तु प्राथमिकतामा पर्न नसकेका हुन् ?

पक्कै पनि। बाघ, गैंडा, हात्ती, हिउँचितुवा, गोहीजस्ता जन्तुमा अनुसन्धान केन्द्रित भएको छ। यी जीवजन्तुको विचरण क्षेत्रमा पाइने मझ्यौला र साना अरु जीवजन्तु र चराचुरुङीबारेको अध्ययन पर्याप्त हुन सकेको छैन।

ठूला र दुर्लभ जन्तु मात्रै होइन अन्य जीवजन्तुको अध्ययन र अनुगमन पनि नियमित हुनुपर्छ। नवीनतम् प्रविधिको सहयोगमा एउटा जन्तुको अध्ययन अनुसन्धान सँगसँगै अन्य जीवजन्तुको अध्ययन अघि बढाउन सकिन्छ।

गैंडाका कारणले पनि मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन्। यस्ता घटना कसरी न्यूनिकरण गर्ने ?

नेपालमा मानव वन्यजन्तु द्वन्द्वका घटनामा गैंडा गराउने पहिलो जन्तु होइन। जनधनको क्षतिको हिसाबले पहिलो नम्बरमा हात्ती, दोस्रोमा चितुवा, भालु, गैंडा, बाघजस्ता जन्तु क्रमशः तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन्।

मानव गैंडाको द्वन्द्व नभएको होइन तर पछिल्ला वर्षमा किसानले आफ्नो खेतबारी जोगाउन प्रयोग गर्ने विद्युतीय तारबार कारणले गैंडा मात्रै होइन मान्छेले पनि अकालमा ज्यान गुमाउने घटना बढिरहेका छन्।

केही दिन अघि नवलपरासीको अमलटारी र डेढ दुई महिना बरन्डाभारको पञ्चकन्या सामुदायिक वनमा पनि यस्तै घटना भएको छ। चोरी शिकारीले गैंडा मार्नु र करेन्ट लागेर मर्नु हाम्रो लागि उस्तै क्षति हो, मारेर खाग नगले पनि क्षति त क्षति नै हो नि।

वन्यजन्तुका कारण हुने क्षतिपूर्ति बढाउने, क्षतिपूर्ति सुनिश्चित गर्ने,संरक्षण शिक्षा र सचेतना बढाउने गतिविधिलाई प्राथमिकता दिनुपर्छ। गैंडासहितका केही जीवजन्तु नयाँ विचरणमा क्षेत्र खोजिरहेका हुन्छन्, त्यही क्रममा कृषकका खेतबारीसम्म पनि पुग्छन्। अन्नबाली खान पाउँदा जीवजन्तु त्यतै लोभिन्छ, त्यस्तोबेला मानव वन्यजन्तु द्वन्द्वका घटना बढ्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्